मानव दिमाग निकै तेज छ भन्ने मानिन्छ तर हालै गरिएको एउटा शोधले हाम्रो मस्तिष्कको गति १० बिट्स प्रतिसेकेन्ड मात्र छ। यो गति अहिलेको कम्प्युटर र स्मार्टफोनको तुलनामा केही पनि होइन तर पनि मानिसको दिमाग सारा तीव्र कम्प्युटरभन्दा उम्दा किन छ त?
हुन पनि हाम्रो दिमागमा एकै पटक दर्जनौं कुरा एकसाथ चलिरहेको हुन्छ। यसका कारण मानिसको व्यवहार निकै तीव्र र प्रभावकारी देखिन्छ। किबोर्डमा टाइपिङ गर्दा त बिजुली गतिमा काम भइरहेको हो कि जस्तो पनि देखिन्छ तर शोधले हाम्रो दिमाग मात्र प्रतिसेकेन्ड १० बिट्सको गतिले प्राप्त जानकारीलाई विश्लेषण वा प्रोसेस गरिरहेको हुन्छ।
शोधकर्ता जेङ र माइस्टर भन्छन्, मानिसको इन्द्रियहरू हरेक समय निकै धेरै तथ्यांकहरू भेला पार्छन्। हाम्रा आँखा, कान र छालाबाट प्राप्त जानकारी हरेक सेकेन्ड लगभग एक अर्ब बिट्सको दरले दिमागसम्म पुग्ने गर्छ। तर उक्त जानकारीलाई विश्लेषण गर्न र निर्णय लिनका लागि दिमागले निकै लामो समय लगाउँछ।
यो सुस्त गति त्यो बेला पनि भइरहेको हुन्छ, जुन बेला हामीले तीव्र गतिमा काम गरिरहेका हुन्छौँ। मानौं, हामी कुनै भिडियो गेम खेलिरहेका छौँ। त्यो बेला त हामीले तीव्र गतिमा निर्णय गरिरहनु पर्ने हुन्छ। त्यो बेला हाम्रो दिमागको विश्लेषण गति १० बिट्स प्रतिसेकेन्ड लगभग हुन्छ।
हाम्रो मस्तिष्कका दुई भागले बेग्लाबेग्लै तरिकाले काम गरिरहेका हुन्छन्। बाहिरी दिमागले तीव्र र ठूलो मात्रामा तथ्यांक विश्लेषण गर्ने गर्छ। अर्को भाग भित्री दिमाग हो। यो डेटालाई छाँटकाँट गरेर जरुरी अंगमा मात्र ध्यान केन्द्रित गर्छ। शोधपत्रमा वैज्ञानिकहरूले रेटिनाको उदाहरण दिएका छन्।
हाम्रो आँखा शुरुवातमा निकै धेरै तथ्यांक विश्लेषण गर्छ तर पछि यो तथ्यांक बिस्तारै छँटनीमा पर्न थाल्छ ताकि निकै जरुरी जानकारीहरू मात्र हाम्रा निर्णयका अंग बनून्। यसपछि अनावश्यक डेटठालाई हाम्रो मस्तिष्कले सफा गरिरहन्छ ताकि अनावश्यक डेटा हटून्।
शोधकर्ताहरू भन्छन्, हाम्रो दिमागले तीव्र प्रोसेसिङ गर्छ भन्ने भ्रमको मुख्य कारण कुनै खेल खेल्दा माउसलाई बढी चलाइरहेका हुन्छन्। जति बढी माउस या किबोर्ड चल्छ, त्यसैका आधारमा हामीले निर्णय लिएको ठान्छौं तर जति तीव्र गतिमा माउस कुदाए पनि वा टाइप गरिए पनि त्यही १० बिट्स प्रतिसेकेन्डका दरमा काम भइरहेको हुन्छ।
हाम्रो दिमागमा अर्बौंको संख्यामा तन्त्रकोषिकाहरू छन्। तिनैले हाम्रा तथ्यांक विश्लेषण गर्छन्। र पनि, तिनको गति कम किन भएको होला ? वैज्ञानिकहरू भन्छन्, ‘हाम्रो आन्तरिक संरचना नै लचिलो र सटीक निर्णय लिनेमा जोड दिन्छ। हाम्रा इन्द्रियहरूले समानान्तर तरिकाले तथ्यांक विश्लेषण गर्छन् तर हाम्रो विचार र निर्णय जस्ता कुरा एउटा क्रममा मात्र चल्दछ। यही क्रमका कारण हामी कम्प्युटरको तुलनामा सुस्त भएका हौं।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २१ माघ २०८१ ०८:४२ सोमबार





