२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीका नाममा ठगिँदै युवा

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिने क्रम बढेको छ । एकपछि अर्को गर्दै यस्ता ठगीका घटना बाहिरिन थालेका छन् । 

टीकापुर नगरपालिका वडा नम्बर १ खक्रौला रोड नजिकै इन्फिनिटी एच आर सोलुसन प्रालि नामक संस्था खोलेर एक व्यक्तिले धेरै युवाहरूलाई ठगी गरेको पाइएको छ । प्रालिका प्रबन्ध निर्देशक भनिएका राम भुवन कुमार साह युवाहरूलाई ठगेर फरार भएका छन् । उनी सप्तरी जिल्लाको साबिक भङ्गहा गाविस वडा नम्बर ६ का बासिन्दा हुन ।

विभिन्न १४ जना युवाहरुले २०८१ फागुन ६ गते उनी विरुद्ध वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । उनीहरुले निज साहले युरोपियन मुलुकहरूमा पठाउने भन्दै आफूहरूसँग रकम लगेको निवेदनमा उल्लेख छ ।

युवाहरुले विभिन्न मितिमा निज साहको नाममा रहेको महालक्ष्मी विकास बैङ्कको खातामा १५ लाख रुपैयाँ जम्मा गरेको बताएका छन् । पीडित मध्ये टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेहरीका जयबहादुर बोहराले स्वास्थ्य परीक्षणका नाममा थप दश÷दश हजार रुपैयाँ समेत दिएको बताए ।

उनले साहको प्रलोभनमा परेर ठगीमा पर्ने युवाहरूको संख्या अझ धेरै हुनसक्ने बताए । उनले आफू लगायत २३ जना युवाहरूको राहदानी अहिले पनि साहसँगै रहेको जानकारी दिए । ‘अरु धेरैले पनि पैसा दिएको हुनसक्छ’ उनले भने–‘हामी तत्काल सम्पर्कमा आएका मात्रै हौँ ।’ 

साह २०८१ माघ २५ गते टीकापुर छोडेर फरार भएका छन् । उनी भारतको राजधानी दिल्लीमा कार्यालयको काम छ भनेर हिँडेको पीडित मध्येकै अर्का टीकापुर नगरपालिका वडा नम्बर ३ का भुवन रसाइलीले बताए । ‘मलाई त धेरै कुरा थाहा थिएन । काम छ, दिल्ली जान्छु भन्यो । होला त सोचे’ उनले भने–‘अहिले पो थाहा भयो । म त ठगिएको रहेछु ।’

उनी टीकापुरस्थित एक होटलमा सामान्य काम गर्ने कामदार हुन । उनले साहको बैंक खातामा २०८१ माघ २४ गते एक लाख दश हजार रुपैयाँ जम्मा गरेका थिए । उनले युरोप गएर धेरै पैसा कमाउने लोभमा मेहनत गरेर कमाएको पैसा गुमाउनु परेको दुःखेसो पोखे । 

साहले टीकापुर छोडेको अर्को दिन अर्थात् माघ २६ गते समेत टेलिफोन गरेर युवाहरूलाई पैसा जम्मा गर्न भनिरहेका थिए । ती मध्येका छ जनालाई पैसा जम्मा गर्नबाट आफूले रोकेको बोहराले बताए । उनले साह गलत मान्छे हुन भन्ने कुरा आफूलाई पहिल्यै महशुस भएको बताए ।

साहमाथि शंका लागेर नै उनले संस्थाको बारेमा खोजीनिती गरेका थिए । ‘पान नं. मिलेन, संस्था दर्ता भेटिएन’ उनले भने–‘यति कुरा पत्ता लगाउँदा उ (साह) भागिसकेको थियो ।’

साहबाट ठगिएको थाहा पाए पछि माघ २७ गते युवाहरू जम्मा भए । उनीहरुले न्यायका लागि एकताबद्ध हुने योजना बनाए । सोही योजना अनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । प्रशासन कार्यालयले समेत २०८१ फागुन ६ गते नै वैदेशिक रोजगार विभागमा कारबाहीका लागि पत्राचार गरेको छ ।

प्रकाशित: २२ फाल्गुन २०८१ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App