अन्नपूर्ण फार्मिङ कम्पनीका सञ्चालकहरूले हेलेन शाह र विजयालक्ष्मी शाहको जग्गा खोज्न चुनौती दिएका छन्। नुवाकोटस्थित ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउने क्रममा सोधिएको सात दिने स्पष्टीकरणको जवाफ दिने क्रममा उनीहरूले यस्तो चुनौती दिएका हुन्।
शाह राजा परिवारकी सदस्य हेलेन शाहका नाममा दर्ता गरिएको अन्नपूर्ण फार्मिङ आफूहरूले किनेकाले उनीहरूका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा खोज्न राज्यलाई चुनौती दिएका हुन्। ‘हेलेन शाह परिवारको हदबन्दीभन्दा बढी रहेको जग्गा खोजबिन होस्,’ उनीहरूले भनेका छन्।
सरकारले दुई साताअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा फिर्ता ल्याउने तयारीका क्रममा अन्नपूर्ण फार्मिङका सञ्चालकलाई स्पष्टीकरण सोधेको थियो। ‘यो जग्गा हामीले कानुनसम्मत भोगचलन गर्दै आएका छौं। हेलेन शाह र विजयालक्ष्मी शाहका नाममा रहेको कम्पनी खरिद गरिएको हो। उहाँहरूका नाममा रहेको अन्य जग्गा खोजबिन होस्। यो हामीले किनेका हौं,’ सञ्चालकहरूले दिएको स्पष्टीकरणमा उल्लेख छ। त्यो विषयमा मालपोत कार्यालय नुवाकोटले चैत १८ गतेसम्म तारिख तोकेको छ। साथै मन्त्रालयमा त्यसको जानकारी गराई जग्गा फिर्ता ल्याउने विषयमा केही निर्देशनसमेत माग गरेको छ। ‘नुवाकोट मालपोत कार्यालयले निर्देशन मागेको छ,’ भूमि सुधार मन्त्रालयका एक उच्च अधिकारीले भने। उनका अनुसार त्यसबारे मन्त्रालयको उच्च तहका छलफल भइसकेको छ।
अहिले सो जग्गा अन्नपूर्ण फार्मिङका नाममा छ। नुवाकोट मालपोत कार्यालयले अन्नपूर्ण फार्मिङका सञ्चालक विकेश श्रेष्ठलाई सरकारका नाममा हुनुपर्ने उक्त जग्गा के–कति कारणले फार्मिङका नाममा गएको हो र कसरी भोगचलन गरिएको हो भन्दै स्पष्ट पार्न भूमिसुधारसम्बन्धी संक्षिप्त कार्यविधिअनुसार दुई साताअघि सात दिनको म्याद दिएर पत्राचार गरेको हो। उनीहरूले एक साताअघि नै जवाफ बुझाइसकेको स्रोतले जनाएको छ।
‘शेरा दरबार र त्यसका नाममा रहेको जग्गा के–कसरी कम्पनीको नाममा गएको हो भन्नेबारे सात दिनभित्र जवाफ दिने गरी सम्बन्धित पक्षलाई पत्राचार गरिएको थियो। त्यसको जवाफ आइसकेको छ,’ नुवाकोट मालपोत कार्यालयका एक कर्मचारीले भने।
शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो। कम्पनीका नाममा गएको उक्त जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया थाल्न लामो समय लागेको छ। सरकारका नाममा जग्गा ल्याउन नदिन राजनीतिक दबाबसमेत परेको छ।
यही विषयमा दबाब परेपछि नुवाकोटका मालपोत अधिकृत सरुवा मागेर हिँडेका थिए। यसबारे नुवाकोट मालपोत कार्यालयका प्रमुख देवीबहादुर भण्डारीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन। केही दिनअघि मालपोत अधिकृत आफैं काठमाडौ आएर मन्त्रालयसँग आवश्यक परामर्श गरेका थिए। साथै उनले राखेको निर्देशनको विषयमा आइतबार छलफलसमेत भइसकेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पूर्वस्वकीय सचिव रहिसकेका र सोही पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विकेश श्रेष्ठका नाममा रहेको अन्नपूर्ण फार्मिङले कृषि प्रयोजनका लागि शेरा दरबारको जग्गा आफ्नो नाममा बनाएको छ। शेरा दरबार जग्गा प्रकरणमा दाहालको समेत संलग्नतासमेत रहेको कुरा बाहिर आएको थियो। तर दाहालले यसमा आफ्नो संलग्नता नभएको भन्दै जग्गा राज्यका नाममा फिर्ता ल्याउन सहयोग गर्ने बताएका थिए।
स्रोतका अनुसार २०७९ पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो जग्गाको अनुसन्धान गर्न खोज्दा दाहालले रोकेपछि प्रक्रिया अघि बढेको थिएन। त्यसबेला दाहाल प्रधानमन्त्री थिए।
पछिल्लो समय सिआइबीले राष्ट्रवादी युवा समूहका नामबाट उजुरी लिएर अनुसन्धान सुरु गरेको हो। अनुसन्धानपछि सिआइबीले शेरा दरबारले चर्चेको एक सय ६४ रोपनी जग्गा सरकारका नाममा ल्याउन सिफारिस गरिसकेको छ। उक्त जग्गा कम्पनीका नाममा बनाउने र किनबेच गराउने समूहको पहिचानका लागि सिआइबीले थप अनुसन्धान अघि बढाएको छ।
उक्त जग्गालाई राज्यका नाममा ल्याउन नुवाकोट मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृतलाई दबाब दिइएपछि उनी सरुवा मागेर हिँडेका थिए। अहिले कार्यरत मालपोत अधिकृतले पनि आफूलाई जग्गा फिर्ता गर्ने विषयमा राजनीतिक दबाब रहेको र काम गर्ने वातारण नभएको भन्दै मन्त्रालयसँग आवश्यक सुरक्षा मागेका छन्।
मन्त्रालयले जग्गा सरकारको नाममा फिर्ता ल्याउने क्रममा देखिएका बाध अड्चन फुकाउने र आवश्यक परेको सुरक्षा दिन तयार रहेको जनाएको छ। साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सुरक्षा प्रदान गर्न आग्रह गरेको मन्त्रालयले जानकारी गराएको छ। अहिले पनि अन्नपूर्ण फार्मिङलाई गरिएको पत्राचार र सञ्चालकहरूले दिएको जवाफलाई गुपचुप राख्न खोजिएको छ। यस विषयमा मालपोत कार्यालयका कोही पनि कर्मचारी बोल्न चाहन्नन्।
