इलाम नगरपालिका–४, जस्बिरेमा रहेको नेपालकै ‘बेस्ट टि मेकर’ सरद सुब्बा र व्यवसायी गृष्म सुब्बाले सञ्चालन गरिरहेको जस्बिरे चिया प्रशोधन उद्योग आगलागीमा ध्वस्त भएको छ।
मंगलबार राति लागेको आगोले उद्योगका सबै मेसिन, अर्गानिक अर्थाेडक्स तयारी चिया, अन्य सामानलगायत सबै जलेका छन्।
घटनास्थलमै रहेका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगूले आगोले करोडौं लगानीको उद्योग पूर्ण रूपमा जलेको जानकारी दिए।
‘नजिकै अरू घर र संरचना नभएपनि उद्योग भने पूर्ण रूपमा नष्ट भएको छ,’ उनले भने, ‘आगो राति सवा ११ बजेसम्म नियन्त्रण भइसकेको छैन।’
उद्योगमा एक्कासि आगो लागेको र नियन्त्रण प्रयास भइरहेको सरदका भाइले बताए। आयो निभाउन इलाम नगरपालिकाबाट वारुणयन्त्र त्यसतर्फ गएको छ।
स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन। ‘उद्योग करिब–करिब पूर्ण रूपमा जलिसकेको छ,’ उनले भने, ‘दमकल आइपुगेको छैन, दमकल नआउँदा हामीले कुनै उपाय लगाउन सकेका छैनौं।’
यो चिया उद्योगका सञ्चालन सरद सुब्बा केही महिनाअघि नेपालका चिया उत्पादन उद्योगहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए।
उद्योगमा ‘स्पेसल टी’मात्रै उत्पादन हुन्थ्यो। यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुने गरेको थियो।
यहाँ उत्पादित चिया नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्सलगायत देशमा निर्यात हुन्थ्यो भने माग धान्न नसकिएको सुब्बाले बताएका थिए।
उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो। आगोले कति मूल्य बराबरको क्षति गर्यो भन्ने विवरण आइसकेको छैन।
प्रकाशित: १४ फाल्गुन २०८१ ००:१९ बुधबार





