काठमाडौंस्थित अमेरिकी राजदूतावासले वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्न रोकेको छ। दूतावास परिसर महाराजगन्ज र कान्तिपथस्थित फोहोरा दरबारमा राखिएका दुईवटा वायु प्रदूषण मापन केन्द्रको तथ्यांक मंगलबारयता दूतावासको बेवसाइटमा अद्यावधिक गरिएको छैन।
नेपाललगायत विश्वभर रहेका अमेरिकी दूतावास तथा कन्सुलेटमा जडान गरिएका वायु प्रदूषण मापन केन्द्रले प्रदूषणसम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएका थिए। ‘वित्तीय अभाव’का कारण यो सेवा रोकिएको अमेरिकाको स्टेट डिपार्टमेन्टले अमेरिकी समाचार संस्था एसोसिएट प्रेसलाई बताएको छ।
प्रदूषण मापन केन्द्रहरू दूतावास परिसरमा आन्तरिक रूपमा चलिरहने र वित्तीय व्यवस्था सुनिश्चित भएमा भविष्यमा तथ्यांक साझेदारी सेवा पुनः सुरु गर्न सकिने अमेरिकी स्टेट डिपार्टमेन्टको भनाइ छ।
गत जनवरीमा अमेरिकामा राष्ट्रपतिको दोस्रो कार्यकाल समालेका डोनाल्ड ट्रम्पले वातावरण, जलवायु परिवर्तनलगायत अन्य कैयन् क्षेत्रमा उपलब्ध गराउँदै आएको वैदेशिक सहायता रोकेका छन्। अमेरिकाले वायु प्रदूषण नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले नेपालमा सञ्चालन गरिरहेको स्वच्छ हावा परियोजना पनि बन्द गरेको छ।
स्टेट अफ ग्लोबल एयर–२०२४ अनुसार वायु प्रदूषणका कारण विश्वमा सन् २०२१ मा ८१ लाख मानिसको मृत्यु भएको थियो। सन् २०१९ मा यो संख्या ७२ लाख रहेकोमा दुई वर्षमै बढेर ८१ लाख पुगेको थियो। सोही रिपोर्टका अनुसार बर्सेनि वायु प्रदूषणका कारण नेपालमा ४८ हजार पाँच सय जनाको मृत्यु हुने गरेको छ। सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले प्रकाशित गरेको ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२३ को प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ।
वायु प्रदूषणको क्षेत्रमा कार्यरत विज्ञका अनुसार अमेरिकी दूतावासले साझेदारी गर्ने वायु प्रदूषणसम्बन्धी तथ्यांक ‘विश्वसनीयता र उपलब्धता’का हिसाबले महत्त्वपूर्ण मानिएका थिए। ‘सरकारी तवरले जडान गरिएका अधिकांश वायु प्रदूषण मापन यन्त्रहरू नियमिति सञ्चालनमा नरहेको अवस्थामा यी दुई केन्द्रले उपलबध गराउने तथ्यांक अनुसन्धानकर्ता र सर्वसाधारणका लागि महत्त्वपूर्ण थिए,’ वातावरण विज्ञ भूषण तुलाधर भन्छन्।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको अगुवाइमा देशका विभिन्न स्थानमा जडान गरिएका २९ वटा वायु प्रदूषण मापन केन्द्रमध्ये लगभग १७ वटा मर्मत अभावमा बन्द छन्। मुस्किलले एक दर्जन केन्द्रले मात्र काम गरिरहेका छन्।
वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार सरकारी स्तरमा राखिएका केन्द्रले काम नगर्दा अमेरिकी दूतावासले राखेका वायु प्रदूषण मापन केन्द्रबाट तथ्यांक लिने वैकल्पिक सुविधा थियो।
विशेषगरी ओजोन ग्यास मापनका लागि अमेरिकी दूतावासले राखेका ती केन्द्रको तथ्यांक महत्त्वपूर्ण मानिँदै आएको थियो। सामान्यतया प्रदूषण मापन केन्द्रहरूले हावामा रहेका अत्यन्त साना सूक्ष्म कण पिएम २.५, पिएम १०, हावामा रहेका समग्र ससाना कण (टोटल सस्पेन्डेड पार्टिकुलेट), सल्फर र नाइट्रस अक्साइड, ओजोनलगायत कार्बनमनोअक्साइड जस्ता अवयवहरू कति छन् भनेर देखाउँछन्।
लामिछानेका अनुसार रत्नपार्कमा रहेको प्रदूषण मापन केन्द्रले ओजोन मापन गर्न सक्ने भए पनि त्यसले त्यति काम गरेको छैन। त्यस्तै इसिमोडको सहयोगमा खुमलटारमा राखिएको केन्द्रले संकलन गर्ने ओजोन उत्सर्जनको तथ्यांक पनि सार्वजनिक गर्ने गरिएको छैन।
जनस्वास्थका लागि ठुलो चुनौती बन्दै गएको वायु प्रदूषण मापनसम्बन्धी तथ्यांकले अनुसन्धान, नीति निर्माण तथा सर्वसाधारणमा जागरुता अभिवृद्धि गर्न सहयोग पुर्याउने विज्ञ बताउँछन्। ‘अब नेपालले प्रदूषण अनुमगनको आफ्नै आन्तरिक प्रणालीलाई सशक्त पार्न आवश्यक देखिएको छ,’ वातावरण विज्ञ तुलाधार भन्छन्।
वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झाले बिग्रेका वायु प्रदूषण मापन केन्द्रलाई मर्मत गर्ने तयारी भैरहेको बताएका छन्। ‘केही केन्द्रहरू यही आर्थिक वर्ष र अरू अर्काे आर्थिक वर्षभित्रै पुनः सञ्चाल गर्नेतर्फ गृहकार्य भैरहेको छ,’ उनले भने।
झाका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय गुणस्तर कार्ययोजना बनाउनेतर्फ पनि सरकारले गृहकार्य सुरु गरेको छ। हाल काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६ कार्यान्वयनमा छ। कतिपय विज्ञले कार्ययोजनना मात्र पर्याप्त नहुने भएकाले जनता स्वास्थ्य सुरक्षाका लागि स्वच्छ वायु ऐन बनाउनुपर्ने माग गर्दै आएका छन्।
घरभित्र र घरबाहिर हुने वायु प्रदूषणका कारण नेपालमा श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिस्कघात, फोक्सोको क्यान्सर, मुटुरोग, बाल मृत्यु, मधुमेह बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्।
नेपालमा विशेषगरी डिजेल र पेट्रोलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा आगो लाग्दा निस्कने धुवाँ, इटा कारखानाले निकाल्ने धुवाँ, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा हुने उत्सर्जन, बिषादीको उच्च प्रयोग, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ।
प्रकाशित: २६ फाल्गुन २०८१ ०७:२२ सोमबार