यसपालिको महाशिवरात्रि पर्व धुमधामले मनाइएको छ। फूलमाला र झिलिमिली बत्तीले सिँगारिएको पशुपतिनाथको दर्शनका लागि आएका स्वदेशी तथा विदेशी भक्तजनको भिडले बुधबार महाशिवरात्रि पर्व भव्य र रौनकमय बन्यो।
भारतको प्रयागराज महाकुम्भ मेलामा सहभागिता जनाएका साधुसन्त र भक्तजनमा पशुपतिनाथको दर्शन गरे मात्र धार्मिक कर्म पूरा हुने मान्यता रहेका कारण यस वर्ष महाशिवरात्रि मेलामा विशेषतः भारतीय दर्शनार्थीको उल्लेखनीय उपस्थिति थियो । प्रायः साधुसन्तले पनि प्रयागराज महाकुम्भ मेलामा स्नान गरेर पशुपतिनाथको दर्शन गर्न आएको बताए।
भारतीय साधुसन्त विभिन्न हिन्दु देवीदेवताको नकाब धारण गरी मन्दिर परिसरमा उपस्थित हुँदा दर्शनार्थीहरूको ध्यान त्यतै खिचिएको पाइन्थ्यो। कोही साधुसन्तसँग सेल्फी खिच्न व्यस्त थिए भने कोही मन्दिर परिसरवरिपरि कोषले बनाइदिएका सेल्फी प्वाइन्टहरूमा फोटो खिचाइरहेका देखिन्थे। सेल्फी प्वाइन्टहरूको व्यवस्थाले भक्तजनलाई तस्बिर लिन सहज भएको थियो।
पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनले यसपटक लाइनमा चार घण्टा बस्नुपरेको भए पनि मन्दिरभित्र निकै छिटो दर्शन गर्न पाएको अनुभव सुनाए। ‘म मित्रपार्कको रुट लाइनमा चार घन्टा बसेर मन्दिर पुगेकी थिएँ,’ व्रत बसेर भगवान् पशुपतिनाथको दर्शन गर्न आएकी सीता नेपालले भनिन्, ‘यसपटक बाहिरको लाइनको व्यवस्थापनमा धेरै कमजोरी भएको देखियो तर विभिन्न स्थानमा सेल्फी प्वाइन्ट बनाइएकाले हामीलाई लाइन बस्दा पनि दिक्क लागेन। साथीहरूसँग धेरै फोटो खिच्दै लाइन पार गर्यौं।’ उनले मन्दिरभित्रको व्यवस्थापन भने चुस्त लागेको बताइन्।
‘मन्दिरभित्र लाइन छिरेको १० मिनेटमै राम्ररी दर्शन भयो। त्यसमा हामीलाई खुसी लाग्यो। अबदेखि मन्दिरबाहिरको लाइन व्यवस्थापनमा कोषको ध्यान जाओस्,’ उनले भनिन्।
पशुपति क्षेत्र विकास कोषले पर्व व्यस्थापनका लागि यस वर्ष डेढ करोड रकम छुट्याएको थियो। उक्त रकम मन्दिरभित्र र बाहिरी परिसरमा रहेका चार हजार साधुसन्तको व्यवस्थापन, नागा बाबाहरूका लागि मन्दिभित्र धुनी तथा दाउराको व्यवस्थापनमा खर्च गरिएको थियो। यसपटक नागाबाबा र साधुसन्तका लागि खानपानको निकै राम्रो प्रबन्ध भएको भारतको हिमाचल प्रदेशबाट पशुपतिमा आएका नागाबाबा परमेश गिरीले बताए।
उनले यसपालि महाशिवरात्रि मेला निकै व्यवस्थित रहे पनि दक्षिणा भने सन्तोषजनक नरहेको बताए। ‘हामी भारतको कुम्भमेलामा सहभागी भएर आयौं। त्यहाँ खानपिन, बसोबास राम्रो थियो र दक्षिणा पनि पर्याप्त पाइएको थियो,’ नागाबाबा गिरीले नागरिकसँग भने, ‘तर नेपालमा हामी पशुपतिनाथको आस्थाले आउने गरे पनि दक्षिणा निकै कम मिलेको छ। गुठी र कोषले गरी आठ हजार मात्र दिन्छन्। यसले त हाम्रो भाडा पनि पुग्दैन।’
