२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

नेपाली सेनाको विकासक्रम र सेना दिवस

इतिहास

१६१६ सालमा द्रव्य शाहले स्थापना गरेको लिगलिगकोट राज्य नै विशाल नेपालको सुरुवात हो। त्यसैगरी उनले स्थापना गरेको शाह राजवंशको निरन्तर ज्ञानेन्द्र शाहसम्म रह्यो। द्रव्य शाहले भगीरथ पन्तमातहत खडा भएको सैनिक दलको क्रमिकता वर्तमान नेपाली सेना हो। पृथ्वीनारायण शाहको राज्यकालबाट मात्र गोरखा इतिहास गणना गर्नु ऐतिहासिक पक्षपात हुनेछ।

नेपाली जंगी अड्डाद्वारा लेखाइएको इतिहासमा कहिले १८०१ सालको नुवाकोट विजयलाई र कहिले १८१९ साललाई नेपाली सेनाले आफ्नो स्थापना वर्ष मान्दै आएको भए तापनि राजा द्रव्य शाहले १६१६ सालमा लिगलिगकोट राज्य विजयसँगै भगीरथ पन्तलाई पहिलो सेनापति बनाई हालको नेपाली सेनाको सुरुवात गरेका हुन्।

इतिहासमा नेपाली राजसंस्थाको वर्णन गर्दा द्रव्य शाहदेखि नरभूपाल शाहसम्म मध्यकाल र पृथ्वीनारायण शाहदेखि हालसम्मको समयलाई आधुनिक कालका रूपमा लिइएको हुँदा नेपाली सेनाको सुरुवात पनि १६१६ सालदेखि नै उल्लेख गर्नुपर्छ। मध्यकाल र आधुनिककाल दुवैमा नेपाली सेनाको इतिहास छ।

१६१६ सालदेखि १८१९ सालसम्म र त्यसपछि पनि सेनामा झाराप्रथा र घरघुरीबाट एक÷एक जना पुरुष बोलाई लडाइँमा लैजाने चलन सबै राज्यमा थियो। १८१९ सालमा मिर कासिमको मुसलमान फौजसँग मकवानपुरमा भएको युद्ध र तिनबाट बन्दुकलगायत हातहतियार खोसी श्रीनाथ, वर्जवाणी, गोरख (हाल पुरानो गोरख), कालीबक्स तथा सबुज कम्पनीहरू खडा गरी आधुनिक नेपाली सेना संगठित गरिएको हो। ती हरेक कम्पनीमा एक सय नाल बन्दुकको दरबन्दी थियो।

तिलंगा, गोर्खाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट हुर्कंदै आएको नेपालको राष्ट्रिय सेनालाई राजा त्रिभुवनको समयमा र चन्द्रशमशेरको प्रधानमन्त्रीत्व कालमा अन्तर्राष्ट्रिय जगत्मा गोर्खा सेनाको सट्टा नेपाली सेना भन्न सुरु गरिएको हो। त्यसै बेलादेखि गोर्खा सरकारको सट्टा नेपाल सरकार, श्री ५ महाराजधिराजलाई अंग्रेजीमा हिज हाइनेसको सट्टा हिज म्याजेस्ट्री र श्री ३ प्रधानमन्त्रीलाई हिज एक्सिलेन्सी भनी सम्बोधन गर्न थालिएको हो।

१८२५ सालको इन्द्रजात्राको रातमा गोर्खालीले कान्तिपुर कब्जा गर्दा नेपाल भन्ने राज्य थिएन। उपत्यकामा कान्तिपुर, भक्तपुर र पाटन राज्यहरू थिए। उपत्यकालाई नै नेपाल भन्ने जनमानसमा चलन मात्र थियो। पृथ्वीनारायण शाहले नै जमिनमा पनि नेपाल देखाइदिएका हुन्।

अर्को सत्य के हो भने गोेर्खा राज्यले १६१६ सालदेखि नै सैनिक अभियानमार्फत राज्य विस्तार सुरु गरेको हो। द्रव्य शाहका छोरा पूर्ण शाहले गोर्खा राज्यको थप विस्तार गरे। सेनापति काजी लखन थापाको नेतृत्वमा उनका छोरा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म आफ्नो अधिकार कायम गरे। त्यसपछि पनि पाटनका राजा सिद्धिनरसिंह मल्लले कान्तिपुरसँगको युद्धमा गोरखासँग मद्दत माग्दा राम शाहका छोरा डम्बर शाह आफैं ठुलो फौज लिएर उपत्यका पुगेका थिए। डम्बर शाहका नाति रुद्र शाहको राज्यकाल १७२८ सालमा गोर्खा, पाटन र भक्तपुरको संयुक्त सेनाले मकवानपुरविरुद्ध युद्ध गरेको थियो।

