विराटनगर–४ स्थित लक्ष्मीनारायण मन्दिरमा ब्रह्मयज्ञ आयोजना गरिने भएको छ।
लक्ष्मीनारायण मन्दिर, जीयर शैक्षिक संस्था विराटनगरले बिहीबार पत्रकार सम्मेलन गरी चैत २ गते देखि ६ गते सम्म पञ्चकुण्डात्मक पाञ्चान्हिक ब्रह्मयज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले भारत हैदराबादका रामानुज चिन्न जियर स्वामीको उपस्थितिमा ब्रह्मयज्ञ आयोजना गर्न लागिएको बताए।
यज्ञमा दैनिक ५ हजार श्रद्धालुहरू सहभागी हुने उनको दाबी छ। यज्ञमा सहभागी हुन आउने विराटनगर बाहिरका श्रद्धालुहरूलाई खाने, बस्ने व्यवस्था मन्दिर समितिले गरेको उनले बताए।
ब्रह्म यज्ञकै क्रममा चैत ३ गते सामूहिक व्रतबन्ध पनि गरिने खतिवडाले जानकारी दिए। सामूहिक व्रतबन्धमा करिब ३० जना बटुकहरू सहभागी हुने उनको भनाई छ।
पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य भीम पराजुलीले चिन्नजियर स्वामीको आगमन महत्त्वपूर्ण भएको धारणा राखे। गुरुको प्रवचन सुन्ने अवसरको लाभलिन उनले आग्रह गरे।
प्रकाशित: २९ फाल्गुन २०८१ २०:२८ बिहीबार