नेपालकै सबैभन्दा लामो समयसम्म सञ्चालन हुने भक्तपुरको प्रख्यात नवदुर्गा ङालाकेगु नाच भोलि (बुधबार) देखि सूर्यमढी टोलबाट सुरु हुँदैछ।
भक्तपुर नगरपालिका–९ को सूर्यमढीमा हुने यो नाच भक्तपुर मात्र नभई काठमाडौं र काभ्रे जिल्लामा समेत आठ महिनासम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।
देवगणका सदस्य नारायणमान बनमालाका अनुसार, नाचमा १९ जना देवगण हुन्छन्, जसमध्ये १२ जनाले विशेष मुकुण्डो लगाएर भैरव, महाकाली, बाराही, गणेश, ब्रह्मयाणी, कुमारी, महेश्वरी, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवलगायतका देवताका रूपमा नृत्य प्रदर्शन गर्छन्। नाचका क्रममा देवगणले बाजा समेत बजाउने परम्परा रहेको छ।
मल्लकालीन समयमा सुरु भएको यो नाचलाई स्थानीय भाषामा ‘ङालाकेगु’ भनिन्छ, जसको अर्थ ‘माछा मार्ने’ भए पनि नृत्यसँग माछा मार्ने कुनै सम्बन्ध छैन। मुकुण्डो लगाएका देवगणहरूले दर्शकलाई जिस्क्याउन खोज्ने भक्तालुलाई समात्न प्रयास गर्छन्। समातिएमा भेटी दिनुपर्ने चलन छ।
यस नाचलाई भक्तपुर नगरभित्रका सूर्यमढी, दत्तात्रय, इनाचो, गहिटीँ, खौमा, दरबार स्क्वायरलगायतका २१ स्थानमा फरक-फरक दिनमा प्रदर्शन गरिन्छ। भक्तपुरबाहेक मध्यपुर थिमि, चाँगुनारायण, टोखा, साँगा, नाला, धुलिखेललगायतका स्थानमा समेत यो नाच देखाइन्छ।
प्रत्येक टोलमा प्रदर्शन अघि अघिल्लो राति सम्पूर्ण देवगण जात्रास्थलमा जम्मा भएर रातभर नृत्य गर्ने परम्परा छ। मुख्य दिनमा बिहान बाराही प्याखं, दिउँसो महाकाली प्याखं, साँझ श्वेत भैरवको गा तोकेगु प्याखं लगायतका नाच प्रदर्शन हुन्छन्।
इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, यो नाचको थालनी भक्तपुरका राजा भुवन मल्लले नेपाल संवत् ६३३ (ई.स. १५१३) मा अनिकाल निवारणका लागि गरेका थिए।
नवदुर्गा नाच सञ्चालन गर्ने मुख्य मन्दिर भक्तपुर नगरपालिका–९ गछेँमा रहेको छ, र यसको व्यवस्थापन नेवार समुदायको बनमाला जातिबाट हुन्छ।
प्रकाशित: १ माघ २०८१ १९:०७ मंगलबार