पृथ्वीनारायण शाहले १८०० सालमै विराज थापा मगरलाई कज्याइँ दिई नुवाकोट हमला गर्न पठाएकोमा उनले ढिला गरेकाले उनको कज्याइँ खोसी महेश्वर पन्तलाई अधिकार दिई नुवाकोट हमलामा पठाए। उक्त हमला असफल भएपछि पृथ्वीनारायण शाहले १८०१ सालको भदौतिर शिवराम सिंह बस्न्यातलाई प्रधानसेनापति बनाई आफ्नै नेतृत्वमा नुवाकोट कब्जा गरे। यस बखत कालु पाडे मूलकाजी थिए। इतिहास लेख्नेले मूलकाजी कालु पाण्डेलाई सेनापति काजी बनाइदिएका थिए।

उसबखत चार काजी हुन्थे। तीमध्ये परराष्ट्र मामिलासमेत हेर्ने मूलकाजी हुन्थे। तसर्थ गोर्खा राज्यको इतिहास केलाउने हो भने १६१६ सालमा सेनापति काजी बनेका भगीरथ पन्त पहिलो प्रधानसेनापति हुन्। आधुनिक नेपालको पृथ्वीनारायण शाहको समयलाई मात्र समेट्ने हो भने १८०० सालमा काजी बनेका विराज थापा मगर पहिलो प्रधान सेनापति हुन्।  

बाइसे चौबिसे राज्य विदेशी थिएनन्। नेपालका फुटेका राज्य थिए। नेपाली सेनाले विदेशीसँग लडेको पहिलो लडाइँ भने मुसलमान सेनासँग हो। सेनाको उच्च‌ मनोबल कायम भएका एवं अनुभव र दक्षता हासित गरिसकेका हुनाले नै गोर्खाली सेनाले आफूभन्दा ठुलो र शक्तिशाली बंगाली नबाबको फौज र त्यसपछि अंग्रेजी फौजलाई नराम्ररी हरायो।

बंगाली नबाब फौजसँग गोर्खाली सेनाले मकवानपुरमा लडेको युद्धले दुईवटा अभिलेख राखेको छ। यसले गोरखाली सेनाले पहिलो पटक विदेशीसँग युद्ध गरेको र सेनाको कम्पनी तहको संगठनात्मक ढाँचा तयार गरेको अभिलेख राखेको छ। मकवानपुरको यो युद्धको पाँच वर्षपछि सिन्धुलीगढीनेरको पौवागढीको युद्धमा पनि त्यसैगरी अंग्रेजको ठुलो फौजलाई गोरखोलीले सजिलैसँग पराजित गर्‍यो। यो पहिलो नेपाल अंग्रेज युद्ध हो।

बहादुर शाहको नायवीकालमा नेपाली सेनाको विस्तार र विकास अझ राम्रो भयो। फ्रान्सेली कालीगढ र प्रशिक्षकहरू झिकाई तालिम दिलाउने काम र तोप बन्दुक गोलीगट्ठा बनाउने काम तीव्र भयो। आधुनिक युद्धकलाको प्रशिक्षण दिइयो। सेनामा कप्तान पद कायम गर्ने राजकुमार बहादुर शाह नै हुन्। पछि काजी तथा कमान्डर–इन–चिफ भीमसेन थापाले पुनः फ्रान्सेली प्रशिक्षक कालीगढ झिकाई सेनाको आधुनिकीकरण गरे। भीमसेन थापाले सेनाको संगठनात्मक ढाँचा विकास गरी पल्टन (रेजिमेन्ट) र कम्पु (बिग्रेड) खडा गरे। छाउनीमा जंगी अड्डा स्थापना गरे।

फौजलाई ब्यारेकमा राख्ने व्यवस्था गरे। कर्नेल, जर्नेल, कमान्डर–इन–चिफ पद सिर्जना गर्ने उनै हुन्। भीमसेन थापाले आफू मर्नुभन्दा दुई महिना अगाडि मात्र कमान्डर–इन–चिफ पद पाएका हुन्। उनले पाएको सबैभन्दा ठुलो पद यही हो। सेनाको विकासमा जंगबहादुर राणाको विशेष योगदान छ।

