चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि उमेदवारहरूको आधिकारिक सूची सार्वजनिक गरेको हो।
महाधिवेशन कार्यतालिकाअनुसार आज बिहान ९ बजेदेखि नै मतदान सुरु हुने भनिए पनि प्राविधिक तयारी र व्यवस्थापनका कारण हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। नामावली सार्वजनिक भएसँगै अब उमेदवारमाथि दाबी-विरोध र विद्युतीय भोटिङ मेसिनमा नाम प्रविष्ट गर्ने प्रक्रिया अघि बढ्ने छ।
पार्टीको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य केन्द्रीय सदस्यहरूका लागि भने निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ। उमेदवारको सङ्ख्या धेरै भएकाले विवरण व्यवस्थापनमा समय लाग्दा मतदान प्रक्रिया केही पछि धकेलिएको निर्वाचन आयोगले जनाएको छ।
अहिले सार्वजनिक गरिएको प्रारम्भिक सूचीमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै अन्तिम नामावली प्रकाशन गरिने र त्यसलगत्तै मतदान सुरु हुनेछ।
महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिनको प्रयोग गरिँदै छ।
प्रकाशित: १० असार २०८३ १६:१२ बुधबार





