३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

सन् २०२४ सर्वाधिक तातो वर्ष

सन् २०२४ हालसम्मकै सर्वाधिक तातो वर्ष बन्यो। उक्त वर्ष विश्वको औसत तापक्रमले पहिलो पटक १.५ डिग्रीको सीमारेखालाई पार गरेको युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले शुक्रबार जनाएको छ।

सन् २०१५ मा गरिएको जलवायुसम्बन्धी पेरिस सम्झौताले औद्योगीकरण हुनुअघिको तुलनामा यो शताब्दीको अन्तसम्म विश्वको सरदर तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने लक्ष्य लिएको छ।

विश्वका राष्ट्रहरू सोही लक्ष्य हासिल गर्न प्रयासरत रहे पनि गत वर्ष पृथ्वीको तापमान १.६ डिग्रीले बढेको युरोपियन निकायले जनाएको छ। यसरी सन् २०२४ तापक्रमको रेकर्ड राख्न थालेयताको सबैभन्दा तातो वर्ष बनेको छ।

त्यसो त कुनै खास र केही वर्षको सरदर तापक्रम वृद्धिले १.५ डिग्री तापक्रम वृद्धिको सीमारेखा तोड्दा पेरिस सम्झौताको लक्ष्य तोडिएको मान्न सकिँदैन। लगातार केही दशकसम्म यो वृद्धिदर कायम भए मात्र त्यो लक्ष्य तोडिएको मान्न सकिन्छ। पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार जीवाश्म इन्धनको प्रयोगमा उल्लेखनीय कटौती हुन नसक्दा यो लक्ष्य तोडिन सक्ने वैज्ञानिक आकलन छ।

सन् २०२३ को तुलनामा गत वर्षको सरदर तापमान वृद्धि ०.१ डिग्री सेन्टिग्रेडले बढी छ। यसैगरी पछिल्ला १० वर्ष हालसम्मकै सर्वाधिक ताता बनेका छन्। कपर्निकस मात्र होइन, नासालगायत अन्य वैज्ञानिक निकायले पनि शुक्रबार नै तापक्रमका आफ्ना तथ्यांक सार्वजनिक गरेका छन्। यी सबै निकायले सन् २०२४ लाई सर्वाधिक तातो वर्ष रहेको तथ्यलाई पुष्टि गर्ने बिबिसीले जनाएको छ।

‘तापक्रममा देखिएको यो लगातार वृद्धिले हामी १.५ डिग्रीको सीमारेखालाई तोड्ने दिशातर्फ उन्मुख भएको देखिएको छ,’ कपर्निकसकी सहायक निर्देशक समान्था वुर्गेसले भनेकी छिन्। तापक्रम वृद्धिले नयाँ रेकर्ड राख्न थालेको प्रसंग उल्लेख गर्दै आफ्नो नयाँ वर्षको सन्देशमा गत साता संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटेरेसले विश्व जलवायु विघटन (क्लाइमेट ब्रेक डाउन) तर्फ उन्मुख भएको बताएका थिए।

‘हामी विनाशको यो बाटोबाट बाहिरिनुपर्छ। यसका लागि हामीसँग समय छैन,’ उनले भनेका थिए। वैज्ञानिकका अनुसार सानो मात्रामा तापक्रम बढ्दा पनि यसले तातो हावा, भीषण वर्षालगायत विषम मौसमी घटनाको तीव्रता र आवृत्तिलाई बढाउँछ। तापक्रममा भएको यही बढोत्तरीका कारण सन् २०२४ मा पश्चिमी अफ्रिकामा भीषण गर्मी, दक्षिण अमेरिकामा खडेरी, मध्य युरोपमा भीषण वर्षा तथा उत्तर अमेरिका र दक्षिण एसियामा उष्णकटीबन्धीय आँधीले बितण्डा मच्चाएको मानिएको छ।  

प्रकाशित: २७ पुस २०८१ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App