३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

हाकुपटासीमा दिल्लीकी ‘मैचा’

पहिरन

भक्तपुरका प्राचीन सम्पदा र परम्परागत पोसाकले धेरैको मन खिच्ने गर्छ। यहाँ आएपछि सबैलाई एकछिन भक्तपुरे बन्न रहर लाग्छ। यस्तै भक्तपुरे बन्ने रहर भारतको राजधानी नयाँ दिल्लीका एक परिवारमा पनि उब्ज्यो। भक्तपुरका पाटीमा हाकुपटासी लगाएर बस्दै गरेकी आमालाई देखेपछि यो पहिरनले मन खिचेको दिल्लीबाट नेपाल घुम्न आएको गेरा परिवारले बतायो।

‘परम्परागत पहिरनमा सजिएका नेवारी महिलालाई देखेपछि आफूलाई पनि यो पोसाकले लोभ्यायो,’ दिल्ली विकासपुरीकी शिवांगी गेराले भनिन्, ‘हामीले पोसाक भाडामा लिएर आफ्नो रहर पूरा गर्‍यौं।’

आठ वर्षकी भतिजी गीत गेरा र सानी छोरी केन्जी गेरालाई पनि नेवारी पहिरन मन परेको उनले सुनाइन्।

‘मैले लगाउनेबित्तिकै उनीहरूले पनि लगाउने रहर गरे,’ शिवांगी गेराले भनिन्, ‘उनीहरूले लगाउँदा मलाई पनि निकै रमाइलो लाग्यो।’

उक्त पहिरन लगाएर दरबारस्वाक्यर, टौमडीलगायतका स्थान घुमेको र भिडियो तथा फोटो खिचेको उनले सुनाइन्। ‘अन्य मानिसले हामीलाई नेवारी महिला नै ठानेका थिए,’ उनले भनिन्, ‘तर स्थानीय नेवारी महिलाले पनि चिन्थे र मुस्कुराउँथे।’

उनले प्रतिपोसाक दुई घण्टाका लागि तीन सय रूपैयाँमा भाडामा लिएको सुनाइन्। ‘हामीले खासमा दुई घण्टाका लागि लगायौं,’ शिवांगीले भनिन्, ‘तर हाम्रो मानसपटलमा यो पोेसाकको छाप जिन्दगीभर रहने छ।’

उनी मात्र होइन, भक्तपुर आउने अन्यले पनि यहाँको पोसाक लगाएर घुम्ने गरेको पसले सुमन अवालले सुनाए। ‘विदेशीहरूले यहाँको पहिरन लगाएर फोटो खिच्ने तथा रमाउने गरेका छन्,’ उनले भने, ‘यसबाट हामी खुसी भएका छौं।’

भारतीय चिनियाँसँगै युरोपियन देशका महिलाले पनि हाकुपटासी लगाउने गरेको उनले सुनाए।

आधुनिक पहिरनको प्रभाव बढेसँगै भक्तपुरमा परम्परागत हाकुपटासी (कालो फरिया) मा सजिएका नेवारी महिला हत्तपत्त देख्न पाइँदैन। अधिकांश नेवार समुदायका युवती पनि जिन्स टिसर्टमा रमाउन थालेपछि परम्परागत पहिरन जात्रा पर्वमा सीमित हुँदैछ। यस्तो समयमा हाकुपटासीमा पर्यटक सजिनु निकै खुसीको कुरा रहेको उनी बताउँछन्।

केही समयअगाडि हाकुपटासीमा चिटिक्क परेर भक्तपुरका गल्ली घुम्दै गरेकी एक जना ‘गोरी मैचा’ स्थानीय र पर्यटक धेरैको आकर्षणको केन्द्रबिन्दु बनेकी थिइन्। रातो घेरा भएको कालो पहिरनमा रातै घेरायुक्त सेतो सल गलामा बेरेकी युरोपेली राष्ट्र स्विडेनबाट आएकी भूगर्भ विज्ञानकी विद्यार्थी करिन स्कुग्ली भक्तपुर दरबारस्क्वायरस्थित भूपतिन्द्र मल्लको सालिकमुनि उभिँदा मल्लकालीन कुनै राजकुमारीजस्ती लाग्थिन्। हँसिलो मुहारमा कालो चस्मा लगाएकी सुनकेस्री करिन स्थानीय युवा मात्र नभएर वृद्धवृद्धासम्मको आकर्षण बनेकी थिइन्।

दुई साताअघि मात्र नेपाल घुम्न आएकी करिनले राजधानीको इन्द्रचोकस्थित एउटा पसलमा आफूले पहिरेको पोसाक किनेको सुनाइन्। राजधानी, पोखरा र बन्दीपुर घुमेकी उनलाई हाकुपटासी नै सबैभन्दा धेरै मन परेको बताइन्। ‘मलाई यो पोसाक देख्नासाथ मन पर्‍यो,’ उनले त्यति बेला नागरिकसँग भनेकी थिइन्, ‘यही पोसाक लगाएर भक्तपुर घुम्न आएँ।’

पहिलोपल्ट लगाएको हाकुपटासी अलिक असजिलो लागे पनि धेरैले चासो दिएर हेरेपछि भने आफूलाई औधी रमाइलो लागेको उनले फुर्किंदै भनिन्। ‘मेरोजस्तै पोसाक पहिरेका महिलाले समेत चासो दिएर हेरे,’ उनले भनिन्, ‘यो पहिरनमा भक्तपुर घुम्न पाउँदा निकै खुसी लाग्यो।’

हाकुपटासी काठमाडौं उपत्यकाका नेवार समुदायका महिलाले लगाउने कालो सारी हो। नेपाल भाषामा हाकुको अर्थ कालो र पटासीको अर्थ सारी हुन्छ।

प्रकाशित: २७ पुस २०८१ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App