१० माघ २०८१ बिहीबार
image/svg+xml
समाज

जेन जी झनै अल्छी

यस्ताे पनि!

अचेलका केटाकेटी कामै नलाग्ने भए भन्ने वाक्य कहीँ न कहीँ, कतै न कतै सुन्नुभएको हुन सक्छ। यो वाक्यले नयाँ पुस्ताप्रति पुरानो पुस्ताको दिक्क झल्काउँछ।

यो नेपालको मात्र समस्या होइन। बेलायतका नयाँ पुस्ता पनि ‘कामै नलाग्ने’ हुन थालेको द डेली टेलिग्राफले जनाएको छ।

जेन जी भनेर चिनिने पुस्ताले उनीहरूभन्दा पुरानो पुस्ताभन्दा बढी अल्छ्याहाको परिचय थपेका छन्। जेन जी पुस्ता भनेको अहिले ११ देखि २७ वर्ष उमेर समूहको हो। यसको उदाहरण दिँदै अखबारले लेखेको छ,  ‘जेन जीले सामान्य घरको काम पनि गर्न सक्तैन। उसले आफूले गर्न सक्ने कामका लागि पनि अरूलाई बोलाउँछ र त्यसबापत वार्षिक १३ सय पाउन्ड अर्थात् करिब दुई लाख २० हजार रूपैयाँ तिर्नुपर्छ।

कस्ता कामका लागि उनीहरूले यत्तिका पैसा तिर्छन् त ? अखबार भन्छ–बिजुलीको बल्ब फेर्न जस्ता सामान्य कामका लागि उनीहरूले यत्तिका पैसा खर्च गर्छन्। किन उनीहरूले यत्तिका पैसा तिर्छन् त ? एउटा अध्ययनले देखाएअनुसार, जेन जीका लागि कुर्सीमा उभिएर बल्ब फेर्नु वा ल्याडर (सिँढी) चढ्नु अथवा बल्ब फेर्दा अत्यधिक तातोले पोल्ने डरका कारण उनीहरूले त्यही कामका लागि अरूलाई पैसा तिर्न राजी हुने गरेका छन्।

कुनै बेला बेलायतीहरू ‘डू इट योरसेल्फ’मा विश्वास गर्ने देश थियो। अहिले यस्ता काम गर्नुभन्दा पैसा तिरेर अरूलाई लगाउनुमा आनन्द मान्छ। कतिलाई त स्क्रू ड्राइभर कताबाट घुमाउने भन्ने सामान्य जानकारीसमेत हुँदैन।

अध्ययनमा १८ वर्षमाथिका युवालाई मात्र सर्भेमा सहभागी गराइएको थियो। दुई हजारभन्दा बढी जेन जी वयस्कहरूले शोधमा सहभागिता जनाएका थिए। तीमध्ये कारको टायरमा कसरी हावा भर्नेदेखि पेट्रोल स्टेसनमा कसरी पेट्रोल हाल्ने भन्ने सामान्य जानकारी समेत राख्दैनन्।

कुनै समस्या आइपरे कि त मेकानिक कि त बाउआमाको सहयोग लिने गरेको जेन जीले प्रतिक्रिया दिएका थिए। रोचक त के छ भने, कुनै तस्बीर झुण्ड्याउनुपर्‍यो भने पनि उनीहरू व्यावसायिक व्यक्तिहरूबाट झुण्ड्याई माग्ने जेन जी ११ प्रतिशत छन्।

यस्ता सामान्य कामका लागि यो पुस्ताले वर्षको १३ सय पाउन्ड (दुई लाख २० हजारभन्दा बढी) खर्च गर्न आफूहरू तयार रहेको बताएका छन्। यस्तै जेन जीभन्दा केही पुरानो पुस्ता जेन एक्स (४४–५९ वर्ष उमेर समूह) ३८६ पाउन्ड तिर्न राजी छन् भने ६०–७८ वर्ष उमेर समूहका बेबी बूमर्सहरूले त्यही कामका लागि बढीमा २५३ मात्र तिर्ने गरेको अध्ययनमा देखिएको छ। ३० प्रतिशतभन्दा बढी नयाँ पुस्ताले त स्क्रू ड्राइभर र अन्य पेचकसबीच फरक छुट्याउन समेत नसकेको अध्ययनले देखाएको छ। 

प्रकाशित: २ माघ २०८१ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App