२५ फाल्गुन २०८१ आइतबार
image/svg+xml १०:८ पूर्वाह्न
समाज

‘नेपालका कपास र चियामा विषादी प्रयोग बढी’

नेपालमा कपास र चियामा विषादीको बढी प्रयोग हुने गरेको एक अध्ययनले देखाएको छ। एकटा साइन्स एग्रिकल्चरको रिपोर्ट अनुसार अन्य बालीमा भन्दा कपास र चियामा किसानले बढी विषादी प्रयोग गरेको पाइएको हो।

कपासमा किसानले प्रतिहेक्टर दुई हजार पाँच सय ६० ग्राम विषादी प्रयोग गर्ने गरेका छन्। त्यस्तै चियामा प्रतिहेक्टर दुई हजार एक सय ग्राम विषादी प्रयोग गर्ने गरेको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईले बताए।

नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै उत्पादन झापा र इलाम जिल्लामा हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको एउटा तथ्यांकले देखाउँछ। त्यहाँ किसानले इमामेक्टिन बेन्जोएट, इमिडा क्लोरोपिड, छाया मेथोक्जाम जस्ता विषादी प्रयोग गर्ने गरेको अम्गाईले बताए।

तरकारीमा पनि विषादी प्रयोग बढ्दो अवस्थामा देखिएको छ। अम्गाईका अनुसार सर्लाही, काभ्रे, धादिङ, मकवानपुर, चितवन तथा व्यावसायिक खेती हुने जिल्लामा तरकारी खेती गर्ने किसानले प्रतिहेक्टर एक हजार ६ सय ग्राम विषादी प्रयोग गर्ने गरेका छन्।

‘पहाडी र उच्च पहाडी क्षेत्रका किसानले विषादी त्यस्तो प्रयोग गर्दैनन्, तर बजारनजिकका क्षेत्रमा व्यापक प्रयोग भएको पाइन्छ’, चितवनमा भएको विषादी प्रयोग, यसको असर तथा व्यवस्थापन कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अम्गाईले भने, ‘प्रतिहेक्टर तीन सय ९६ ग्राम विषादी प्रयोग भइरहेको छ।’

बाली विशेष हेर्दा कपास, चिया र तरकारीमा विषादी बढी प्रयोग भइरहेको उनले बताए। नेपालमा व्यावसायिक रूपमा लगाइएको तरकारीमा ८५ प्रतिशत विषादी प्रयोग हुने उनले बताए।

नेपालमा विषादी आयातको अवस्था पनि डरलाग्दो रहेको उनले तथ्यांक पेस गरे। नेपालमा सन् २०२२/२०२३ मा एक हजार एक सय ८३ दशमलव ७४ टन विषादी आयात भएको उनले बताए। यो तथ्यांक सन् २०२०–२०२१ को भन्दा ४०० दशमलव ५४ टनले बढी हो। सो वर्ष ७६३ दशमलव १९ टन विषादी आयात भएको थियो।

नेपालमा विषादी प्रयोगको मात्रा प्रत्येक वर्ष बढिरहेको छ। सन् २०१३÷२०१४ मा नेपालमा ४५४ टन मात्र विषादी आयात भएको थियो। १० वर्षको अवधिमा आइपुग्दा तेब्बरले बढेर करिब एक हजार दुई सय टन विषादी आयात भएको उनले बताए।

गत आर्थिक वर्षमा मात्रै एक अर्ब ६९ करोड ६३ लाख रूपैयाँको विषादी आयात भएको छ। यो रकम वैधानिक रूपमा आयात भएको परिमाणको हो। विषादी कीटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक, झारनाशक, शंखेकीरानाशक, मुसानाशक र जैविक विषादी आयात भएको छ।

नेपालमा विषादीको मात्रा मापनका लागि प्रयोगशाला नहुँदा पनि मानव स्वास्थ्यलाई नोक्सान भइरहेको छ। नेपालमा भित्रिने नौ समुहका विषादीमध्ये दुई समुहको मात्र जाँच सम्भव रहेको छ। देशभर पूर्वाधार द्रूत प्रयोगशाला ७ र १ केन्द्रीय प्रयोगशाला रहेको छ।

विषादीले मानव स्वास्थ्यसँगै पशुको स्वास्थ्य तथा पर्यावरण र वातावरणमा समेत असर पारिरहेको उनले बताए। अत्यधिक विषादीका कारण बालीमा नोक्सान पुग्दै आएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताइन्। विषादीकै कारण पूर्वी चितवनको राप्तीका केही किसानले लगाएको काउली र बन्दामा रोगसमेत देखा परेको थियो।

विषादीका कारण परागसेचन घट्ने भएकाले खाद्य असुरक्षाका साथै पोषणमा कमी आउने अम्गाईको विश्लेषण छ। ‘परागसेचनले वातावरणको आध्य शृंखला र खाध्य चक्रमा भएका जीवका प्रजाति नष्ट गर्छ’, उनले भने, ‘जीवहरू नष्ट भइसकेपछि जैविक विविधतामा असर परेर उत्पादन घट्छ।’

उनका अनुसार विषादीका कारण हजारौं माछा र ६७ मिलियन चरा प्रति वर्ष मर्ने गरेका छन्। विश्वमा बर्सेनि करिब २६ मिलियन मानिसमा विषादीले असर गर्ने गरेको उनले बताए।

विषादी मुख आँखा र छालाबाट शरिरभित्र पस्ने भएकाले सन्तान उत्पादन क्षमतामा कमी, मुटु, नशा, श्वासप्रश्वास, पेटसम्बन्धी रोग तथा क्यान्सर जस्ता रोग लाग्ने सम्भावना भएको उनले बताए।

प्रकाशित: २० माघ २०८१ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App