तपाईंले आफ्नो घरआँगनवरिपरि चराचुरुङ्गीको उपस्थिति भएको नभएको विषय कत्तिको याद गर्नुहुन्छ ? म हरेक दिन बिहान कलेज जाँदै गर्दा खुर्सानी फूलको रुखमा बुरुक बुरुक उफ्रने फूलजत्रै सानो चरालाई देख्ने गर्थें। टाढाबाट हेर्दा फूलसँगै हराएजस्तो लाग्ने सानो चरा नजिक जाँदा झाडीमा लुक्ने गथ्र्यो। फेरि उसले सहज महसुस गर्नेबित्तिकै केही बेरमै फेरि बाहिर निस्किएर फूलको रसमा भुल्ने गथ्र्यो। यो क्रियाकलापलाई धेरै दिनसम्म अवलोकन गरेपछि मलाई चरा बस्ने वातावरणप्रति बढो चासो लाग्यो। मैले फूलको रस चाखेँ। मलाई खास मन परेन।

तपाईंलाई थाहा छ ? यो सानो खुर्सानी फूलजस्तो चरालाई सिपराजा बुङ्गेचरा भनिन्छ। अंग्रेजीमा यसलाई ‘क्रिमसन सनबर्ड’ भनेर नामाङ्कन गरिएको छ। हामीले सामान्यतया यो चरा धेरैजसो फूलको रसमा नै भुलेको पाउँछौं। जति सानो जीव, त्यति छरितो र जाँगरिलो हुन्छ भन्ने मानिन्छ।
यो सिपराजा बुङ्गेचरा पनि निकै सिपालु र फुर्तिलो हुन्छ। यसको गुँड यति आकर्षक हुन्छ कि, मानौं कुनै शिल्पीले बढो मेहनत गरेर बनाएको हाते बत्तीजस्तो देखिन्छ। झुपुक्क रुखको पातभित्र लुकेको हाँगामा झुन्डिएको अन्डा आकारको गुँडमा एक मात्र गोलो ढोका हुन्छ। उसले आफ्नो अन्डा र बच्चा कोरल्नका लागि बनाएको उसको घर निकै चित्ताकर्षक हुन्छ। त्यसैले त होला सिपराजा भनिने।

पूर्ण रूपमा हुर्किएको बुङ्गेचरा जम्मा ११ सेन्टिमिटरका हुन्छन्। यसको पातलो चुच्चो नै करिब दुई सेन्टिमिटरजतिको लामो हुन्छ। सिपरजा बुङ्गेचराको भाले उज्यालो रातो र मधुरो हरियो रङको हुन्छ भने पोथी मधुरो हरियो रङमा अलिकति पहेँलो मिसिएको हुन्छ। अन्य चराजस्तै यो चराले पनि परागसेचनको कार्य सहज बनाउँछ। बुङ्गेचराको उपस्थितिले स्वच्छ वातावरणको संकेत गर्छ।

सिपराजा बुङ्गेचरा दक्षिण एसियाको धेरैजसो देशमा पाइन्छ। यो चरा सिंगापुरको राष्ट्रिय चरा पनि हो। नौ सय मिटरदेखि १३ सय मिटरसम्मको उचाइमा यो चरा प्रशस्त पाइन्छ। पहाडी भेगका जिल्लाहरूमा यो चरालाई फिस्टे चराका रूपमा हेरेको पनि भेटिन्छ। काठमाडौं उपत्यकामा अलिकति हरियाली भएको ठाउँमा बुङ्गेचरा पाइने गर्छ।

दुःखको कुरा, मैले दिनदिनै बाटो हिँड्दा भेट्ने चराको घर अहिले छैन। मैले धेरै दिनसम्म सोचेँ। के त्यो घरमुलीलाई चराको उपस्थितिबारे थाहा थियो होला ? ऊ चराको घर भत्काउने गरी निर्दयी थियो होला ? यिनै कुरा दिमागमा खेलाउँदै गर्दा मेरो मनमा विचार आयो– मैले आफ्नै घरमा खुर्सानी फूल लगाएँ भने के मेरो घरमा पनि बुङ्गेचरा आउला ? यही सोचमा मैले घरमा खुर्सानी फूल रोप्ने निर्णय गरेँ। फूल फुलेको पहिलो वर्ष त मैले चराको एक झलक पनि देख्न पाइनँ। लाग्यो, सबै रुखमा आउँदैन होला। तर दोस्रो वर्ष भने मैले त्यो चराको एक दुई झलक देख्न पाएँ। हुँदाहुँदा यो वर्ष म झन्डै हरेक दिन आफ्नै घरमा सिपराजा बुङ्गेचरा हेरेर दंग पर्छु।
मेरो विचारमा हामी सबैबाट बेवास्था गरिएको चरा हो बुङ्गेचरा। यदि तपाईं सिपराजा बुङ्गेचरालाई आफ्नो छिमेकी बनाउन मन छ भने कल्की, खुर्सानीजस्ता फूलहरू आफ्नो वरिपरि रोप्न सक्नुहुन्छ।

हुन त अलिअलि हरियाली राख्ने र प्रकृतिको हेरचाह गरेमा धेरै छिमेकी चरा देख्न पाइन्छ। त्यसका लागि हामीले सभ्य नागरिकको व्यवहार गर्दै प्रदूषण नियन्त्रण गर्नु आवश्यक छ। आफ्ना लागि स्वच्छ वातावरण बनाउँदै गर्दा चराका लागि सुहाउँदो वातावरण आफैं तयार हुन्छ। हाम्रो घर वरिपरि चराको पनि घर हुन्छ। त्यसैले चरामैत्री वातावरण बनाऔं र आफू पनि स्वच्छ रहौं।
प्रकाशित: २ चैत्र २०८१ १२:०७ शनिबार





