कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन्। बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैंमाथि गोली चलाएका हुन्।
प्रहरी जवान विष्टले राति करिब साढे ८ बजेको समयमा ड्युटीमा खटिँदा आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, डिएसपी उमेश जोशीले जानकारी दिए। गोली उनको दाहिने कानभन्दा माथि टाउकोमा लागेको छ।
गोली लागेका विष्टलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। डिएसपी जोशीका अनुसार विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
झन्डै एक महिना अघि कञ्चनपुरकै जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए। उनी उपचारपछि अहिले घरमै आराम गरिरहेका छन्।
प्रकाशित: ९ माघ २०८१ २१:५७ बुधबार