उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ जाँतेका केशवकुमार थापा (नायब सुब्बा) ले आफ्नो नियमित सरकारी जागिरको समयबाहेक व्यावसायिक कागती खेतीमार्फत लोभलाग्दो आमदानी गर्दै आएका छन्।
जागिरको अतिरिक्त समयलाई सदुपयोग गर्दै थापाले अहिले कागती खेतीबाट वार्षिक जागिरको आम्दानीभन्दा दोब्बर बढी गर्न सफल भएका छन्।
थापा बिहान झिसमिसेमै उठेर कागती बारीमा पुग्छन्। उनका लागि कागतीका बोटसँग बित्ने ‘मर्निङ वाक’ दैनिकको नियमजस्तै भएको छ। ९ बजेसम्म बारीमा काम गरेपछि मात्रै उनी खाना खाएर वडा कार्यालय पुग्छन्। कार्यालयबाट फर्केपछि पनि उनी पुनः बारीमा समय बिताउँदै रोग किरा नियन्त्रणदेखि मलजल र टिपाइसम्मको काम गर्छन्।
उनको ३६२ बोट कागतीले वार्षिक ८ लाखभन्दा बढी आम्दानी दिन्छ। “जागिरभन्दा बढी कागती बेचेर कमाउँछु,” थापाले गर्वका साथ भने, “गरे के हुँदो रहेनछ र? कागतीको खेतीले जीवन नै परिवर्तन गरिदिएको छ।”
दशक लामो परिश्रमको फल
थापाले १० वर्षअघि करेसाबारीको ८ रोपनी जमिनमा कागती रोप्न सुरु गरेका थिए। सुरुका दुई वर्ष उत्पादन नहुँदा दिक्क भए पनि तेस्रो वर्षदेखि राम्रो आम्दानी हुन थालेको उनी बताउँछन्। “पहिले बजारको समस्या थियो, तर अहिले सडक सञ्जालले समस्या हटाएको छ,” उनले भने।
उनको मुख्य बजार सदरमुकाम गाईघाटदेखि राजधानी काठमाडौंसम्म छ। गाउँघरमा थोरै मात्र बिक्री हुने र उचित मूल्य नपाउने भएपछि थापाले गाईघाटका व्यापारीलाई थोक मूल्यमा कागती बेच्ने गरेका छन्।
थापाको आम्दानीले उनको पाँच छोरीहरूको शिक्षा र पारिवारिक खर्च धान्न ठूलो सहयोग गरेको छ। जेठी छोरीलाई स्नातकसम्मको शिक्षा दिएर विवाह गराएका थापाले कान्छी छोरीलाई कक्षा १२ मा पढाइरहेका छन्। “सुब्बाको जागिरले मात्र यो सम्भव थिएन,” थापाले भने, “कागती बेचेरै सबै खर्च टार्न सकिएको छ।”
विदेश जाने युवाप्रति चिन्ता व्यक्त गर्दै थापाले गाउँमै श्रम, विवेक, र ऊर्जाको सदुपयोग गर्न सुझाव दिए। “महिनाको ४०–५० हजार कमाउन विदेश जानुपर्दैन। गाउँमै बसेर कृषि उद्यम गरे वर्षमा १५–२० लाख कमाउन सकिन्छ,” उनले भने।
थापाका अनुसार कृषि उद्यममा प्रारम्भिक वर्षहरूमा धैर्यता र लगानी आवश्यक पर्छ। “दोस्रो वर्षदेखि लगानी उठ्न थाल्छ र ३–४ वर्षपछि स्थायी आम्दानी दिन्छ,” उनले थपे, “अब त बुढेसकालमा पनि कागतीले साथ दिनेछ, शेषपछि छोराछोरीलाई पनि काम लाग्नेछ।”
थापाले कागती खेतीमा बजारीकरणको समस्या र रोग किरा लाग्दा औषधि उपचार गर्न कठिनाइ रहेको बताए। यद्यपि, परिश्रम र निरन्तरता भए कृषि उद्यमबाट आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ।
प्रकाशित: २० पुस २०८१ १७:४४ शनिबार