२० चैत्र २०८१ बुधबार
image/svg+xml १८:५८ अपराह्न
समाज

चन्दाबाटै पुनर्निर्माण गरिँदै सरस्वती मन्दिर

भक्तपुरवासीले चन्दा संकलन गरी ३० लाख लगत इस्टिमेटसहितको सरस्वती मन्दिरको पुनर्निर्माण थालेका छन्। भक्तपुर नगरपालिका वडा नं ५ र ७ को सिमानामा रहेको भीमसेनस्थानस्थित सरस्वती मन्दिर पुनर्निर्माण थालिएको हो।

मन्दिर पुनर्निर्माणका लागि गठित कुथुसुव्या दुगुद्यो मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष न्हुछेंरत्न खाइतुका अनुसार मन्दिर पुनर्निर्माण लागि आवश्यक चन्दा यसअघि नै संकलन भइसकेको छ।

कुथुसुव्या दुगुद्यो मन्दिर पुनर्निर्माणका लागि ५० लाख लगत इस्टिमेट निकालेर चन्दा संकलन गरिएको थियो, तर झन्डै एक करोड रकम संकलन भयो। कुथुसुव्या दुगुद्यो मन्दिर पुनर्निर्माणबाट बाँकी रहेको रकमले नजिकैको सरस्वती मन्दिरको पुनर्निर्माण थालिएको हो।

सरस्वती मन्दिर पुनर्निर्माण भइसक्दा पनि २० लाख रकम बाँकी रहने र सो रकमबाट नजिकैको पाटी पुनर्निर्माण गर्ने योजना रहेको कोषाध्यक्ष खाइतुले बताए। मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष विष्णु मारिखुले चैत मसान्तसम्ममा एकतले मन्दिर पुनर्निर्माण गरिसक्ने योजना रहेको सुनाए।

उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवाले विभिन्न चरणमा गरी भीमसेनका सबै सम्पदा पुनर्निर्माण कार्य निरन्तर छ। पहिलो चरणमा कुथुसुव्या दुगुद्यो मन्दिर पुनर्निर्माण सम्पन्न गरेको, दोस्रो चरणमा सँगैको लामो पाटीमा तला थपेको, तेस्रो चरणमा सरस्वती मन्दिर पुनर्निर्माण र चौथो चरणमा अर्काे सानो पाटी जीर्णाेद्धार गर्ने योजना रहेको उनले जानकारी गराए।

मन्दिर पुनर्निर्माणको शिलान्यास भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीले गरेकी थिइन्। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवँ, वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छें लगायतले चन्दा संकलन गरी यहाँका ऐतिहासिक सम्पदा निर्माण गरिएको जानकारी गराए।

सरस्वती मन्दिर भक्तपुरको बिस्का जात्रामा लिंगो उठाउने भेलुखेलनजिकै छ। मन्दिरवरिपरि भीमसेन देवता, ती मन्दिरभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलीका प्रवेशद्वार, सार्वजनिक पाटी, सामुहिक भवन, भोज खुवाउनका लागि बनाइएको बन्दोबस्तसहितको भवन छन्। यहाँका सार्वजनिक क्षेत्रमा भएका एक दर्जन भौतिक संरचना पनि दशकौंदेखि चन्दा संकलन गरी निर्माण हुँदै आएको हो।

प्रकाशित: २९ फाल्गुन २०८१ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App