२९ पुस २०८१ सोमबार
image/svg+xml
समाज

कार्यालय नगएका लेखापालको महिनैपिच्छे हाजिर !

दुई महिनादेखि कार्यालयमा नभएका नापी कार्यालय कालीकोटका सहलेखापाल नन्दबहादुर शाहीले कार्यालयमा महिनैपिच्छे हाजिर लगाएको पाइएको छ। मंसिरदेखि काठमाडौंमा अध्ययनरत शाहीले कार्यालयमा हाजिर गरेको तथ्य फेला परेको हो।

उनले काठमाडौं बसेर कार्यालयको कामसमेत गरेको देखिन्छ। उनले कार्यालयमा बिदा नलेखी महिनाको एक दिन एकैपटक हाजिर गरेर बाहिर बस्ने गरेको कार्यालयका एक कर्मचारीले बताए।

उनी विगत दुई महिनादेखि काठमाडौंमा बसेको सूचनाका आधारमा नागरिक दैनिकको टिम नापी कार्यालय कालीकोट पुग्दा यस्तो रहस्य पत्ता लागेको हो।

उनले तीनपटक बिदा लगेको तर कुनै पनि निवेदन पेस नभएको पाइएको छ। नापी कार्यालय कालीकोटका सूचना अधिकारी पुनम विश्वकर्माका अनुसार सहलेखापाल शाहीको कार्यालयमा खासै काम नभएकाले पनि धेरै बाहिर बस्ने गर्छन्।

उनले कार्यालयमा एकैपटक हाजिर गरी बाहिरबाट तलब खुवाउने गरेका छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाराईले हाजिर नै नगरी तलब भत्ता खुवाउन नमिल्ने बताए। उनले अहिले पनि बाहिर बसेको अवस्थामा हाजिर गरेको पाइएमा अनुसन्धान गर्ने बताए।

उनी मात्र हैन, कालीकोटको हुलाक कार्यालय, निर्वाचन कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मालपोत कार्यालय तथा कृषि विकास कार्यालय, डिभिजन वन कार्यालय, पशु सेवा कार्यालय, सामाजिक विकास कार्यालयलगायतका कार्यालयमा समयमै लेखापाल तथा अन्य जिम्मेवार कर्मचारी भेट्न मुस्लिम हुने गरेको छ।

विभिन्न बहानामा कार्यालयमा नबसी संघ, प्रदेश र स्थानीय तहमातहतका कर्मचारीले धेरैजसो बाहिर बस्ने गरेको पाइएको छ। कार्यालयमा काम नगरी विभिन्न बहानामा बाहिर बसी हाजिर गर्दा, बिदा नलेखी बिदामा बसी समय बिताउँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको पाइन्छ।

विगतका वर्षमा पनि कार्यालयमा नबसेर विभिन्न प्रयोजनका लागि बिदा माग्ने प्रचलन अहिले पनि कायमै रहेको देख्न पाहिएको युवा नेता हिक्मतजंग मल्लले बताए।

प्रकाशित: २८ पुस २०८१ २०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App