राष्ट्रिय पोसाक भन्नेबित्तिकै हाम्रो दिमागमा आउने वस्त्रका नाम भनेका दौरासुरुवाल, ढाकाटोपी, कोट अनि गुन्युचोली हुन्। तर यति मात्रै परिचयले राष्ट्रिय पोसाकको परिचय पूर्ण हुँदैन। नेपालको संविधान २०७२ ले नेपाल बहुलजाति, बहुलभाषी, बहुलसंस्कृति र बहुल–पहिचानले पूर्ण सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा परिभाषित गरेको छ।
हुन त यहाँ विश्लेषण गर्न खोजिएको कुन पोसाक ठुलो वा कुन जातिको पोसाक र पहिचान उच्च हो भन्ने विषय होइन। तापनि बहुलजातिको परिचय खोज्दै जाँदा राष्ट्रको साझा परिचय के हो र के हुनुपर्छ भन्ने विषयमा भने हामी सबै गम्भीर हुनुपर्छ। त्यसो त दौरासुरुवाल, ढाकाटोपी नै राष्ट्रिय पोसाक हो भनेर विगतका संविधानका कुनै धारा, उपधारामा लेखिएको भेटिएको छैन। किनकि इतिहासमा त्यसरी लेखेर नै बुझाउनुपर्ने अवस्था थिएन।
सबैले सम्मानले होस् वा बाध्यताले, दौरासुरुवाल, ढाकाटोपी लगाउने प्रचलन थियो। संस्कार र संस्कृति समयानुसार परिष्कृत हुँदै जाने अमूर्त सम्पदा हुन्। राजाको शासन हुँदा दौरासुरुवाल लगाउन पञ्चहरूको अनुमति लिनुपथ्र्यो भनेर अघिल्लो पुस्ताका अग्रजहरू बताउने गर्छन्। त्यसैकारणले पनि होला, केही व्यक्ति र समुदायलाई आज पनि दौरासुरुवाल र टोपी लगाउनुपर्दा ज्वरो नै आउने गरेको अभिव्यक्ति हामीले बारम्बार सुन्ने गरेका छौं।
हुन त राजाको शासनकालमा मात्र होइन, दौरासुरुवालको गाथा सदियौं वर्ष पुरानो भन्ने अनुमान त हामीले लगाउन सक्छौं तर यति नै वर्ष पुरानो भन्ने लिखित दस्ताबेज नेपालका कुनै पनि पोसाकको भेटिएको छैन। समयअनुसार हजारौं वर्षको निरन्तर परिमार्जनस्वरूप आज हामीले लगाउने पोसाकहरू सिर्जिएका हुन्।
समय अनुसार भाषा, संस्कार, संस्कृति, पोसाकहरू परिवर्तन हुने गरेको भाषाविद् तथा संस्कृतिविद्हरू बताउँछन्। यी सबै अमूर्त सम्पदा हुन जसको आकारप्रकार वा सीमाक्षेत्र यति नै भन्ने हुँदैन। भाषाकै कुरा गर्ने हो भने पनि नेपाली खस भाषा राष्ट्रिय भाषाका रूपमा अनिवार्य गरेको नै राजा महेन्द्रको पालामा हो। दौरासुरुवाल, ढाकाटोपी नेपालीहरूले लगाउने मुख्य पोसाक थियो किनकि आजको जस्तो पैसा र पैसाले किनेर पाउने आजको जस्तो कपडा र बजार थिएन।
पाषाण युगबाट सुरु भएको मानव सभ्यताको विकासको यात्रा दुई चार दशको यात्रा होइन। यो लाखौं वर्षको यात्रा हो। नाङ्गो युगबाट रुखका पात र बोक्राहरूले ढाकेर लाज छोप्न थालियो। मानव सभ्यताको विकासक्रममा जब मानिसहरू समाज बनाउन र समाजमा सामाजिक प्राणीका रूपमा बस्न थाले, तब नै कपडा र लाज ढाक्ने संस्कारको विकास भएको इतिहासले बताउँछ।
