भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक पाएर १०७ औँ स्थानमा परेको छ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकका अनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो । नतिजाअनुसार भ्रष्टाचारबिरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी भएको औंल्याइएको छ । दक्षिण एशियाली राष्ट्रहरुमध्ये भूटान ७२, भारत ३८, माल्दिभ्स ३८, श्रीलंका ३२, पाकिस्तान २७, बंगलादेश २३, अफगानिस्तानको १७ अंक रहेको छ । चीनले ४३ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स (सिपिआई) २०२४ (भ्रष्टाचार अवधारणा सूचकाङ्क—२०२४) मा १८० देशहरु सम्मिलित छन् ।
यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताए। उनकाअनुसार यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वल्र्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणका तथ्यांकले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यवसायिक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखाएको बताए।
नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालले राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न सुझाव दिएको छ ।
प्रकाशित: २९ माघ २०८१ १२:४० मंगलबार