चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती सामुदायिक वनभित्र वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमा अधिकांश घाँसदाउरा गर्न जानेहरू रहेका छन्। निकुञ्जको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्रै घाँसदाउरा गर्न मध्यवर्ती सामुदायिक वन प्रवेश गरेका पाँचजनाको ज्यान गइसकेको छ।
यसरी प्रत्येक वर्ष घाँस–दाउरा गर्न जाने व्यक्तिले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउँदै गएपछि वन्यजन्तु प्रभावित क्षेत्रका मानिसलाई एलपी ग्यास वितरण गर्न थालिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत सञ्चालन भइरहेको ‘लिभिङ विथ लार्ज कर्निभर’ कार्यक्रमको सहयोगमा माडीका अयोध्यापुरी र पाँच पाण्डव मध्यवर्ती सामुदायिक वन क्षेत्रका करिब चार सय घरमा एलपी ग्यास वितरण गरिएको छ।
एनटिएनसी बिसिसीका कार्यक्रम सहायक मनोज घिमिरेका अनुसार दाउरा खोज्न जंगल जानुपर्ने बाध्यता हटाउन सिलिन्डरसहित चुलो वितरण गरिएको हो। ‘हामीले निकुञ्जका मध्यवर्ती सामुदायिक वनसँग परनिर्भर मानिसहरूलाई एक वर्षदेखि ग्यास विरतण गरिरहेका छौं’, घिमिरेले भने, ‘ग्याँस दिएपछि जंगल जाने क्रम घटेको पाएका छौं।’
ग्यास वितरण भएपछि मानव र वन्यजन्तुबिचको द्वन्द्वमा समेत कमी आएको उनको अनुभव छ। ‘राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्ययनमा एकजना व्यक्ति बिहान ६ बजेदेखि बेलुका पाँच बजेसम्म तीनपटक वनमा दाउरा लिन गएको पाएका थियौं। अहिले त्यस्तो पाएका छैनौं। उनीहरूको आनिबानीमा समेत परिवर्तन आएको छ’, उनले भने, ‘त्यतिबेला जंगली जनावरको आक्रमण बढी हुन्थ्यो, अहिले घटेको छ।’
वनयजन्तुको परनिर्भरता घटाउनका लागि यो कार्यक्रम ल्याइएको हो। दाउरा लिन नियमित जंगल जाने क्रम घटेको उनले बताए। ‘जसरी बिहानै उठेर जंगल जाने गर्दथे, त्यो त अहिले ब्रेक लागेको छ। जानैपरे एक भारी ल्याउँछन्’, उनले भने।
मध्यवर्ती वन क्षेत्रमा पर्ने पाँच पाण्डवका रामबहादुर बोटेले ग्यास पाएपछि खाना पकाउन निकै सजिलो भएको बताए। ‘दाउरामा खाना पकाउन जंगल जानु पर्दथ्यो। अहिले हरेक दिन जंगल जानुपरेको छैन’, उनले भने, ‘जंगली जनावरको डर समेत कम भएको छ।’ जंगल जाने समय खेतीपातीमा लगाउने गरेको उनले बताए।
सोही ठाउँकी सरिता बोटेको दिनचर्या पनि फेरिएको छ। उनलाई घाँसदाउरा गर्न दैनिक जंगल पस्नुपरेको छैन। बोटे जातिले माछा मारेर जीवन गुजरा चलाउने गर्दछन्। त्यसबाहेक खेतीकिसानी उनीहरूको मुख्य पेसा हो। ग्यास चुलो पाएपछि नियमित जंगल जान छाडेको उनले बताइन्। ‘अलिअलि त जानै पर्यो’, उनले भनिन्, ‘ग्यास मात्र बालेर पनि हुँदैन।’
पाँच पाण्डव मध्यवर्ती सामुदायिक वन जंगलमा गैंडा, बाघ, हात्ती भालुलगायतका जंगली जनावरको डर हुन्छ। त्यसमाथि निकुञ्ज प्रशासन र सेनाले समेत जंगल जान रोक्ने गर्दछन्। उनीहरूका आँखा छलेर जंगल पस्ने गरेका बोटे समुदायलाई त्यो डर भने हटेको छ।
अयोध्यापुरी मध्यवर्ती वन क्षेत्रमा पर्ने परुवीकी निरमाया प्रजाले नियमित ग्यास वितरण गर्नुपर्ने बताइन्। ‘ग्यास एकपटक भरेर भएन। फेरि भर्न पैसा लाग्छ’, उनले भनिन्, ‘आम्दानी नहुनेलाई त कठिन हुन्छ।’
मध्यवर्ती वन समितिका कोषाध्यक्ष राजकुमार पाठकले मध्यवर्ती क्षेत्र आसपासका वासिन्दाको आयआर्जनमा वृद्धि गरेर जीवनस्तर सुधार्न सके मात्रै जैविक विविधताको संरक्षण हुने बताए। ग्यास वितरण गर्ने कार्यक्रमले वनसँगको निर्भरता घटाउन राम्रै काम गरे पनि निरन्तरताका लागि भने चुनौती देखिएको बताए।
प्रकाशित: १६ फाल्गुन २०८१ ०९:३३ शुक्रबार





