१२ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:४ अपराह्न
समाज

राष्ट्रिय पानी सम्मेलन सुरु

‘सबैका लागि समयमै पूर्व सूचना’ भन्ने नारासहित विश्वभर मनाइँदै गरेको विश्व पानी दिवसको अवसर पारेर काठमाडौंमा दुई दिने राष्ट्रिय पानी सम्मेलन सुरु भएको छ।

जल तथा ऊर्जा आयोगको नेतृत्वमा र पानी क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा शनिबारदेखि सुरु भएको सम्मेलनमा जलस्रोतको एकीकृत व्यवस्थापन र प्रभावकारी पानी सुशासनका विषयमा छलफल सुरु भएको हो।

सम्मेलनअन्तर्गत शनिबार सम्पन्न ‘जलस्रोतको एकीकृत व्यवस्थापन कार्यान्वयन’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले जल व्यवस्थापनमा अघि सारेका कामको विवरण सार्वजनिक गरिन्।

उनले सरकारका तर्फबाट सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै जलस्रोतको व्यवस्थापनलाई प्राथमिकता दिइएको स्पष्ट पारिन्।

कार्यक्रममा जलस्रोत विकास संस्थाका व्यवस्थापक तेजेन्द्र जिसीले एकीकृत नदी वेसिन योजना र व्यवस्थापनमा बल दिए। उनले पानीको स्वामित्व राज्यमा सुनिश्चित नहुँदा जलस्रोत व्यवस्थापनमा गम्भीर समस्या देखिने चेतावनी दिए। ‘पानी राज्यको स्वामित्वमा नभए एकीकृत जलस्रोत व्यवस्थापन जटिल बन्छ,’ जिसीले भने।

अक्सफाम नेपालका नदी वेसिन कार्यक्रम प्रबन्धक राजन सुवेदीले सरकारले तयार पारेको जलस्रोत प्रतिकार्य रणनीति र रिभर वेसिन योजना कार्यान्वयनका लागि मोडल विकास भइसकेको जानकारी दिए।

‘जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा रङ्गुन जलाधार क्षेत्रबाट मोडल कार्यान्वयन सुरु भइसकेको छ,’ सुवेदीले भने, ‘अब अन्य जलाधारमा समेत कार्यान्वयन सहज हुनेछ।’

कार्यक्रममा जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव तथा जलस्रोत महाशाखा प्रमुख महेश्वर श्रेष्ठले सरकारको नदी वेसिन योजना कार्यान्वयनको चरणमा पुगेको जानकारी गराए।

उता, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर कृष्णप्रसाद रिजालले छलफलमा रहेको जलस्रोत विधेयक चाँडै संसदमा पेश हुने जानकारी दिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा जलस्रोत व्यवस्थापन, नीति तथा रणनीति कार्यान्वयनका विभिन्न पक्षमा छलफल गरिने आयोजकले जनाएका छन्।

प्रकाशित: ९ चैत्र २०८१ २३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App