उनले यसमा दुःखमनाउ नभएको पनि बताए। ‘म शिवरात्रिमा तीन दशकदेखि आइरहेको छु। आस्था र भक्तिले आउँछु। तर नेपाल सरकारले हाम्रो आउनेजाने उचित खर्चको व्यवस्था गरिदिए ठिक हुन्थ्यो,’ उनले भने।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन कुमार थापाका अनुसार यसपटक चार हजार साधुसन्ता मेला भर्न आएका छन्। यसपटक भारतीय दशर्नार्थीको पनि उल्लेख्य सहभागिता रहेको उनले बताए। उनले साधुसन्तलाई कोषले निर्मल अखडा, अन्नपूर्ण अखडा, भष्मेश्वर अखडा, विश्वरूपा अखडालगायत सात स्थानमा राखेर खानपिन र बसोबासको व्यवस्था गरिएको जानकारी दिए।
‘प्रयागराज महाकुम्भले भारतीय भक्तजन बढ्ने सम्भावनालाई ध्यानमा राखेर हामीले चार हजारको हाराहारीमा सुरक्षाकर्मी र चार हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्यौं। हाम्रो सम्पूर्ण ध्यान भक्तजनलाई सहज र छिटो दर्शन गराउनेमा थियो। त्यसमा हामीले यस वर्ष राम्रो गर्यौं। अनुभवी स्वयंसेवक परिचालनले पनि महाशिवरात्रि पर्व व्यवस्वस्थित बन्यो,’ उनले भने, ‘यस पटकका केहि कमीकमजोरीबाट पाठ सिक्दै अगामी वर्षहरूमा थप व्यवस्थित गर्नेतर्फ लाग्नेछौं।’
पशुपति गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितका अनुसार यसपटकको शिवरात्रि व्यवस्थित ढंगले धुमधामका साथ सम्पन्न भएको बताए। उनले यसपटक साधुसन्तको सहभागिता निकै राम्रो रहेको बताए। उनले साधुसन्तको यकिन संख्या शुक्रबार मात्र थाहा हुने बताए। ‘साधुसन्तको शुक्रबार बिदाइ गर्ने कार्यक्रम छ। बिदाइमा दक्षिणा दिने समयमा गुठी संस्थानले रेकर्ड राख्ने गर्छ,’ अध्यक्ष पण्डितले नागरिकसँग भने, ‘पशुपति ऐन जारी हुनुपुर्वदेखि नै गुठी संस्थानले सबै पर्व–जात्रा व्यवस्थापन गर्दै आएको थियो। सबैभन्दा बढी खर्च महाशिवरात्रिमै हुने गर्छ।’
उनले गुठी संस्थानले लिच्छविकालदेखिकै इतिहास बोकेको बताए। ‘अहिले कोषको बजेट डेढ करोड र गुठीको पनि एक करोड शिवरात्रिमै खर्च हुन्छ। साधुसन्तको विभिन्न स्तर हुन्छन्। उनीहरूलाई तीन हजारदेखि १९ हजार रूपैयाँसम्मको दक्षिणा गुठीले दिँदै आएको छ,’ उनले भने, ‘तर राजाको पालामा जस्तै दानदक्षिणा व्यवस्थापन हुन नसक्दा साधुसन्त अलि असन्तुष्ट नै रहेको पाइएको छ। गुठीको आर्थिक स्रोतमा कमी भएकाले साधुसन्तलाई विगतमा जस्तै सन्तुष्ट पार्ने गरी दानदक्षिणा गर्न नसकिएकै हो।’
पशुपति क्षेत्रविकास कोष सञ्चालक परिषद सदस्य राजुकुमार खत्रीका अनुसार बुधबारको महाशिवरात्रि पर्व निकै धुमधाम र उत्साहपूर्वक सम्पन्न भएको छ। मन्दिरमा भक्तजनले व्यवस्थापन गरेका आवास तथा निःशुल्क भोजन व्यवस्थापनले थप रौनक बढाएको उनले जनाए। ‘मन्दिर परिसरमा दर्शन गर्ने दर्शनार्थीका लागि विभिन्न संघसंस्थाले निःशुल्क आवास र भोजनको व्यवस्थाले प्रसाद वितरण निकै सहज भयो,’ सदस्य खत्रीले नागरिकसँग भने, ‘भोजनको गुणस्तरमा निकै ख्याल गरिएको थियो। निःशुल्क स्वास्थ्य सेवाका लाभ पनि भक्तजनले लिए।’
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अनुसन्धान ब्युरो र कोषका सुरक्षाकर्मीहरूको सकरात्मक सहयोगले पर्व निकै व्यवस्थित बनेको बताए। उनले दर्शनार्थीको यकिन तथ्यांक संकलन कार्य भइरहेको जानकारी दिए।
प्रकाशित: १५ फाल्गुन २०८१ ०६:१३ बिहीबार