१९११ सालमा जंगबहादुरले आफू पनि गएर भोटमा लडाइँ गरे। त्यस युद्धमा नेपाली सेनाले ठुलो सफलता प्राप्त गर्‍यो। उनको बेलायत यात्रापछि सेनामा पश्चिमी ढंगले युद्धकला र हातहतियारमा सुधार गरे। १९१३–१४ सालमा अंग्रेज सरकारको अनुरोधमा उनी विशाल फौज लिई सिपाही विद्रोह दबाउन भारत गए।

नेपाली सेनाले त्यस अभियानमा ठुलो पराक्रम देखाई अंग्रेज सरकारलाई मद्दत ग¥यो। फलस्वरूप नेपाल अंग्रेज युद्धमा गुमाएको जमिनमध्ये नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अंगेजले नेपाललाई फिर्ता दियो।

२००७ सालको प्रजातन्त्र आएको केही वर्षपछि नेपाली कांग्रेस सरकारको पहलमा पहिलो पटक राजा त्रिभुवनद्वारा रुद्रशमशेर राणालाई फिल्ड मार्सल दर्जा प्रदान गरियो। भीमसेन थापादेखिको कमान्डर–इन–चिफ पद राजा वीरेन्द्रको पालामा चिफ अफ दी आर्मी स्टाफमा परिणत भयो। यो पद धारण गर्ने पहिलो प्रधानसेनापति महारथी गुणशमशेर राणा हुन्।

श्री ३ भएपछि प्रधानमन्त्री जंगबहादुर राणाले ‘मार्सल अफ दी लमजुङ एन्ड कास्की’को पद धारण गरे। सुप्रिम कमान्डर इन चिफका रूपमा उनले सिंह भएको झन्डा (बाघ झन्डा) प्रयोग गर्थे। जंगबहादुर कुँवर राणाले कास्की र लमजुङका लागि मात्र श्री ३ र मार्सल पद पाएका थिए। राणाहरू जबरजस्ती सम्पूर्ण नेपाली सेनाको मार्सल बने। २००८ सालपछि श्री ५ हरूले उक्त मार्सल झन्डा प्रयोग गर्न थाले।

राजाले प्रयोग गर्दै आएको राष्ट्रिय झन्डा प्रधानमन्त्री र मन्त्रीले प्रयोग गर्न थाले। राजा त्रिभुवनले रानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मीलाई क्रमशः श्री राजदल गण र श्री गणेश दल गणको बेलायती प्रचलनजस्तै कर्णेल–इन–चिफ मानार्थ पद दिए। राजा वीरेन्द्रको पालाबाट सुरु भएको विभिन्न गणहरूमा मानार्थ कर्णेल कमान्डेट नियुक्त हुने व्यवस्था पनि हालसम्म लागु छ।

सैनिक कूटनीतिको अर्को चरण हेर्ने हो भने नेपालको दक्षिणतिर कायम भएको मित्रशक्ति अंग्रेजलाई सघाउन सन् १८५७ को भारतको सिपाही विद्रोहविरुद्ध लड्न बलियो फौज पठायो। त्यसपछि बजिरीस्तानको युद्ध, अफगान युद्ध, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्धमा अंग्रेजलाई सहायता गर्न फौज पठाइरह्यो।

भारत स्वतन्त्र भएपछि पनि हैदराबाद क्षेत्रमा भएको हिन्दु र मुसलमानको हत्या नियन्त्रण गर्न हजारौं फौज पठाई भारत सरकारलाई सहयोग गर्‍यो। वास्तवमा यो नै नेपाली सेनाले गरेको पहिलो ‘पिस मेकिङ अपरेसन’ हो। नेपालले देशको असंलग्न कूटनीतिक परराष्ट्र नीतिको पालनास्वरूप संयुक्त राष्ट्रसंघमा आस्था एवं विश्वास राख्दै संसारका विभिन्न शान्ति मिसनमा भाग लिन एक लाख ६० हजारभन्दा बढी शान्ति सैनिकलाई सहभागी गराइसकेको छ।

हाल आएर नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बलबाट पनि शान्ति कार्यमा भाग लिइराखिएको छ। अर्कातर्फ नेपाल एकीकरण सन्दर्भका लडाइँहरू भोट, चीन, अंग्रेज, सिक्किमसँगका युद्ध, पन्जाबसँगको युद्ध र १८७१–७३ सालको नेपाल–अंग्रेज युद्ध र १९११ सालको नेपाल–भोट युद्धको तयारीस्वरूप फौज, तोप, घोडा लैजान कच्ची गोरेटो बाटो तयार गरियो। त्यसपछि सेनाले थुप्रै कच्ची–पक्की सडक निर्माण गरिसकेको छ।