सुरु नापीमै कैफियत गरी सरकारी जग्गा अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो। सुरुमा सो जग्गा गौरीशंकर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा ल्याइएको स्रोतको दाबी छ। २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गौरीशंकर फार्मिङका नाममा नापी भएको थियो।
हदबन्दी लागु हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राज महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको अंशमा पर्न गएको थियो। हदबन्दी लागु भएपछि सो जग्गा व्यक्तिका नाममा नापी हुन नसकेर गौरीशंकर फर्मिङका नाममा गराइएको थियो। गौरीशंकर फार्मिङ २०२७ सालमा स्थापना भएको थियो।
२०५२ सालमा सो जग्गा गौरीशंकरबाट अन्नपूर्ण फार्मिङका नाममा आएको थियो। त्यतिबेला अन्नपूर्ण फार्मिङका सञ्चालकहरू नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठ थिए। सोही फार्मिङमा २०७३ सालमा विकेश श्रेष्ठ सेयर सदस्य भएका थिए। २०५२ सालमा हेलेन शाह र जयन्ती शाहका नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको थियो।
त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निर्णयले विकेश श्रेष्ठका नाममा ५ लाख ६७ हजार ५ सय कित्ता सेयर ५ करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी अजयकुमार सूर्यवंशीको नाममा पनि सेयर रहेको छ। उनका नाममा ४ लाख ६० हजार ४१० कित्ता सेयर ४ करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर नगरपालिका–४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रुपैयाँमा किनबेच भएको देखिन्छ।
यसैगरी काठमाडौं नागार्जुन नगरपालिका–७ बस्ने सुमन पारिकका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ। यी चारजनाको नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिद–बिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिन्छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत् रही विकेशका छोरा मनोबल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हाल यसको सेयरधनी तीन जना मात्र छन्।
२०२१ सालमा भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गालाई गौरीशंकर फार्मिङका नाममा नापी गराइएको थियो। सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र सिआइबीले खोतलेका थिए। शेरा दरबारको जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजयाराज्यलक्ष्मी शाह नै थिए।
२०२७ फागुन २८ मा स्थापित गौरी शंकर फार्मिङ नामक संस्था २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरी शंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो।
२०५२ सालसम्म विजयाराज्यलक्ष्मी शाहका नाममा रहेको उक्त कम्पनीको सेयर जयन्ती शाहका नाममा गएको देखिन्छ। सरकारले शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो। सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिसकेको छ।
सिआइबी तत्कालीन प्रमुख रहेका प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार मालपोत अधिकृत, भूमिसुधार विभाग र तत्कालीन समयमा मन्त्रालयमा कार्यरत कर्मचारीको संलग्नताबारे थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरिएको छ। गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिइसकेका थिए। भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले विभागबाट जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको र यसका लागि मालपोत कार्यालय र विभागलाई निर्देशन दिएको बताएका थिए।
पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मीमा तादी किनारमा रहेको शेरा बेंसी दरबारमा बस्ने गरेको इतिहास छ। पृथ्वीनारायण शाहको मृत्युपछि पनि कर्क प्याट्रिक नुवाकोटको भ्रमणमा जाँदा पनि बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए। १८९७–९८ सालतिर राजा राजेन्द्र तथा रानी साम्राज्यलक्ष्मी नुवाकोट भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेको बताइन्छ। १९०३ सालमा यस शेरा बेंसी दरबार भत्किएको थियो।
दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयो। त्यसको धेरै वर्षपछि नुवाकोट भ्रमणमा जाँदा जुद्धशमशेरले भग्नावशेषका रूपमा रहेको दरबारका बारेमा बुझ्न खोजेको इतिहासकारहरू बताउँछन्।
तत्कालीन श्री ३ जुद्धले राजा पृथ्वीनारायण शाहको ग्रीष्मकालीन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउन आदेश दिएका थिए। तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाले शेरा फाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्धले आफ्नै अनुमानमा दरबार बनाएको इतिहासकारहरूको दाबी छ। दरबार बनाउँदा सोही पुरानो दरबारको भग्नावशेषमा रहेका इँटाहरूको उपयोग गरिएको थियो।
प्रकाशित: १२ चैत्र २०८१ ०७:०४ मंगलबार