मानिसलाई प्राणीमध्ये सर्वश्रेष्ठ मानिन्छ, तर सफाइ जस्ता आधारभूत जिम्मेवारीप्रति अझै धेरैले बेवास्ता गरिरहेका छन्। यही लापरबाहीको मार भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डूस्थित मन्थली डाँडा पिकनिक स्थलले बेहोरिरहेको छ।
झण्डै एकसय रोपनी क्षेत्रफल ओगटेको यो जङ्गलबिचको पिकनिक स्थल पछिल्लो समय अत्यधिक भिडभाड हुने ठाउँ बनेको छ। विशेष गरी शनिबार यहाँ पिकनिक मनाउन आउनेहरूको संख्या ठूलो हुने गरेकाले चारैतिर फोहोरमैलाको डंगुर लाग्ने गरेको छ। प्लास्टिकका बोटल, रक्सीका खाली सिसी, सिसाका टुक्रा, डिस्पोजेबल कप-प्लेट आदि जथाभाबी फालिँदा यो मनोरम स्थल दुर्गन्धित बन्दै गइरहेको छ।
यसै समस्यालाई मध्यनजर गर्दै बुधबार भक्तपुरका स्कुले विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सफाइ अभियान सञ्चालन गरे। भक्तपुरस्थित एभरेस्ट इङ्गलिश स्कुलका कक्षा ७ मा अध्ययन गर्ने ४० जना छात्रहरू शिक्षक-शिक्षिकासहित मन्थली डाँडामा पुगेर करिब दुई घण्टा सरसफाइमा जुटे। छात्राहरू भने विद्यालयमै एचपीभी खोप कार्यक्रममा सहभागी भएकाले अभियानमा उपस्थित हुन सकेनन्।
सरसफाइमा संलग्न विद्यार्थी सागर थापामगरले यसअघि पनि यस्ता कार्यक्रमहरूमा सहभागी भएको अनुभव सुनाए। ‘यो मेरो दोस्रो अनुभव हो। यसअघि भक्तपुरकै प्रसिद्ध सिद्धपोखरी सरसफाइमा पनि सहभागी भएको थिएँ,’ उनले भने।
सूर्यविनायक नगरपालिकाले पिकनिक स्थलमा फोहोर संकलनका लागि विशेष खाल्डो तथा डस्टबिनको व्यवस्था गरेको छ। तर पनि सर्वसाधारणले जथाभाबी फोहोर फाल्ने प्रवृत्ति कायम रहेकाले सफाइको आवश्यकता निरन्तर महसुस भइरहेको छ।
विद्यार्थीहरूलाई सरसफाइ अभियानमा संलग्न गराउनुको उद्देश्य पनि समाजमा सफाइप्रति सचेतना जगाउनु रहेको स्काउट मास्टर पवनकुमार वल्ल बताउँछन्।
उनका अनुसार विद्यार्थीलाई अभियानमा सहभागी गराउनु अघि विद्यालय टोलीले मंगलबार नै क्षेत्रको निरीक्षण गरेको थियो। ‘यो स्थान स्वच्छ रहनुपर्छ भन्ने सन्देश विद्यार्थीमार्फत आम सर्वसाधारणलाई दिन खोजिएको हो,’ वल्लले भने।
विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीहरूलाई सानैदेखि नै सामाजिक उत्तरदायित्वबारे सचेत गराउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको बताए।
भक्तपुरको सूर्यविनायक बस स्टपबाट करिब २ किलोमिटर दक्षिण अवस्थित मन्थली डाँडा पिकनिक स्थल प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो। सूर्यविनायक बस स्टपबाट १ किलोमिटर दक्षिण पुगेपछि प्रसिद्ध गणेश मन्दिर, त्यसपछि जङ्गलको बिचबाट पिच रोड हुँदै गुण्डू पुग्नुपर्छ। कार्की गाउँ नपुग्दै मन्थली डाँडा पिकनिक स्थल अवस्थित छ।
प्रकाशित: २३ माघ २०८१ २०:४९ बुधबार





