४ चैत्र २०८१ सोमबार
image/svg+xml ७:४३ पूर्वाह्न
समाज

जयन्दु बाल सुधार गृहमा कुटाकुट र आगजनी, २१ बालबन्दी घाइते

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरमा रहेको जयन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच कुटाकुट भएको छ। आपसमा भएको कुटाकुटमा करिब २१ जना बालबन्दी घाइते भएका छन्। 

उनीहरूबीच शुक्रबार रातिदेखि विवाद सुरु भएको थियो। बाल सुधार गृहमा उत्पन्न तनाव केहीबेरअघि नियन्त्रणमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले जानकारी दिए। उनका अनुसार आपसमा कुटाकुट हुँदा शनिबार दिउँसोसम्म करिब २१ जना घाइते भएका छन्।

‘घाइतेको एकिन तथ्यांक अझै संकलन हुन बाँकी छ, तर राति र आज दिउँसोसम्म गरी करिब २१ जना घाइते भएको अनुमान छ,’ उनले नागरिकसँग भने, ‘उनीहरू सबै आपसमा कुटाकुट गरेर घाइते भएका हुन्।’ 

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि समेत इँटा प्रहार गरेका छन्। इँटा प्रहारबाट ३ जना प्रहरी घाइते भएको प्रजिअ जोशीले बताए। घाइते भएका बालबन्दी र प्रहरीको स्थानीय भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।  

कुटाकुटका क्रममा सुधार गृहका २ जना बालबन्दी फरार भएको बताइएको छ। ‘दुई जना बालबन्दी भागेको भन्ने कुरा उनीहरू आफैंले बताएका हुन्, यसको पनि एकिन गर्दैछौं,’ प्रजिअ जोशीले भने। उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए। 

प्रजिअ जोशीका अनुसार बाल सुधार गृहमा आगजनी हुँदा भवनको दोस्रो तलामा क्षति पुगेको छ। आगो दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ। ‘आगजनीका कारण भवनको दोस्रो तला काम नलाग्ने अवस्थामा पुगेको छ। त्यहाँ बस्न नमिल्ने भएकाले केही बालबन्दीलाई अन्यत्र व्यवस्थापन गर्ने कि भन्ने विषयमा सल्लाह गरिरहेका छौं,’ उनले भने।

उक्त बाल सुधार गृहमा हरेक वर्ष झडपका घटना हुँदै आएका छन्। गत वर्ष भएको झडपमा एक जनाको मृत्यु भएको थियो। ‘बालबिज्याइँ’ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेर पूरा भएपछि पनि बाल सुधार गृहमै राख्ने गरिएको छ। जसका कारण पटक–पटक झडपका घटना दोहोरिने गरेका छन्।  

प्रकाशित: २ चैत्र २०८१ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App