१९९०, २०४५ र २०७२ सालको महाभूकम्पमा नेपाली सेनाले उल्लेखनीय उद्धारकार्य गर्‍यो। बाढीपहिरो, आगलागीमा उद्धार, कोभिडका बेलामा उत्कृष्ट राष्ट्रसेवा गर्नुका साथै खाद्य औषधी तथा अन्य बन्दोबस्तीका सामग्री सेनाले ढुवानी गरिदिएको छ। विभिन्न धार्मिक सांस्कृतिक जात्रापर्वमा नेपाली सेनाले भव्यतासाथ भाग लिने र सञ्चालनसमेत गरिरहेको छ।

वहाल रहेको सरकार र स्थानीय प्रशासनको अनुरोधमा सेनाले आन्तरिक सुरक्षाका लागि विभिन्न सैनिक कारबाहीसमेत गर्दैआएको छ। २००७ सालमा डा. केआई सिंहको नेतृत्वमा गठित रक्षा दल (नेपाली सेनामा समावेश थिएन) ले सिंहदरबार कब्जा गर्दा नेपाली सेनाले संयमता अपनाई कुशलतापूर्वक प्रधानमन्त्रीलगायत मन्त्री, कर्मचारीहरूलाई उद्धार गरी उक्त दलले गरेको हतियारसहितको विद्रोह दमन गरेको थियो।

राजा महेन्द्रको शासनकाल २०१९ सालमा बझाङी राजा रामजंगबहादुर सिंहले भारतीय हतियारधारी ल्याई गरेको विद्रोह पनि पूर्ण रूपमा नियन्त्रणमा लियो। २०३०÷३१ सालमा मुस्ताङको विकट भागमा अखडा बनाई चीनतर्फ आतङ्ककारी कारबाही सञ्चालन गर्दै आएका सशस्त्र र खम्पा विद्रोहीहरूलाई नियन्त्रणमा लिन ठुलो नेपाली फौज मुस्ताङ तैनाथ भयो।

नेपाली सेना खम्पाहरूलाई हतियारसहित नियन्त्रणमा लिन सफल भयो तथा उनीहरूका नाइके गे वाङ्दी नेपाली सेनासँगको भीडन्तमा टिंकरमा मारिए। २०३१ सालमै ओखलढुंगा सैनिक ब्यारेक तथा सदरमुकाम कब्जा गर्ने उद्देश्य लिई आएको नेपाली कांग्रेसको हतियारधारी दललाई नेपाली सेनाले सजिलै नियन्त्रण लियो।

त्यसैगरी २०२८ सालमा बारा, पर्सा र रौतहटमा फैलिएको हिन्दु–मुसलमान दंगा (भुसाहा काण्ड) पनि सेनाले नियन्त्रणमा लिई शान्ति पुनर्वहाली गरायो। तत्कालीन सरकारले आतंककारी घोषणा गरेको माओवादीले मच्चाएको १० वर्षे युद्धका अन्तिम वर्षहरू (२०५८ साल मंसिर ८ गतेपछि) मा नेपाली सेनाले विद्रोहलाई कमजोर बनार्ई माओवादीहरूलाई शान्ति वार्तामा ल्याउर्ने वातावरण बनायो।

सन्दर्भमा सेना दिवस

नेपाली सेनाको जन्म १६१६ सालमा नै भएको नजिर माथि पेस भइसकेको छ। जबसम्म राजनीतिक व्यवस्थाको क्रमिकता रहन्छ, सैनिक इतिहास पनि सोही व्यवस्थासँगै अघि बढेको हुन्छ। नेपाली सेनाको इतिहासलाई टुक्र्याई सेनाको जन्म मिति घटाइएको पक्कै हो।

 हालको सेना दिवसको सुरुवात कसरी भयो भन्ने बुझ्नु जरुरी छ किनकि राजा वीरेन्द्रबाट प्रधान सेनापति सत्चितशमशेर राणालाई राजाबाट नै ‘चिफ अब नेपालमा पनि आर्मी डेको सुरुआत गर। तर, सेनाले फूलपाती, घोडेजात्रा, शिवरात्रीजस्ता कार्यक्रम मनाइरहेको छ।

यी खर्चालु छन्। फौजले दुःख पनि पाइरहेका छन्। ती कार्यक्रममध्ये कुनै एउटालाई सेना दिवस मनाउँदा मितव्ययी हुन्छ’ भन्ने आदेश भएपछि चिफ साबले विभिन्न पुस्ट्याइँ पेस गरी जंगी अड्डाको निर्णयसहित शिवरात्रीलाई तत्कालीन सरकार एवं राजाको पनि सहमतिमा आर्मी दिवसका रूपमा मनाउने परम्परा सुरु भएको थियो।

