३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

पक्राउ परे सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव

फाइल तस्बिर

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । 

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका अनिललाई प्रहरीले खोजतलास गरिरहेको थियो । त्यस क्रममा बिहीबार बिहान फरार रहेका अनिल आफै जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेर आत्मसमर्पण गरेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ताका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मोरङको रङ्गेली नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले सप्तरीका बौआलाल चौधरीको छोरीलाई एमबिबिएसमा भर्ना गरिदिने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्यसमेत हुन् ।

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बेधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग पोखरेलले एमबिबिएसमा छोरीको नाम निकालिदिने भन्दै विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको उजुरी परेको छ ।

अनिलविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता भइसकेको हुँदा आजै (बिहीबार) अदालतबाट म्याद थप गरिने बताउँदै, डिएसपी जोशीले भने, ‘ठगीसम्बन्धी केही अनुसन्धान सुरु भइसकेको र फरार रहेकाले अनुसन्धान बाँकी रहेको हुँदा अनिल पनि पक्राउ परेकाले थप उनीमाथि अनुसन्धान सुरु हुनेछ ।’ 

सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला सहकारी ठगी आरोपमा फरार रहेकी थिइन् । बुधबार मात्रै कोइराला सिधै अदालतमा हाजिर भइ मोरङ जिल्ला अदालतको आदेशपछि १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन् ।

प्रकाशित: २५ पुस २०८१ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App