२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

पृथ्वीनारायणको योगदानले नै नेपाली पहिचान स्थापित

इटहरीमा ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै। तस्बिर: नागरिक

उता अंग्रेज शासकहरू नेपाल प्रवेश गर्ने दाउमा थिए। यता बाइसे तथा चौबीसे राज्यहरू झैझगडा, आपसी लडाइँ, कलह र विवादमा फसेका थिए। नेपालको बिग्रँदो त्यस अवस्थामा ससाना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा एकीकरण दिवस शनिबार इटहरीमा मनाइएको छ।

सम्पूर्ण जातजाति, धर्म–संस्कृति र क्षेत्रका वासिन्दाबीच एकत्रित हुनुपर्ने सन्देश दिनका लागि तेह्र वर्षदेखि इटहरीमा राष्ट्रिय एकताकर्ता पृथ्वीनारायणको जन्मजयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाउने गरिएको छ।

पृथ्वीनारायणले नेपाल एकीकरण गर्नुपूर्व कर्णाली प्रदेश र त्यसदेखि पश्चिममा २२ वटा राज्य, गण्डकी प्रदेश र त्यसवरपरका क्षेत्रमा २४ वटा, उपत्यकाभित्र तीनवटा तथा गोरखा एवम् मुस्ताङ पनि छुट्टै राज्य थिए।

यी राज्य एकआपसमा लडिरहन्थे, तर पृथ्वीनारायण जनताका सुझावअनुसार योजना बनाएर सधैं राष्ट्रभक्त सिपाही झैं युद्ध मैदानमा लडिरहे। अन्ततः नेपाल एकीकरण गर्न सफल भए। पृथ्वीनारायणले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित भएकाले बर्सेनि इटहरीमा पृथ्वी जयन्ती मनाउने गरिएको आयोजक समितिका संयोजक भोलाकाजी बस्नेतले बताए।

कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख एवं प्रा.डा. गोविन्द तुम्बाहाङले देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था कमजोर भएको अवस्थामा पृथ्वीनारायणले एकीकरण नगरेको भए एक स्वतन्त्र देशको नागरिक नेपाली भएर बाँच्न पाउने अवस्था नहुने बताए।

उनले पृथ्वीनारायण लोकतान्त्रिक आचरण भएका व्यक्ति भएकैले नेपाल एकीकरण गरी नेपालीबीचको एकता अहिलेको अवस्थामा आइपुगेको बताए। पूर्वमन्त्री रामकुमार सुब्बा, डा. बद्रीविशाल पोखरेल लगायतले बोलेका थिए।

कार्यक्रममा पृथ्वीनारायणले देश र जनताका निम्ति छाडेर गएका दिव्योपदेश पनि वाचन गरेर सुनाइएको थियो। कार्यक्रमअघि इटहरीको चौरास्त बजारमा ¥याली परिक्रमा गरिएको थियो। यसैबीच पृथ्वीनारायणको योगदानका विषयमा यसअघि इटहरीमा विद्यालयस्तरीय र कलेजस्तरीय वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो।

प्रकाशित: २८ पुस २०८१ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App