प्रधान सेनापति सत्चितशमशेर राणाले अवकाश लिएर पाटन पुलचोकमा डेरा गरी बस्दा मेरो पहिलो पुस्तक ‘शाही नेपाली सेना र प्रधान सेनापतिहरू’ लेख्ने सिलसिलामा उहाँसँग अन्तर्वार्ता लिनेक्रममा यो कुरा बताउनुभएको हो। तसर्थ हालको सेना दिवस मनाउने दिन सेनाको खर्च र पसिना जोगाउन मात्रा छानिएको थियो। शिवरात्री र शिव भगवान्सँग कुनै धर्म जोडेर छानिएको थिएन। कस्तो दिनलाई सेना दिवस मान्ने भन्ने कुरा बुझ्न संसारका नजिर हेर्नुपर्छ।

देश जन्मेको दिन, देश स्वतन्त्र बनेको दिन, राष्ट्रको गौरव बन्ने महान् युद्ध जितेको दिन, सेना स्थापना भएको दिन आदिलाई सेना दिवस मान्ने विश्वनजिर छ। हाल मनाइएको शिवरात्रीको दिनले ‘सेना दिवस’ मान्ने कुनै इतिहासलाई समेट्दैन। यो अवस्थामा नेपाली सेनाका लागि दुई वटा राम्रा विकल्प हुन सक्छन्।

पहिलो विकल्प १६१६ सालमा राजा द्रव्य शाहले सेना खडा गरी भगीरथ पन्तलाई सेनापति काजी बनाएको दिन हुन सक्छ भने दोस्रो विकल्प नेपाली सेनाले पहिलो पटक मुसलमान सेना नायक मिर कासिमले नेतृत्व गरेको विशाल सेनालाई मकवानपुरमा हराएको दिन अर्थात् नेपाली सेनाले पहिलो पटक विदेशी सेनालाई मजाले हराएको दिन हुन सक्छ।

नेपाली जंगी अड्डाले गैरसैनिक इतिहासकारहरूमार्फत २०४६ सालदेखि सैनिक इतिहास लेखाउँदै आएको छ। यो राम्रो काम हो तर ती इतिहासकारले प्रधान सेनापतिको इच्छाअनुसार सेना दिवस अर्थात् नेपाली सेनाको जन्म फरक फरक लेखेको नजिर छ।

 गोर्खाली सेनाले १८२५ सालमा कान्तिपुर अर्थात् नेपाल जितेपछि गोर्खाली सेना नेपाली सेना भयो अनि गोर्खा नेपाल भयो भन्ने भाष्य बनाई उपत्यकाका इतिहासकारहरूले लेखिदिए। अनि सेनाले त्यही कुरा स्विकार्यो। त्यो सत्य होइन। जिब्रो नचपाई लेख्नुपर्दा कान्तिपुरभन्दा गोर्खाली राजा र गोर्खा राज्यको अस्थित्वलाई इतिहासमा कमजोर बनाउनु नै इतिहासको गुप्त मनसाय हो। इतिहास प्रमाणका आधारमा लेखिन्छ, भावना बहेर लेखिन्न। १८२५ सालमा नेपाल भन्ने छुट्टै राज्य कतै थिएन।

काठमाडौं उपत्यकामा पनि भक्तपुर, पाटन र कान्तिपुर राज्य थिए। अनि पृथ्वीनारायण शाहका लागि गोरखा राज्यलाई कान्तिपुरभित्र मिलाउनुपर्ने कारण र अवस्था थिएन। उनी विजेता थिए तर उनले गोरखा पनि नेपालकै एउटा भाग हो भन्ने बुझेपछि देशकै नाम नेपाल राखे।

यो नेपाल एकीकृत हुने क्रम १६१६ सालदेखि नै अगाडि बढेको कुरा हामीले नमान्नुपर्ने कारण केही छैन। जंगी अड्डाले आफ्नो इतिहासमा अडान लिन खुट्टा कमाउनुहुन्न। सही इतिहासको छानबिन गर्न सक्नेलाई जंगी अड्डाले बोलाएर बुझ्न ढिला गर्नुहुन्न। जंगी अड्डामा बसेर सैनिक इतिहास लेखिरहने लेखकले पनि नेपाली सेनाको सही इतिहास लेखिदिनुस्। नेपाली सेनाको आयु चार सय ६५ वर्ष पुगेको छ।  

प्रकाशित: १० फाल्गुन २०८१ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App