१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

राप्ती नदीमा एक सय तीन गोही छाडियो

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ वटा गोही राप्ती नदीमा छाडेको छ। साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो। छाडिएकाहरूमध्ये एउटा, भाले र अन्य पोथी रहेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलियका बच्चा हुन। गत आर्थिक वर्षमा १०५ वटा गोही नदीमा छाडिएको थियो। नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने गरिन्छ। त्यहाँ हुर्किएका बच्चालाई नदीहरूमा छोड्ने गरिन्छ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० वटा गोही छाडिसकिएको छ। यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ। थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ वटा गोही भेटिएका थिए। हाल प्रजनन केन्द्रमा ६९७ वटा गोही रहेका छन्।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ। सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ। नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो। नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ।

हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा सङ्ख्या भने बढेको छैन। रासस

प्रकाशित: २० फाल्गुन २०८१ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App