१० असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतको प्रधानमन्त्रीमा बर्नह्यामको बलियो दाबी

बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन्।

सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ।

यसैबीच, राजीनामाको घोषणा गरिसकेका प्रधानमन्त्री किर स्टार्मरले आफ्नो कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता बढाउँदै राजनीतिक विरासत सुरक्षित गर्ने प्रयास गरिरहेका छन्।

स्टार्मरले सोमबार पदत्याग गर्ने योजना सार्वजनिक गरेका थिए। लेबर पार्टीले नयाँ नेता चयन गरेपछि केही साताभित्र उनी प्रधानमन्त्री पदबाट बाहिरिने तयारीमा छन्।

बुधबार उनले संसद्मा साप्ताहिक प्रधानमन्त्री प्रश्नोत्तर सत्रको सामना गर्नुपर्नेछ भने त्यसपछि युक्रेन युद्ध, युरोपेली सुरक्षा र मध्यपूर्वको अवस्थाबारे छलफल गर्न बर्लिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

बर्लिनमा जर्मनी, फ्रान्स, इटाली, पोल्यान्ड र बेलायत सम्मिलित ‘ई–५’ समूहको बैठकमा उहाँको सहभागिताले कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय मुद्दामा उनले दिएको प्राथमिकतालाई झल्काउँछ।

घरेलु राजनीतिक दबाबका बीच पनि युक्रेनलाई सहयोग तथा इरानसँग सम्बन्धित क्षेत्रीय तनावको असर व्यवस्थापनका लागि युरोपेली साझेदारहरूसँग समन्वय गर्न उनी सक्रिय देखिएका छन्।

लेबर पार्टीभित्र केही नेताहरूले बर्नह्यामका नीति र दृष्टिकोणमाथि खुला बहस आवश्यक रहेको भन्दै नेतृत्व प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए। यही उद्देश्यले ड्यारेन जोन्सलाई उम्मेदवारी दिन प्रोत्साहन गरिएको थियो र बर्नह्यामले सांसद तथा पार्टी सदस्यहरूसमक्ष आफ्ना नीति र कार्यक्रमको परीक्षण गराउने अवसर प्राप्त हुने अपेक्षा गरिएको थियो।

तर अर्कोतर्फ, नेतृत्व प्रतिस्पर्धाले पार्टीभित्रको विभाजन उजागर गर्ने र राजनीतिक अनिश्चितता लम्ब्याउने तर्क पनि प्रस्तुत गरिएको थियो।

स्काई न्युजसँग कुरा गर्दै जोन्सले नेतृत्वको दौड आफूले नलड्ने स्पष्ट पारे। यद्यपि उनले बर्नह्यामलाई आर्थिक नीतिमा अत्यधिक वामपन्थी दिशातर्फ नजान सुझाव दिए।

व्यापारिक तथा वित्तीय क्षेत्रका केही व्यक्तिहरूले लेबर सरकारको सम्भावित आर्थिक नीतिप्रति चासो र चिन्ता व्यक्त गरिरहेका बेला जोन्सले भावी वित्तमन्त्रीले बजार, ट्रेड युनियन, संसदीय लेबर पार्टी र आम जनतालाई विश्वासमा लिन सक्ने क्षमता राख्नुपर्ने बताए।

बर्नह्यामले अर्को साता आफ्ना केही आर्थिक योजनाबारे सार्वजनिक रूपमा धारणा राख्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री स्टार्मरद्वारा नियुक्त वित्तमन्त्री राहेल रिभ्सलाई प्रतिस्थापन गर्ने व्यक्ति चयन गर्ने जिम्मेवारी पनि सम्भावित रूपमा बर्नह्यामकै हातमा पर्ने देखिएको छ।

स्टार्मरको दुई वर्षे कार्यकाल विभिन्न राजनीतिक निर्णय, नीतिगत विवाद र रणनीतिक त्रुटिका कारण निरन्तर दबाबमा रह्यो। ती घटनाक्रमले पार्टीभित्र र जनतामाझ उनको लोकप्रियतामा असर पारेको मानिन्छ। त्यसैको परिणामस्वरूप उनले नेतृत्व हस्तान्तरणको निर्णय लिएका हुन्।

सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहनुभएका पूर्व क्याबिनेट मन्त्री बर्नह्यामले गत साता सम्पन्न उपनिर्वाचनमार्फत पुनः संसद्मा प्रवेश गरेका थिए।

संसद्मा फर्कनुको प्रमुख उद्देश्य नै लेबर पार्टीको नेतृत्व तथा प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्नु रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

अहिलेसम्म उनीविरुद्ध कुनै औपचारिक चुनौती देखिएको छैन। सम्भावित प्रतिस्पर्धी मानिएका पूर्व स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले समेत बर्नह्यामलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।

लेबर नेतृत्वका लागि उम्मेदवारी दर्ता जुलाई ९ मा खुल्ने र एक सातापछि बन्द हुने कार्यतालिका तय गरिएको छ। यदि बर्नह्याम एकमात्र उम्मेदवार बने भने उनी जुलाई १७ भित्रै प्रधानमन्त्री बन्न सक्छन्।

प्रतिस्पर्धा भएमा भने सेप्टेम्बर १ मा संसद्को ग्रीष्मकालीन बिदा समाप्त भएर पुनः बैठक सुरु हुँदासम्म नयाँ नेता चयन भइसक्ने अपेक्षा गरिएको छ।

मंगलबार मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा स्टार्मरले उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया व्यवस्थित र स्थिर ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री पदको अन्तिम चरणमा रहँदा उनले आफ्नो राजनीतिक विरासतलाई बलियो बनाउने प्रयास जारी राखेका थिए। यद्यपि, अबको अवधिमा उनलाई नयाँ ठूला नीतिगत घोषणा वा अतिरिक्त खर्च प्रतिबद्धता गर्ने अधिकार नरहेको जनाइएको छ।

यसैबीच, बेलायती सरकारले लामो समयदेखि प्रतीक्षामा रहेको रक्षा लगानी योजनासमेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

रक्षामन्त्री जोन हेलीको राजीनामापछि सुरु भएको रक्षा क्षेत्रको पुनर्संरचना प्रक्रियालाई अगाडि बढाउँदै जुलाई ७ र ८ मा टर्कीमा हुने नाटो शिखर सम्मेलनअघि उक्त योजना सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ। सम्मेलनमा स्टार्मर सहभागी हुने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: १० असार २०८३ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App