२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

उदयपुरबाट सात दिनमा १८ जुवाडे समातिए

उदयपुर प्रहरीले पछिल्लो केही दिनयता जुवा तथा तास खेल्ने विरुद्ध कडा अभियान सञ्चालन गर्दै आएको छ।

सात दिनको अवधिमा तीन दर्जनभन्दा बढी जुवाडेलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

एक साताअघि १२ जना जुवाडेलाई रंगेहात पक्राउ गरी जरिवाना गराएर छाडिएको थियो। तर, त्यसको भोलिपल्टै शुक्रबार राति पुनः आधा दर्जन व्यक्तिलाई तासको खालबाटै पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक टोलीले त्रियुगा नगरपालिका–१२ स्थित बबिता चौधरीको घरमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा त्रियुगा–१२ सगरमाथा टोलका ३१ वर्षीय नवीन तामाङ, बुद्धचोकका ३४ वर्षीय थमान राई, त्रियुगा–११ संगम टोलका ५४ वर्षीय बिन्द्र तामाङ, विशालनगर टोलका ४३ वर्षीय अम्बरबहादुर राय, ३३ वर्षीय बबिन्द्र राई तथा साकेला टोलका ३५ वर्षीय उमेश दाहाल रहेका छन्।

प्रहरी निरीक्षक सुमन बानियाँको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ८२५ रुपैयाँ, ६७ वटा सिक्का, १८ बुक तास तथा खुला ५०० पत्ती तास बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए।

राति पक्राउ गरिएको र शनिबार कार्यालय बन्द हुने हुँदा आइतबार मात्र अदालतबाट म्याद थप्ने प्रक्रिया अघि बढाइने उनले जनाए।

यसअघि फागुन ३ गते मात्रै त्रियुगा नगरपालिका–१३ हवाईफिल्डस्थित रामप्रसाद राईको घरबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका थिए।

उनीहरूबाट नगद ३ लाख १ सय २० रुपैयाँ बरामद गरिएको थियो। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालयले जुवा ऐनअनुसार जनही २२ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको थियो।

प्रशासनका अनुसार जुवा खेल्दा बरामद नगद जफत गरिनुका साथै कानुनी कारबाही स्वरूप जरिवाना तोकिएको हो।

विशेष सूचनाका आधारमा पक्राउ परेका व्यक्तिहरूमा घरधनी रामप्रसाद राईसहित मदन राउत, रीतबहादुर राउत, जालबहादुर मगर, कुमार कार्की, चिरञ्जीवी राई, तिलकबहादुर बुढाथोकी, राजकुमार कटुवाल, बालकृष्ण राई, निरज कटुवाल र राकेश चौधरी रहेका छन्।

प्रहरीले जुवा खेल्न लहसिनेहरूमा २२ वर्षीय युवादेखि ७५ वर्षीय वृद्धसम्म संलग्न पाइएकाले यस्ता अवैध गतिविधिमाथि थप कडा निगरानी राख्ने बताएको छ।

प्रकाशित: १० फाल्गुन २०८१ २२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App