इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ। चैत २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद एक लाख एक हजार पुरस्कार प्रदान गरिनेछ।
रिटायर्ड खेलाडीहरुलाई फेरि खेलमा सक्रिय गराई नयाँ खेलाडीलाई प्रोत्साहन गर्न र कोच तयार गर्ने उद्देश्यले गर्न लागिएको गोल्डकप फुटबल प्रतियोगिताको उपविजेता टीमलाई नगद ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिइयो।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनमा हुन लागेको प्रतियोगितामा भारत र नेपालका आठवटा टीमको सहभागिता रहने आयोजक क्लबका सुनिल तामाङ्ले बताए। उनका अनुसार प्रतियोगितामा भारत सिक्किमको बम्रिक नामफिङ् क्लवको सहभागिता रहनेछ।
यस्तै, नेपालका तर्फबाट आयोजक इटहरीसहित धरान भेट्रान, हाम्रो धरान, पथरी भेट्रान, एभरेष्ट भेट्रान र विराटनगर भेट्रान क्लबको सहभागिता रहनेछ। यस्तै, झापा दमकको पनि दमक भेट्रान क्लब सहभागी हुनेछ।
प्रतियोगितामा खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई जनही एक हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही दुई हजार ५०० रुपैयाँ प्रदान गरिने आयोजक क्लबका दिवस राईले बताए। खेलकुदका लागि १५ लाख खर्च हुनेछ।
यस प्रतिस्पर्धाका लागि इटहरी उपमहानगरपालिकाले चार लाख र अन्य केही वडाले सहयोग प्रदान गर्ने भएका छन्।
प्रकाशित: १९ चैत्र २०८२ ०९:४२ बिहीबार





