३ चैत्र २०८१ आइतबार
image/svg+xml १९:४८ अपराह्न
समाज

बाल सुधार गृहमा कुटाकुट र आगजनी : ४९ बालबन्दी अस्पताल भर्ना

फोटो क्याप्सन: बाल सुधार गृहमा उत्पन्न तनाव नियन्त्रण गर्न पुगेको प्रहरी। तस्बिर: नागरिक

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन्। उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ। 

शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियो। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर रहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो। 

यो पनि पढ्नुहोस्

जयन्दु बाल सुधार गृहमा कुटाकुट र आगजनी, २१ बालबन्दी घाइते

‘शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन्,’ उनले नागरिकसँग भने, ‘यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन्। केहीले टाउको दुख्यो र अप्ठ्यारो भयो भनेर बताएपछि उनीहरूलाई पनि अस्पताल पुर्‍याइएको छ।’ गम्भीर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले बताए।

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा प्रहार गरेका थिए। यसबाट ३ जना प्रहरी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो। त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

कुटाकुटका क्रममा ५–६ जना बालबन्दी भागेका थिए, तर पछि उनीहरू आफैं सम्पर्कमा आएको प्रजिअ जोशीले जानकारी दिए। उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए। आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ। आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। ‘क्षतिका कारण ७०-८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ,’ जोशीले भने, ‘पछि कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ।’

हरेक वर्ष झडप
जयन्दु बाल सुधार गृहमा हरेक वर्ष झडप हुने गरेको छ। गत वर्षको झडपमा एक जनाको मृत्यु भएको थियो। ‘बालबिज्याइँ’ मुद्दामा सजाय पाएकाहरूलाई १८ वर्ष उमेर नाघेपछि पनि यहीँ राख्ने गरिएको छ, जसले बारम्बार झडप निम्त्याउने गरेको छ। स्रोतका अनुसार सुधार गृहभित्र प्रतिबन्धित लागूऔषधको प्रयोग हुने गरेको छ। 

स्थानीयका अनुसार कारोबारीले लागूऔषध पुर्‍याउने र बालबन्दीले सहजै प्रयोग गर्ने गरेका छन्। हतियार र बर्दीबिनाका प्रहरी खटिए पनि उनीहरू बालबन्दीका अगाडि निरिह बन्ने गरेका छन्। लागूऔषध प्रयोग गर्ने बालबन्दीले नै तनाव निम्त्याउने गरेको स्रोतको दाबी छ। 

प्रकाशित: २ चैत्र २०८१ १७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App