यो पृथ्वीमा लाखौं प्रजातिको प्राणी छन् तर मानिस मात्र त्यस्तो प्राणी हो, जसले नाङ्गो हुनुलाई समाजमा लाजसँग जोड्ने गर्छ। शरीरका गुप्ताङ्गहरूलाई लुकाउने संस्कार बनाएकाले नै हो। संसारमा सबै जीवजनावर प्रकृतिले दिएको स्वरूपमा नै जन्मन्छन् र मर्छन पनि। तर, मानव सभ्यताको विकासलाई हेर्ने हो भने ढुंगे युगबाट विकसित हुँदै आजको मोर्डन युगमा मानव विकासले फड्को मारेको छ।
यी सबै कुरालाई मनन गर्दै जाँदा के बुझ्न सकिन्छ भने आजको समयमा पोसाक शरीर ढाक्नका लागि मात्र सीमित नभएर मानव सभ्यताको विकास र मानिसको लज्जासँग पनि जोडिन्छ। पोसाक मानिसको परिचय मात्रमा सीमित छैन, पोसाक मानिसको हैसियत र इज्जतमा पनि गएर जोडिन्छ।
विश्वमा यस्ता कैयौं देश छन् जहाँका लाखौं, करोडौं मानिस आज पनि निर्वस्त्र छन्। शरीरमा उही जंगलका रुखका बोक्रा, पात, जनावरका छाला वा कहीं कहीं त जन्मदेखि मृत्युसम्म पनि नाङ्गै रहने संस्कृति रहेको छ। विशेषतः जंगलमा बस्ने आदिवासी र लोपोन्मुख प्रजातिका मानिस कपडा लगाउनुलाई पाप नै सम्झन्छन्।
अझै कुनै समुदायमा त कपडा लगाउने त्यो समुदायबाट बहिष्कृत नै हुनेसम्मका केही घटना इतिहासविद्, अन्वेषणकर्ताहरूको डकुमेन्ट्रीहरूमा देख्न सकिन्छ। मानव सभ्यताको विकासमा सबैभन्दा पहिले जोडिएको विषय नै आवरण र लज्जाको हो। तसर्थ, कपडा, पोसाकहरूको प्रकृति फरक हुनसक्छ तर विश्वमा नै पोसाकलाई विशिष्ट रूपमा हेर्ने गरिन्छ।
पोसाक दुई प्रकारका हुन्छन्– औपचारिक र अनौपचारिक। औपचारिक पोसाको मापदण्ड बनेको छ, जसलाई सिलाउने र पहिरिने तौरतरिका हुन्छ। अनौपचारिक पोसाकको खासै कुनै नीतिनियम र बारबन्देज हुँदैन। अब रह्यो कुरा, औपचारिक र अनौपचारिक पोसाकको मापदण्ड कसले बनाउछ ? यसको मापदण्ड समुदाय, सम्प्रदाय वा देशको सरकारले बनाउँछ।
यदि कुनै जात्रा, पर्व, चाडबाडलगायतको तिथिमितिमा पोसाक तोकिन्छ भने त्यो समुदाय (जातजाति)ले निर्धारण गर्ने पोसाक हो, जस्तो नृत्य गर्दा, पुजारी बन्दा, ल्होत्सार, साकेला, जनैपूर्णिमा, धान्यपूर्णिमा, छठलगायत विभिन्न समुदायले मनाउने पर्वहरूमा खास तोकिएको पोसाक हुन्छ। त्यसलाई सांस्कृतिक पोसाक पनि भन्ने गरिन्छ।
धर्म–सम्प्रदाय विशेषले लगाउने पोसाक जस्तै धोती, कुर्ता, पगडी, माला, कन्ठी, चन्दन र त्यसमा पनि आफ्नो सम्प्रदाय र पन्थको रङ (कालो, रातो, पहेँलो, सेतो, सुन्तला)लगायतका पोसाकहरू पनि सम्प्रदायहरूले नियम, कानुन बनाएर लगाउने गरेको देखिन्छ। त्यसैले त्यो पनि सम्प्रदायको औपचारिक पोसाक हो।
अर्को हुन्छ, कुनै पनि देशले आफ्नो देशको प्रतिनिधित्व गर्ने र विश्वमा अलग्गै पहिचान स्थापित गर्ने उद्देश्यले पोसाक निर्माण गर्छ र त्यसैलाई देशको साझा परिचय दिने गर्छ। उदाहरणका लागि भारतको राष्ट्रिय पोसाकलाई सारी जुवा भनिन्छ। प्रायः पुरुषले कुर्ता पाइजामा र ज्वाहरीकोट लगाउने गर्छन्। भुटानको राष्ट्रिय पोसाकलाई घो र किरा भनिन्छ।
