७ चैत्र २०८१ बिहीबार
image/svg+xml १२:३७ अपराह्न
समाज

नेपाललाई दोस्रो घर मान्ने नेदरल्याण्डका क्रामर दम्पतीको कथा

एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन्। नेदरल्याण्डका यी दम्पती सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए। तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए। 

सन् १९८५ मा स्वदेश फर्किए। ‘नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी आफ्नै देश फर्कियौँ,’ ७७ वर्षीया आन्नीले भने, ‘नेपाल हाम्रो दोस्रो घर हो, यहाँको सत्कार र मानिसको असल आनीबानी धेरै मनपर्छ।’ नेपालमा हरेकपटक आउँदा नयाँ अनुभव र ऊर्जा प्राप्त हुने गरेको उनले सुनाए। 

उनासी वर्षका एड र आन्नी नेपाल आउँदा छोरी इङ्ग मार्गरिट सात महिनाकी थिइन्। छोरा मारत्येन चार वर्ष र एरिक तीन वर्षका थिए। अहिले क्रामर दम्पतीका सात नातिनातिना छन्। छोराछोरीका सबै परिवार नेदरल्याण्डमै बस्छन्। नेपालमा आठ वर्ष बस्दा उनीहरू यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भएका थिए। ‘ठूलो छोरा मारत्येन हामीभन्दा पनि राम्रो नेपाली बोल्न सक्छ,’ आन्नीले भने, ‘नेपालमा बस्दा छिमेकी बालबालिकासँग रमाउन र खेल्न खुब मन पराउँथे।’ 

समय मिलेसम्म अहिले पनि नेपाल आउँदा छोराछोरीलाई लिएर आउने गरेको उनको भनाइ छ। सिभिल इञ्जिनीयर एड क्रामर युनाइटेड मिसनमार्फत बुटवलको तिनहुँ नदीमा विद्युत् आयोजना निर्माणका क्रममा पहिलोपटक नेपाल आएका थिए। पेसाले शिक्षक रहेकी श्रीमती आन्नी र छोराछोरीलाई उनले साथमै ल्याएका थिए। बुटवलमा केही समय बिताएर क्रामर परिवार सन् १९७८ को फेब्रुअरीमा बागलुङ आए। बागलुङको पहिलो साना जलविद्युत् केन्द्र, काठेखोलामा एडले काम गरे। विसं २०३९ मा बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको १७५ किलोवाटको उक्त आयोजना अहिले रूग्ण अवस्थामा छ।

उक्त आयोजना निर्माणका क्रममा क्रामर दम्पती बालबच्चासहित दुई वर्ष तीन महिना बागलुङमा बसेका थिए। बागलुङमा पहिलोपटक बिजुली बल्दाको साक्षी उनीहरू थिए। त्यो बेला यातायात, विद्युत्लगायत सुविधा बागलुङमा थिएनन्। कास्कीको नागडाँडाबाट हिँडेर तीन दिनमा बागलुङ आइपुगेको एडले सुनाए। ‘भाषा सिकाउने तीन जना, भरिया तीन जनासहित हामी हिँडेरै बागलुङ आएका थियौँ,’ उनले भने, ‘पहिलो दिन पर्वतको एउटा गाउँमा र दोस्रो दिन मालढुङ्गा भन्ने स्थानमा बास बस्यौँ।’ बागलुङ आइसकेपछि उनीहरू स्थानीय भीमसेन श्रेष्ठको घरमा बसे। छिमेकी रामकृष्ण भारी र विष्णुनारायण भारीले बसाइँमा मद्दत गरे।

