३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातकै बेला देखिएन हिमालमा हिउँ

जलवायु परिवर्तनका कारण यस वर्ष कर्णालीका हिमाली जिल्लामा हिमपात कम भएको छ। पहाड तथा तराईमा वर्षा नहुनुका कारण हिमाली क्षेत्रमा पनि हिमपात हुन सकेको छैन। अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ।

हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा हिमाल काला पत्थरजस्तै देखिएका छन्। हिउँले रुझेर यहाँको धुलो हिलाम्मे हुनुपर्ने समय हो तर यस वर्ष कालीकोट, जुम्ला, मुगु डोल्पा र हुम्लामा मौसम प्रतिकूल भएर हिमपात नै नभएपछि उत्पादनमा कमी हुने भन्दै किसान चिन्तित भएका छन्।

कर्णालीका हिमाली भेगमा हिमपात नहुँदा कृषि क्षेत्रमा सिँचाइको अभाव देखिएको छ। पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा उत्पादन वृद्धि हुने गर्दछ भने हिमपात भएन भने सुख्खा लागेर उत्पादन घट्ने गर्दछ।

जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालीकोटको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भारी हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन्। तर यो वर्ष कम मात्रामा हिउँ परेपछि उत्पादनमा कमी आउने देखिएको छ।

प्रायः मंसिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो। कर्णालीका हिमाली भेगमा हिमपात भएपछि जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीय चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मंसिर पहिलो साताभित्रै बेँसी झर्ने गर्दछन्। तर यो वर्ष भने सोचेजस्तो हिमपात नभएको जुम्लाका किसान जगत बुढाले बताए।

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भएकाले ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भन्दै किसान चिन्तित बनेका छन्। ‘यहाँको मुख्य बाली आलु, कोदो र फापर हो। यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ तब मात्र माटो भिज्छ,’ मुगुका किसान अम्मर शाहीले भने।

हिमपात हुनुपर्ने समयमा हिउँ परेन तसर्थ यस वर्ष बाली राम्रो हुने अवस्था नभएको भन्दै उनी गुनासो गर्छन्। उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ। ‘स्याउ फुल्ने भनेको फागुन र चैतमा हो। माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै कम भयो,’ उनले भने  तापक्रम भने निकै घटेर मौसम चिसिएको छायानाथ रारा नगरपालिका मुगुका प्रेमराज विकले बताए।

उनले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात हल्का भएको जानकारी दिए। मुगुमा पनि यो वर्ष दुई पटक हिउँ परेको तर अहिले पग्लिहालेको उनको भनाइ छ।

यो वर्ष हुम्लामा भने तीन पटक हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। ‘विगतका वर्षहरूको तुलनामा यो वर्ष हिउँ कम परेको छ,’ उनले भने, ‘समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो।’

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा परेको स्थानीयको भनाइ छ। हिमपात नभएपछि कालीकोटका हिमाली भेगको हिउँ पग्लिएर गएको छ। हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन्। पछिल्ला वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ।  

मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको स्थानीय बताउँछन्।

जानकारहरूले अहिलेसम्मको परिस्थिति हेर्दा यो साल नेपालका हिमालमा केही वर्षयताकै कम हिउँ देखिएको टिप्पणी गरेका छन्। लामो समयदेखिको तथ्यांक हेर्दा हिमालय क्षेत्रमा हिउँको परिमाण कम हुँदै गएको देखिए पनि वर्षेनी हिउँको मात्रा बढ्ने र घट्ने क्रम जारी रहेको पाइएको छ।

उच्च हिमाली भेगमा हुने हिमपात र तापक्रममा भएको वृद्धिका कारण हिउँ पग्लिने जस्ता अवस्थाले हिमालहरूमा हिउँको परिमाणलाई प्रभाव पार्ने गरेको देखिन्छ।

प्रकाशित: २५ पुस २०८१ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App