म्यानमारको लोन्गाई, मंगोलियको डिल, थाइल्यान्डको चक्करी, टर्कीको सल्वार, मलेसियाको बाजु कुरुङ, रसियाको सराफन, अर्जेटिनाको गाउँचो, पाकिस्तानको सल्वार कमिज, जापानको किमोनो, कोरियाको हानबुक, साउथ अमेरिकाको पोन्चो राष्ट्रिय पोसाक हुन्। विश्वका अधिकांश देशको आफ्नो राष्ट्रिय पोसाक रहेको छ। इतिहासमा विश्वको सबैभन्दा पुरानो पोसाक इजिप्टको लिनेने हो भन्ने तथ्य भेटिन्छ।
मानव सभ्यताको विकाससँगै विकसित हँुदै आएका पोसाकहरूको डिजाइन समयअनुसार परिष्कृत र विकशित हुँदै गएको हाम्रै देशका सांस्कृतिक र औपचारिक पोसाकको फेरबदलले पनि पुष्टि हुन्छ।
नेपालमा बहुलजातिले लगाउने पहिरनलाई फरक फरक नामले चिनिन्छ, जस्तै नेवारको हाँकु, पटासी, दौरासुरुवाल, भादगाउँले टोपी, मगर–गुरुङहरूले लगाउने घलेक, घलेकी, फरिया, चोली, दौरा र कछाड। राई लिम्बू र किँरातहरूले फरिया, चोली, पटुकी, सन्दिक्पा, दौरासुरुवाल, टोपी नै प्रमुख रूपमा लगाएको देखिन्छ।
मधेसमा भूगोल र हावापानीका कारणले होला, कुर्ता, धोती, कछाड, पाइजामा, लुंगीजस्ता वातावरणउपयोगी पहिरन लगाएको देखिन्छ। मधेसमा दौरासुरुवाल, कोट लगाउन सकिन्न किनकि गर्मीले यस्ता पोसाक लगाउन समस्या हुन्छ। हिमालमा धोती, कुर्ता र लुंगी लगाउन सकिन्न। त्यता धेरै जाडो हुन्छ। त्यसैले हिमालमा बक्खु, कान छोप्ने उनको टोपीलगाउने प्रचलन छ। शेर्पाहरू पान्देन, बक्खु, महिलाले वान गू पहिरन लगाउने गर्छन्। यी सबै सांस्कृतिक पहिचान बोकेका पोसाक हुन्। यी सबै पोसाकलाई नेपालको संविधान २०७२ ले राष्ट्रिय पोसाकका रूपमा व्याख्या गरेको छ।
अब कुरा गरौं, यी सबै पोसाक र इतिहासलाई पुनर्विचार गर्ने हो भने विश्वका विकसित, अल्पविकसित र न्यून विकसित सबै देशको साझा पोसाक रहेको हुन्छ भन्ने विषयमा दुई मत रहेन।
संसारकै पुरानो सभ्यता बोकेको नेपालको पोसाक के हो ? भन्ने इतिहास हेर्ने हो भने नेपालको पुरातन र मौलिक पोसाक दौरासुरुवाल, चोली फरिया नै देखिन्छन्। बोल्ने नाम भाषाअनुसार फरक र पहिरनको प्रकृति फरक देखिए पनि मूलतः पोसाकको लगाउने र त्यसको सिलाउने तरिका प्रायः एकै देखिन्छ।
नेपालमा लगभग एक सय ४० भन्दा बढी जातजाति भेटिएको प्रमाण भए तापनि सांस्कृतिक पोसाक, मौलिक पोसाक भने धेरै जातजातिको पहिले नै लोप भइसकेको देखिन्छ। जंगलमा बस्ने राउटेदेखि कुसुन्डा, सुनार, हायू, छन्तयाल, धिमाललगायतका अति कम जनसंख्या भएका जातिको भाषा सँगसँगै पोसाक, चाडपर्वसमेत लोपोन्मुख हुने अवस्थामा छन्।
