वातावरणीय अवस्थाका आधारमा चराले पनि बाँच्न रणनीतिक निर्णयहरू गर्छन्। कुनै चरा छोटो समय बाँच्छन् त कुनै लामो समय।
बसाइँसराइ नगर्ने स्थानीय चराहरूमा हालै गरिएको एक वैज्ञानिक अध्ययनले लामो आयु भएका प्रजातिहरू प्रतिकूल अवस्थामा पनि आफूलाई बचाउन सक्ने देखाएको छ। तर उनीहरू जलवायु परिवर्तनको प्रभावसँग अनुकूलनका हिसाबले छोटो समय बाँच्ने चराभन्दा ढिलो गतिमा अनुकूलित हुने पनि उक्त अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताले छोटो वा लामो दुवै आयु भएका अधिकांश चराले अहिले जलवायु परिवर्तनको प्रभाव भोगिरहेको र परिवर्तित अवस्थामा उनीहरूको अनुकूलित हुने सम्भावना कम हुँदै गएको बताएका छन्।
विश्वका सात हजार पाँच सय प्रजातिका चराको तथ्यांकसहित गरिएको उक्त अध्ययनमा वातावरण परिवर्तनको गतिशीलताले कसरी चरालाई प्रभाव पारिरहेको छ भन्ने समीक्षा गरिएको थियो। वैज्ञानिक जर्नल ‘इकोलोजी लेटर्स’मा प्रकाशित उक्त अध्ययनको नेतृत्व मिचिगन स्टेट युनिभर्सिटीअन्तर्गत ‘इन्स्टिच्युट फर बायोडाइभर्सिटी, इकोलोजी, इभोलुसन एन्ड म्याक्रो सिस्टम्स’का वैज्ञानिकले गरेका हुन्।
धेरै चिसो र गर्मी हुने स्थानका स्थानीय चराहरूले भोलि के होला भन्ने चिन्ता नगरी आफ्नो ऊर्जा र स्रोतसाधन प्रयोग गरेर बच्चा जन्माउन जोड दिने गरेको देखिएको छ। अमेरिकाको मिचिगन राज्यका फिन्च वा कार्डिनलजस्ता चराहरूले यस प्रकारको व्यवहार देखाएको पाइएको हो।
यसरी चराहरूले आफ्नो वंश कायम गर्न सकेसम्म छिटो प्रजननमा आफ्नो ऊर्जा लगानी गरेको अध्ययनले देखाएको छ। यसैगरी वर्षौंसम्म तापक्रममा हुने उतारचढावलाई सामना गरेका दीर्घजीवी र ढिलो गतिमा जीवन बिताउने चराहरू प्रतिकूल वर्षमा प्रजनन नगरी बाँच्ने गरेको पाइएको छ।
२५ वर्ष बाँच्नसक्ने सल्फर–क्रेस्टेड कोकाटु जस्ता चराका प्रजाति आफ्नो लामो आयु भएका कारणले संकटमा सन्तान उत्पादन गर्ने क्रमलाई पछाडि धकेल्ने गरेको अनुसन्धानकर्ताले बताएका छन्। ‘तपाईं केही वर्ष बाँच्नुहुन्छ भने एउटा खराब वर्ष ठुलो समस्या होइन, तर तपाईंले लगातार दुई वा सोभन्दा बढी खराब वर्षहरू बेहोर्नुप¥यो भने समस्या बल्झन्छ,’ अध्ययनको नेतृत्व गरेका अनुसन्धानकर्ता क्यासे योङफ्लेसले भनेका छन्।
घाँसे मैदान र उष्णकटिबन्धीय जंगललगायत पृथ्वीका असंख्य पारिस्थितिक प्रणालीमा यो लागु हुने वैज्ञानिकले बताएका छन्। उद्विकासको क्रममा एउटा प्रजातिको परिपक्व विकास हुन कैयौं पुस्ता लाग्ने गरेको पृष्ठभूमिमा जलवायु परिवर्तनका कारण यो कसरी प्रभावित भइरहेको छ भन्ने विषयमा विभिन्न वैज्ञानिक अध्ययन भइरहेका छन्।
यस्तोमा कस्ताखाले रणनीतिमार्फत जीवजन्तुले आफूलाई उत्तम अवस्थामा राख्छन् भन्ने विषय चाखलाग्दो हुने वैज्ञानिक बताउँछन्।
‘यो अध्ययनले पृथ्वीमा जीवनको ढाँचालाई आकार दिन जलवायु परिवर्तन र परिवर्तनशीलताको भूमिकाबारे महŒवपूर्ण अन्तर्दृष्टि प्रदान गर्छ,’ अध्ययनमा सहभागी अनुसन्धानकर्ता फोइवे जार्नेट्स्केले भनिन्। अध्ययनमा सहभागी नरहेका येल विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक ला सोर्टेले अनुसन्धानमा केही सीमितता रहे पनि यो नतिजाको व्यापक व्यावहारिक प्रभाव रहेको बताए।
(साइन्स डेली र इनसाइड क्लाइमेट न्युजमा प्रकाशित समाचारबाट साभार)
प्रकाशित: २२ फाल्गुन २०८१ ०९:११ बिहीबार





