१० असार २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपाको निर्वाचन तालिका प्रभावित, महाधिवेशन अझै लम्बिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका प्रभावित भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गएराति १० बजे हुने निर्वाचन तालिका रहेपनि बिहान ९ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन सकेको छैन ।  

हिजो सार्वजनिक तालिकाअनुसार असार ९ गते राती ७ बजेदेखि साढे सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख थियो । उम्मेदवारविरुद्ध दाबीविरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको थियो । 

उम्मेदवारहरुको संख्या धेरै भएकाले तालिका अनुसार काम हुन नसकेको निर्वाचन आयोगका प्रमुख भूवन केसीले जानकारी दिए । हिजो रातभर मनोनयन दर्ता भएको थियो । अहिले रुजु गर्ने क्रम रहेको निर्वाचन सचिवालयले जानकारी दिएको छ । केहीबेरमा मनोनयन गरेका व्यक्तिको सूचि सार्वजनिक गर्ने तयारी गरिएको छ ।  

सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ । उनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारीक घोषणा गरिसकेको छैन । केन्द्रीय सदस्यमा चारसयभन्दा बढीको उम्मेदवारी परेको बताईएको छ । 

रास्वपाको विधानअनुसार १५८ केन्द्रीय सदस्य मध्ये ९९ जनामा मात्र निर्वाचन हुनेछ । ५१ जना पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था छ भने सात जना प्रदेश सभापति केन्द्रीय सदस्य हुने हुने विधानमा उल्लेख गरिएको छ । 

रास्वपामा ४ हजार ३ सय महाधिवेशन प्रतिनिधि रहेका छन् । रास्वपाको कार्यतालिका अनुसार हिजो नै महाधिवेशन सकिनुपर्ने थियो । तर महाधिवेशन प्रतिनिधि छनोटमा समस्या देखिएपछि लम्बिएको जनाईएको छ ।

निर्वाचन प्रमुख केसीका अनुसार महाधिवेशन भोलिसम्म जारी हुनेछ ।

प्रकाशित: १० असार २०८३ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App