छेत्री, खस ब्राह्मण, नेवार, तामाङ, लिम्बू, मगर, गुरुङ, राई, शिल्पी, ठकुरीलगायतका लगभग जनसंख्याको प्रतिशतका आधारमा ७५ प्रतिशतले दौरासुरुवाल र महिलाले फरिया, धोती, चौबन्दी, पटुकी, पछ्यौरीलाई मूल पहिरनका रूपमा लगाउने गरेको तथ्यांकले देखाउँछ। त्यसो हुँदा लगभग दुई तिहाइ जनसंख्याले लगाउने दौरासुरुवाललाई राष्ट्रिय पोसाकका रूपमा सम्मानित रूपले स्थापित गर्न किन सकिएन त ? यसको उत्तर बाबुराम भट्टराई, प्रचण्ड वा तराईकेन्द्रित नेताबाट पाउन सकिन्न। किनकि, जनतामा घृणाको विष घोलेर सम्प्रदाय र जातको लडाइँ गराएर राजनीति र सत्ताप्राप्ति लक्ष्य भएकाहरूसँग यसको उत्तर पाउन मुस्किल मात्र होइन, सम्भावना नै छैन।
यतिबेला देशलाई टोपी र धोतीमा, दौरा र कुर्तामा, कालो र सेतोमा, जात र धर्ममा लडाएर आफ्नो रोटी सेक्नेहरूको दरिद्र र खराब नियतका कारण देश जातीय र सम्प्रदायमा विभाजित हुँदै गएको छ।
मियोबिनाको दाइँजस्तो लोकतन्त्रको सुन्दर पक्ष स्वतन्त्रता हो भन्ने भ्रमलाई बजारमा कौडीको भाउँमा बिक्रीमा राखिएको छ र सस्तो राष्ट्रियतालाई भजेर जात, धर्म, पहिचानको जुवा खेल्ने काम भइरहेको छ। त्यसको चक्रव्यूहमा नेपालको सनातन सभ्यता र मौलिक पहिचान बोकेको सबैको साझा पोसाक दौरासुरुवाल र टोपी परेको छ।
२०६८ सालमा गणतन्त्रका हिमायती डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दौरासुरुवाल बाहुन नश्लीय पोसाक भएको, टोपी बाहुन–छेत्रीको एकल पहिचान भएको भन्दै गलत व्याख्या गरेर दौरासुरुवाललाई गैररूपमा विस्थापित गर्ने कुचेष्टा गरियो। यो मनन गरिएन कि भलै नाम जातीय रूपमा फरक थियो होला तर वस्तुतः बहुल जातिले लगाउने दौरासुरुवाल नै थियो, राई, लिम्बु, मगर, गुरुङ, नेवार अनि ब्राह्मण र छेत्री सबैले लगाउने दौरासुरुवाल र टोपी नै हो। महिलाका हकमा त्यति विवाद छैन किनकि महिलाहरूले प्रायः फरिया, साडी नै लगाउने गर्छन्। टोपीमा पनि सबै जातिको आफ्नो संस्कृति भूगोलअनुसारको टाउकोमा लगाउने विभिन्न प्रकारका टोपी छन्।
त्यति हुँदै गर्दा पनि किन यतिबेला धोती र टोपीबीच वैचारिक विभेद छैन। राजनीति गर्नेहरूले फुटको नीति बोक्नाले, घृणाको बिउ रोप्नाले र जातजातिबीचमा वैमनस्य बढाउने अभिव्यक्ति र कार्यहरूले नेपालीमा भावनात्मक फुट देखिएको हो।
सबैले लगाउने पोसाक, सबै जातिको सांस्कृतिक पोसाकलाई राष्ट्रिय पोसाकका रूपमा कायम गरी संरक्षण गर्ने र देशको अन्तर्राष्ट्रिय स्तरमा पहिचानसहितको युगौंदेखि स्थापित दौरासुरुवाल, टोपी र गुन्युचोलीलाई औपचारिक पोसाकका रूपमा अनिवार्य लागु गर्ने कानुन र विधिविधान बनाउने सबै राजनैतिक दलहरूले सकारात्मक कदम चालिदिएको भए सायद हाम्रो संसारमा परिचय बनाएको दौरासुरुवाल यसरी अपमानित हुनुपर्ने थिएन होला।
सुन्दा सामान्य लागे पनि पोसाकको गरिमा र यसको बोझ गर्विलो हुने गर्छ। विश्वका जुनसुकै कुनामा पनि ढाकाटोपी वा कालोटोपी लगाएर बस्दा मात्रै पनि विदेशीहरूले नेपाली भनेर चिन्ने गरेको अनुभव विदेश घुमेर आउने नेपालीहरूको छ। संसारमा नै ढाकाटोपी, कालोटोपी र दौरासुरुवालको गाथा गर्व गर्न लायक छ। तर देशभित्र भने जातीय पोसाकको ‘ट्याग’ लगायर भाइभाइ लडाउने काम दशकांैदेखि अनवरत चलिरहेको छ।
