१० माघ २०८१ बिहीबार
image/svg+xml
खेल

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।

कतार फेन्सिङ फेडेरेसनको आयोजनामा आगामी २४ देखि २६ जनवरीसम्म कतारको दोहामा ग्रान्ड प्रिक्स डु फेन्सिङ हुँदै छ।

उक्त प्रतियोगितामा नेपालबाट भीष्मराज र सागरले प्रतिस्पर्धा गर्न लागेका हुन्। भीष्मराज र सागरले इपी इन्डिभिजुअल विधातर्फ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा करिब ४३ राष्ट्रका २४७ खेलाडीको चुनौती रहनेछ। दुवै खेलाडी बुधबार नै कतार प्रस्थान गरिसकेका छन्। उनीहरूलाई लायन्स क्लब काठमाडौं साया र लियो क्लब अफ काठमाडौं सायाले बिदाइ गरेका थिए।

लायन्स क्लब काठमाडौं सायाका अध्यक्ष रुकृत दाहाल, जोन चेयरपर्सन विकास श्रेष्ठ र संस्थापक अध्यक्ष सपना पाण्डेलगायतले बिदाइ गरेका हुन्।

यसअघि नेपाल फेन्सिङ संघले पनि सहभागी खेलाडीलाई बिदाइ गरेको थियो। नेपाली खेलाडीको कतारमा प्रतियोगिता खेल्नका लागि एनआरएनए एनसिसी कतार, रमेश भट्ट, महेन्द्रप्रसाद चम्लगाइँ, राजेन्द्रकुमार शर्मा र नरेन्द्रबहादुर भट्टलगायतले व्यवस्थापन गरेका छन्।

विश्व वरीयता सुधारका लागि महत्त्वपूर्ण मानिएको यो ग्रान्ड पिक्सलाई ओलम्पिक छनोटको प्रारम्भिक आधारका रूपमा समेत हेरिएको छ। सागर नेपाल एपिएफका हुन्। बागमती प्रदेशका भीष्मराजले सन् २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए।

सागरले सन् २०१९ मा नेपालमा भएको १३औं सागमा प्रतिस्पर्धा गरेका थिए। उनको प्रशिक्षणमा नेपालले पहिलोपल्ट २०१४ मा दक्षिण कोरियामा भएको १७औं एसियाली गेम्समा पनि प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: ९ माघ २०८१ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App