२० चैत्र २०८१ बुधबार
image/svg+xml २०:८ अपराह्न
समाज

शेखरलाई खाणको ‘ऊर्जा’

भैरहवा स्थित होटेलमा शेखर कोइराला , बालकृष्ण खाण लगाएत कांग्रेस नेताहरु।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बालकृष्ण खाणको ‘उम्दो’ राजनीतिमा ‘ब्रेक’ लाग्ने चर्चा चुलियो। अझ यो प्रकरणको मुद्दामा मुछिएका खाणलाई घरमै पुगेर प्रहरीले नियन्त्रणमा लिएपछि त कांग्रेस संस्थापन पक्षको बागडोर सम्हाल्न सक्ने ‘शक्ति’ नै पतन उन्मुख भएको लख काटियो।

करोडौँ घोटालाको यो प्रकरणमा जोडिएका खाणले समेत पक्कै आफ्नो राजनीतिक यात्रामा ठूलो ‘धक्का’ लाग्ने आङ्कलन निःसन्देह गरेकै थिए। तथापि सत्ता साझेदार दल आफ्नै पार्टी नेपाली कांग्रेस हुनुले उनलाई कतै न कतै केही न केही राहत दिएकै थियो।

पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाणले ‘आफ्नो नियन्त्रण’ सहजै फुकुवा हुने र यो प्रकरणबाट दोष मुक्त भई पार्टीमा पुरानै हैसियत कायम हुने आशा राख्नु अस्वाभाविक थिएन।

तथापि यो विश्वासलाई आफ्ना निकटस्थ सभापति देउवाले डगमगाइदिएको आभाष खाणलाई पर्दै गयो। सभापति देउवाको निकटस्थ रहेरसंस्थापन पक्षको वकालत र बचाउ गर्नमा लामो समय खर्चिएका खाण देउवासँग बिच्किँदै गए। देउवाको ‘रक्षा कवच’ बनेर अग्रमोर्चामामा पहरा दिँदै आएका खाण थुनामुक्त भए, तर थुना मुक्त हुनुको जसको श्रेय देउवालाई दिन मानेनन् खाणले।

आफू थुनामा रहँदा पार्टीकै महामन्त्रीद्धय तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन गइपुग्नुले खाणको मनमा थप चिसो बढाएको थियो। उनले दुई महामन्त्रीको यो भूमिकालाई पनि ‘देउवा रणनीति’ का रुपमा अर्थ्याए शायद।

बरु फरक गुटका शेखर कोइराला जेलमै भेट्न गइपुग्नुलाई खाणले ठूलो ‘गुण’ माने। फलतः खाणले कोइरालाको त्यो गुण तिर्न सक्ने अड्कलबाजी कांग्रेस वृत्तमा भयो। आइतबार बुटवलमा देखिएको कोइराला-खाणको अन्तरघुलनले कांग्रेस वृत्तमा चलेको ‘गुणतिर्ने’ चर्चालाई धेरै हद सम्म पुष्टि गरिदियो।

आइतबार बुटवलमा कांग्रेसको प्रचार विभागले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोलाइएका शेखर कोइरालासँगै विशिष्ट अतिथिका रुपमा डा. मिनेन्द्र रिजाल र खाण आउने प्रचारबाजीले शेखर-बालकृष्णको साइनो कसिलो बनिसकेको आशंका चुलियो।

शनिबार साँझ भैरहवा स्थित रेडसन होटेलमा शेखर र बालकृष्णको सामिप्यता कसिलो रुपमा प्रष्ट देखियो। शनिबार अपराह्न रुपन्देही झरेका शेखर त्यो दिन कार्यकर्ता भेटघाटमा व्यस्त बने।

साँझ पख डा. मिनेन्द्रसंगै रुपन्देही ओर्लिएका बालकृष्ण सोझै शेखर रहेको होटेल रेडसनमा गइपुगे। शेखरलाई खादा लगाइदिँदै आफ्नो गृह जिल्ला रुपन्देहीमा स्वागत गरेका खाण शेखरसँगै धेरै बेर शेखरसँगै रहे। राती अबेरसम्म भएको होटेलको गोप्य छलफलले आइतबार बिहान शेखर-बालकृष्ण एकभइसकेको निक्र्यौल कांग्रेसीजनले गरे।

आइतबार कार्यक्रम स्थल पुग्दा पनि शेखर र वालकृष्णसँगै पुगे। अझ रोमाञ्चक त के देखियो भने देउवा खेमामा रहेर संस्थापन इतर समूहको आलोचना गर्दै आएका खाणले ‘शेखर लाइन’ मै भाषण दिए।

उनले भने ‘कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ, विधान मिचेर महाधिवेशन सार्ने छुट कसैलाई पनि छैन।’ खाणको यो अभिव्यक्ति शेखर लाइनमा त थियो नै, अझ देउवा पक्षबाट आइरहेको पछिल्लो धारणा विपरीत थियो।

डा. शेखरले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने धारणा राख्दै आएका छन्। तर देउवा समूहबाट भने आम निर्वाचन पछि मात्रै पार्टीको महाधिवेशन गरिनु पर्ने धारणा बाहिर आउने गरेका छन्।

खाणले देउवा समूहबाट आइरहेका धारणा विपरीत निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ भनेर दिएको अभिव्यक्तिले खाण देउवासँग नरहेको ठूलो आशंका पैदा त गरायो नै अझ शेखरसंगको साइनो कसिलो बनिसकेको टिप्पणीलाई झनै बल पुर्‍यायो।

यति मात्रै हैन, खाणले भाषणकै क्रममा मञ्चमा रहेका शेखरलाई हेर्दै पार्टीभित्र ‘लिगेसी’ भएको नेता पाउनुलाई महत्त्वपूर्ण उपलब्धि भनेर शेखर निकटस्थलाई थप प्रष्ट पारिदिए।

उनले भने ‘पार्टी भित्र लिगेसी भएको नेता हुनुपर्छ, हामीले लिगेसी भएको नेता पाएका छौँ, यो हाम्रो लागि ठूलो उपलब्धि हो। ’यसैगरि खाणले मञ्चमा रहेका दुई डाक्टर शेखर र मिनेन्द्रसंगै रहने स्पष्ट रुपमा बोले।

‘आफू डाक्टर नबने पनि दुई डाक्टरसँग सँगै रहेको’ भनेर धारणा राखेका खाणको यो अभिव्यक्तिले सहभागीहरुलाई थप उत्साहित बनाएको थियो। ‘म त अब डाक्टर बन्न सक्ने कुरै भएन, बुढो भइयो, पढ्ने उमेर छैन अब,’ खाणले भने ‘म आफू डाक्टर बन्न नसके पनि दुई जना डाक्टर सापहरू यहाँ हुनुहुन्छ, उहाँहरूसँग सँगै रहने छु।’

शेखर केन्द्रित अभिव्यक्ति दिएका खाणले शेखर तर्फ हेर्दै ‘पार्टी हाँक्न सक्ने नेतृत्व अब चाहिन्छ भन्दै शेखरलाई आगामी पार्टी सभापतिको रुपमा अप्रत्यक्ष रुपमा प्रस्तुत गरिदिएका थिए।

कार्यक्रम सकिएपछि खाणले शेखरलाई आफ्नो निवास पुर्‍याएका थिए। त्यहाँ आधा घण्टा बढी शेखर र खाणको बसाइ भएको थियो। यति मात्रै हैन, आइतबार बेलुका काठमाडौँ फर्किएका शेखरलाई छोड्न खाण भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्मै पुगेका थिए।

प्रकाशित: १९ फाल्गुन २०८१ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App