राज्यमा भएका सबै मूर्त वा अमूर्त वस्तुहरू राष्ट्रिय हुन्। नागरिकतादेखि राहदानीसम्म, परिचयपत्रदेखि मतदातापत्रसम्म सबै राष्ट्रिय पहिचानका तŒव हुन्। यसो भनिरहँदा नेपालको राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुँरास, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय पन्छी डाँफे, राष्ट्रिय लिपी नेवारी रञ्जना लिपि र भाषा खस भाषालाई राष्ट्रिय रूपमा औपचारिकता दिइएको छ।
यसो हुँदै गर्दा राज्यको साझा पोसाक विश्वमा परिचित होस्। त्यो बहुल जातिले पहिरिने र संसारका कुनाकुनामा परिचय स्थापित गरेको दौरासुरुवाल र टोपीको पहिचानको गाथाभन्दा हामी सबलाई गर्व लाग्छ। यसै तर्कलाई मनम गरी नेपालको साझा पोसाक र औपचारिक पोसाकको स्थापना गराउने मागसहित नेपाल सरकारलाई ध्यानाकर्षण गराउने उदेश्यले २०७० सालदेखि राष्ट्रिय पोसाक दिवसको स्थापना गरी देशव्यापी अभियानको सुरुवात भएको थियो, जसको नेतृत्व सांस्कृतिक अभियन्ताका रूपमा मैले गर्ने अवसर प्राप्त गरेको थिएँ।
बहुसंख्यक नेपालीहरूले लगाउने पोसाकलाई नै औपचारिक रूपमा राख्नुपर्ने र सरकारको पनि औपचारिक कार्यक्रमहरूमा अनिवार्य दौरासुरुवाल, नेपाली परिवेशको कोट र ढाकाटोपी लगाउनुपर्ने मागसहित अभियान अघि बढ्यो। यदि संविधानलाई हेर्ने हो भने लोकतन्त्रमा बहुमत नै प्रथम अधिकार हो। त्यसो हुँदा लगभग दुई तिहाइ जनसंख्याले लगाउने पोसाकलाई राष्ट्रिय औपचारिक पोसाकका रूपमा संविधानमा नै लेख्न पनि समस्या के नै थियो र ? तर यहाँ जुटाउने भन्दा फुटाउने, पे्रमभन्दा घृणा जगाउने राजनीति हुन्छ। तसर्थ एकअर्काको अस्तित्व स्विकार्न नसक्ने वातावरण नेतृत्व र नेताहरूबाट भइरहेको छ। त्यसै घृणा र फुटको अन्त्य गर्न राष्ट्रिय पोसाकको अभियान स्थापना भयो।
राष्ट्रिय पोसाक अर्थात् सबै जातजातिको पोसाकको संरक्षण गर्र्दै सबैको साझा पोसाकका रूपमा रहेको दौरासुरुवाल र ढाकाटोपी, गुन्युचोलीलाई औपचारिक राष्ट्रिय पोसाकका रूपमा राख्नुपर्ने मागसहित १२ औं वर्षसम्म पनि अभियन्ताहरू संघर्षको मैदानमा नै छन्। एकातिर पाश्चात्य संस्कृतिको अतिक्रमण, अर्कातिर देशभित्र नै जातीय घृणाको लडाइँ। यी दुवैबीच अस्तित्वको लडाइँ चलिरहेको छ।
हरेक वर्ष पुस महिना र इस्वी सम्वत्को पहिलो दिन अर्थात् जनवरी १ का दिन नेपालमा विगत एक दशकदेखि राष्ट्रिय पोसाक दिवस मनाउने गरिएको छ। केही पुरातनवादी बताउनेहरू एकातिर वसुधैव कुटुम्बकम्को नारा हाम्रो धर्मशास्त्रमा छ भन्छन्, अर्कातिर सर्वधर्म समभावको नारालाई भने चटक्कै भुल्छन्। घृणा, विभाजन र द्वेषको राजनीतिको चपेटामा यहाँको बौद्धिक वर्ग पनि फसिसकेको छ।
