सिजनमा एकपटक पनि हिउँ नपरेपछि सुख्खा भएको क्षेत्रमा डढेलो लाग्दा हिमालपारिको क्षेत्र मनाङको वन क्षेत्रमा ठुलो क्षति भएको छ। चारदिनदेखि वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। स्थानीय, सुरक्षाकर्मी, डिभिजन वन कार्यालय, स्थानीय प्रशासन डढेलो नियन्त्रणका लागि जुटेको भएपनि सहज नभएको उनीहरुले बताएका छन्।
डिभिजन वन कार्यालय मनाङका वन अधिकृत अरुण पराजुलीका अनुसार चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शनिबार बेलुकी डढेलो सल्केको थियो। तिमाङ बस्तीको सिरान क्षेत्रमा आगलागी भएकोले अहिलेका लागि बस्तीमा जोखिम नरहेको उनले बताए। तर, वनमा लागेको आगो फैलने क्रम तिब्र रहेको पराजुलीले बताए।
‘सल्लोको जंगल हो । यो सिजनमा अहिलेसम्म एकपटक पनि हिउँ परेको छैन। त्यसले गर्दा सुख्खा भएको वनमा आगो सल्कन सहज भएको हो,’ उनले भने, ‘हावाको गति तिब्र रहेकोले तत्कालै आगो नियन्त्रणमा आउने सम्भावना पनि कम रहेको छ, हावाको गतिसँगै आगो पनि फैलिएको छ।’
उनका अनुसार चारदिन अवधिमा वनको करिब दुइहेक्टर क्षेत्रफल जलिसकेको छ। डढेलो लागेको राष्ट्रिय वन क्षेत्र हो, जुन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ।
‘अहिलेका लागि बस्तीमा जोखिम त छैन । तर, आगोको धुँवा सर्वत्र फैलिएको छ। आगो लागेको जंगलको पुछारमा तिमाङ बस्ती छ,’ उनले भने, ‘सिरान क्षेत्रमा बस्ती रहेको भए बढी जोखिम हुन्थ्यो। तर पुछारमा बस्ती भएकोले तत्काल बस्ती जोखिममा छैन।’ हिउँ नपर्दा सुख्खा भएको क्षेत्रमा आगो लागेकोले सावधानी अपनाउन जरुरी रहेको उनले सुनाए। ‘सावधानी त अपनाएका छौं। बस्तीमा आउन त दिनु भएन। सकेसम्म वन क्षेत्रको आगो निभाउने प्रयास त गरेका छौ। तर सहज छैन,’ उनले भने, ‘जंगलमा गएर मान्छेले निभाउने प्रयास सम्भव छैन।’
पराजुलीका अनुसार करिब २८ सय मिटर माथिको उक्त क्षेत्रमा डढेलो फैलिएको छ। वनमा कसले डढेलो लगाएको भन्ने यकिन जानकारी नभएको उनले बताए। वन्यजन्तु, बहुमुल्य जडिबुटी, रुख विरुवा नोक्सान भएको पनि उनले बताए। ‘यो सिजनमा एकपटक पनि हिउँ परेन। त्यसैले बिहान साँझ चिसो भएपनि दिउँसोको तापक्रम बढेको छ। वन क्षेत्रमा पनि पुरै घास सुकेको छ। त्यसैले आगो फैलिन सहज बनेको छ,’ पराजुलीले भने, ‘हावा पनि चलेकोले अगाोको फैलिने गति तिब्र छ। धुँवाको मुस्लोले तिमाङ क्षेत्र नै ढाकिएको छ।‘
चामे गाउँपालिका–१ का अध्यक्ष खड्कजंग गुरुङले पनि वनमा लागेको डढेलो नियन्त्रणबाहिर रहेको बताए। ‘तत्काल बस्तीमा त आगो आउँदैन। तर, यस्तै अवस्था रहिरह्यो भने भन्न सकिन्न। त्यसैले सचेत त हुनैपर्छ,’ उनले भने, ‘आगोको तिब्रता अझै बढ्दो छ।’ उनका अनुसार मंगलबार बिहानको समयमा आगो निभाउनका लागि सुरक्षाकर्मी, स्थानीय सहितको टोली परिचालित भएपनि फैलदो आगो नियन्त्रणमा आउने सम्भावना नभएपछि टोली फर्केको थियो।
‘भीरमा आगो लागेको छ। भीर भएकोले जान सक्ने सम्भावना छैन। बस्तीमा आगो आउन नपाओस भनेर अग्नीरेखा बनाएका छौ। तर, हावा चलेकोले त्रास पनि छ,’ उनले भने, ‘कसले आगो लगाएको भन्ने यकिन छैन।’
अहिले आगो लागेको क्षेत्र हिउँ पर्ने ठाउँ हो। तर, यो सिजनमा एकपटक पनि हिउँ नपरेकोले सबैतिर सुख्खा छ। त्यही सुख्खा भएकोलो पनि आगो फैलिन सहज भएको उनले बताए। तिब्रगतिमा हावा चलेकोले पनि आगो सल्कने क्रम अझै बढेको उनले बताए।
‘अघिल्ला वर्ष यो बेलासम्म ४–५ पटक हिउँ परिसक्थ्यो। हिउँ परेपछि चिसो हुने भएकोले हत्तपत्ति आगो सल्कदैनथ्यो। तर, यो सिजनमा अहिलेसम्म एकपटक पनि हिउँ परको छैन। बरु, गर्मी बढिसकेको छ। भएको चिसो पनि सुख्खा भईसक्यो,’ उनले भने, ‘जमिन सुख्खा भएकोले आगो फैलन सहज भएको छ।’
हिमाली जिल्ला मनाङमा पछिल्ला केहीवर्षदेखि वनजंगलमा नियमित जसो आगलागी हुने गरेको छ। २०७७ मा चामे गाउँपालिका–२ थानचोकको वन क्षेत्रमा भीषण आगलागी भएको थियो। त्यही वर्ष नासोँ गाउँपालिकाको ताचैमा पनि भीषण डढेलो लागेको थियो। पोहोर पनि मनाङका विभिन्न वन क्षेत्रमा आगलागी भएको थियो।
प्रकाशित: २२ माघ २०८१ १६:०३ मंगलबार





