१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो।

समीर र ढाँटी नाति र हजुरआमा हुन्। सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ। स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो।

घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उनले जानकारी दिए।

चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

प्रकाशित: २९ माघ २०८१ २३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App