१२ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४३ अपराह्न
समाज

हिउँ र पानीले किसानलाई राहत

फाइल तस्विर

म्याग्दी जिल्लामा हिमपात र हिउँदे वर्षा भएको छ। लामो समयपछि पानी परेपछि किसानले राहत महसुस गरेका छन्। वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुजस्ता खाद्यबाली, सागसब्जी र फलफूलको खेती प्रभावित भएको थियो।

हिउँदमा पानी नपर्दा बाली सुक्ने अवस्थामा पुगेको थियो। रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले भने, ‘शनिबार दिउँसो जमिन भिज्ने गरी पानी पर्‍यो। यसले खेतबारीमा लगाएको मकै, सिमीजस्ता बाली र फलफूल बगैँचामा सिँचाइ भएको छ।’ उनको भनाइ छ, ‘लामो समयपछि पानी पर्दा किसानलाई ठूलो सजिलो भएको छ।’

यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ। गुर्जा, कुइनेमङ्गले, मल्कबाङजस्ता ठाउँमा साँझदेखि हिउँ पर्न थालेको छ। हिउँदमा सुख्खा हुँदा खेतीबाली र घाँसपात सुकेको अवस्थामा पानी र हिउँले राहत दिएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए। उनले थपे, ‘हिउँ र पानीले बाली जोगाउन मद्दत गरेको छ।’

जिल्लाका पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडाजस्ता पर्यटकीय ठाउँमा पनि हिमपात भएको छ। हिउँमा रमाउन यी क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन्। रासस

प्रकाशित: १० चैत्र २०८१ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App