‘त्यो बेला बिजुली थिएन, टेलिफोन थिएन, पानी लिन बाहिर जानुपथ्र्यो, दाउरामा खाना पकाउनुपथ्र्यो, धेरै गाह्रो थियो,’ एडले भने, ‘साना छोराछोरी भएकाले भान्छामा छिमेकी गाउँ तित्याङको बुकेनीका नगेन्द्र र शकुन्तलाले धेरै सहयोग गरे।’ केही दिनअघि बागलुङ आएका बखत क्रामर दम्पतीले बुकेनी पुगेर नगेन्द्रलाई भेटे र ४५ वर्षअघिका ती क्षण सम्झे। त्यो बेला नगेन्द्र १३ वर्षका थिए। एड ३४ र आन्नी ३२ वर्षका थिए। एउटै क्याम्पस पढेका एड र आन्नीको प्रेम विवाह भएको थियो।

साना जलविद्युत् केन्द्रमा इञ्जिनीयरका रूपमा एडसँगै बुटवलदेखि आएका अन्य प्राविधिक र स्थानीयवासी खटिएका थिए। त्यो बेला बागलुङलगायत देशका विभिन्न जलविद्युत् आयोजनामा हिमो हाइड्रो इन्जिनीयरिङ प्रालिमा एड महाप्रबन्धक भएर काम गरेका थिए। उनले स्याङ्जाको आँधीखोला, तातोपानी र डोटीमा जलविद्युत् आयोजनामा काम गरे। सन् १९८५ मा नेदरल्याण्ड फर्केका क्रामर दम्पती १० वर्षपछि सन् १९९५ मा पुनः नेपाल आए। त्यसयता उनीहरूको नेपाल आउने–जाने क्रम चलिरह्यो। पानी व्यवस्थापन विज्ञसमेत रहेका एड सन् २०१२ मा पुनः नेपाल आएर पाल्पाको मिसन अस्पतालमा फोहर पानी सफा गर्ने परियोजनामा काम गरे। ‘मिसन अस्पतालको ठूलो खानेपानी ट्याङ्कीको डिजाइन मैले गरेको हुँ, फोहर पानी सफा गराउने परियोजना अहिले पनि सञ्चालित छ, यसकै सिलसिलामा अहिले नेपाल आएका हौँ,’ उनले भने।

दुई महिनाअघि नेपाल आएका उनीहरू अर्को साता नेदरल्याण्ड फर्कदै छन्। नेपाल रहँदा चार दिन बागलुङमा बिताएको एडले बताए। यसपालि एडले ४५ वर्षअघि बागलुङ रहँदा खिचेका तस्बिर साथमा ल्याएका थिए। त्यो बेलाको बागलुङको समाज, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने २९ तस्बिर नेपाल पत्रकार महासङ्घ, बागलुङलाई हस्तान्तरण गरे। अहिले पनि फोटोग्राफीमा रुचि राख्ने एडले बागलुङका पुराना तस्बिरको प्रदर्शनी राख्ने इच्छा सुनाए।

महासङ्घ, बागलुङका सचिव नारायण रिजालले प्रतिलिपि अधिकारको सुनिश्चिततासहित एडले खिचेका तस्बिर महासङ्घले सुरक्षित तवरले सङ्ग्रह गर्ने बताए। क्रामर दम्पती बागलुङ आएका बेला पहिले बसेको घर र गाउँटोल पुगे। चिनेजानेका व्यक्तिसँग भेटघाट गरे। ‘सन् २०१२ पछि हरेक वर्षजसो नेपाल आइरहेका छौँ, नेपाल आउँदा बागलुङ आउन पनि छुटाउँदैनौँ,’ आन्नीले भने, ‘यहाँ आउँदा ज्यादै रमाइलो लाग्छ, अहिले त बागलुङ पनि धेरै परिवर्तन भइसकेको छ।’ बुटवल, पोखरा, काठमाडौँ र पाल्पा पुगेर उनीहरू नेदरल्याण्ड फर्कन लागेका छन्। ‘हामी फेरि छिट्टै नेपाल आउनेछौँ, नेपालको धेरै माया लाग्छ,’ आन्नीले भने। 

राम थापा/रासस

प्रकाशित: ६ चैत्र २०८१ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App