२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

पूर्वी चितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा

पूर्वी चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ। बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरूमा गणना गरिएको थियो।

सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन्। जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यस पटक भेटिएका छन्। बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ बासु विडारीका अनुसार, यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन्। गत वर्ष भेटिएका सबै प्रजातिका चराहरू यसपालि पनि भेटिएको उनले सुनाए। गत वर्ष ५३ प्रजातिका चराहरू देखिएका थिए।

यस वर्ष लोथरदेखि दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) देखि सौराहाघाट, सौराहाघाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिस हजारी र यससँग सम्बन्धित तालहरू भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताल लगायत पूर्वी चितवनको सिमसारहरुमा गरिएको थियो।

विडारीले दुई दिन भएको गणनामा ७ हजार १५० चराहरू समावेश भएको जानकारी दिए। तीमध्ये ४ हजार १०७ चखेवा चखेवी रहेको उनले बताए। अघिल्लो वर्ष ७ हजार ५१७ चराहरू समावेश भएका थिए। अघिल्लो वर्षभन्दा चखेवा चखेवीको संख्या घटेको हो। अघिल्लो वर्ष ४ हजार ३०४ भेटिएको उनले बताए।

सौराहाघाटदेखि कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन्। त्यस्तै, लोथरदेखि जिन्दगानी घाटसम्म २, जिन्दगानी घाटदेखि सौराहाघाटसम्म २५, विसहजारी तालमा ३०, बढुराप्तीमा २६, ढुंगरे खोला २४ मत्यविकास केन्द्रमा १८, लामितालमा १६, पटना तालमा १२ र तमोरतालमा ४ प्रजातिका चराहरू भेटिएको उनले बताए। ७ हजार १५० चरा समावेश हुँदा पानी हाँस मात्र ४ हजार १०७ वटा समावेश भएको उनले जनाए। जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन्।

बर्ड एजुकेसन सोसाइटीका पूर्व अध्यक्ष समेत रहेको विडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपंक्षीको संख्या घट्दै गएको बताए।

‘जलेवा चराहरू बढेका छन्। चखेवाको संख्या उस्तै उस्तै छ’–विडारीले भने। प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाई छ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ। नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अङ्ग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ। सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो। चितवनमा ६५२ प्रजाति चरा पाइने उनले बताए। त्यसमध्ये यस वर्ष जिल्लामा १५९ प्रजाति भेटिए। पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले जनाए।

प्रकाशित: २७ पुस २०८१ १९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App