संसारभर नेपालीहरू छरिएर रहेका छन्। लगभग ८७ देशमा नेपालीहरू बसोबास गर्छन् भन्ने तथ्याङ्क छ। ती सबै देशमा इस्वी सम्वत नै मनाउने गरिन्छ। नेपालमा मात्रै विक्रम संवत मनाउने गरिन्छ। यसै तथ्यलाई हेर्ने हो भने विश्वमा छरिएर रहेका नेपाली, नेपाली मूलका, नेपाली भाषीहरूका लागि एक पर्वका रूपमा जनवरी १ का दिन मनाउने राष्ट्रिय पोसाक दिवस र अन्तर्राष्ट्रिय टोपी दिवस कोसेढुंगा बन्नेछ र यहाँ यसै अभियानलाई नै टुक्राटुक्रा बनाउने खेल यहाँकै नेता तथा पहिचानवादीहरूबाट सुरु भइसकेको छ।
यतिबेला पोसाक दिवसभन्दा पनि टोपी र धोती दिवसको फोहोरी खेल सुरु भएको अवस्था छ, जब कि धोती र टोपी दुवै देशको राष्ट्रिय पोसाकको दर्जा पाएका पोसाक र पहिचान हुन्। नयाँ वर्षको माध्यमबाट नेपालीहरूले नेपालको मौलिक, सांस्कृतिक, परम्परागत पोसाकहरू विश्व बजारमा स्थापित गर्ने सन्दर्भलाई व्यापारसँग जोड्ने र विश्वबजारमा हाम्रो सांस्कृतिक पोसाक, हाम्रो मौलिकतालाई चिनाउन सक्ने यो सुवर्ण अवसरमा हामी लड्ने भन्दा पनि जुट्ने बेला पो हो कि भन्ने मलाई लाग्छ।
२०७० सालबाट सुरु भएको राष्ट्रिय पोसाकलाई संस्थागत गर्ने उद्देश्यका रूपमा यस वर्ष पुस १७ गते १२औं राष्ट्रिय पोसाक दिवस पाटनको दरबार क्षेत्रमा सम्पन्न भएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा पोसाक दिवसको स्थापना दिवससँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
प्रतिष्ठानले संस्थालाई संस्थागत गर्ने उद्देश्यले विगत चार वर्षदेखि हरेक वर्ष राष्ट्रिय धरोहर सम्मानको कार्यक्रम गर्दै आएको छ। पहिलो वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे, दोस्रो वर्ष संस्कृतिविद् सत्यमोहन जोशी, तेस्रो वर्ष इतिहासविद् ज्ञानमणि नेपाल, चौथो समीक्षक प्राडा दयाराम श्रेष्ठ र पाँचौं वर्ष डा. राजेन्द्र विमललाई राष्ट्रिय धरोहर सर्वोच्च सम्मानसहित अभिनन्दन गरेको छ।
पछिल्लो समय नेपालको कला, संस्कृति, पोसाक र पहिचानलाई नामेट हुन नदिन हरेक जातजातिले अथक प्रयास गरेका छन्। विभिन्न जात्रा, पर्व र चाडबाडमा आफ्नो मौलिक र जातीय पोसाक लगाएर कार्यक्रममा उपस्थिति हुने क्रम बाक्लो छ। मानिसहरू आफ्नो पहिचान जोगाउन तल्लीन छन्।
जातीय पहिचानको चर्को नाराबीच देशको राष्ट्रिय पहिचान र राष्ट्रिय पोसाकको नारालाई स्थापित गराउन सके हामी सबैको साझा परिचय स्थापना हुने कुरामा दुई मत छैन। सबै जातजाति, भाषाभाषी, भूगोलमा बस्ने नेपाली नागरिकहरूले तेरो र मेरो भन्ने भ्रमबाट माथि उठेर राष्ट्रिय चिन्तनमा अघि बढ्नु सबैको कल्याणको मार्ग हो।
- माण्डव्य राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष हुन्।
प्रकाशित: २० पुस २०८१ ०७:३९ शनिबार