२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

आयातित महमा कर लगाउन किसानको माग

मौरीपालक किसानले आयातित महमा कर लगाउन माग गरेका छन्। भारत र चीनको स्थल मार्गबाट आउने महका कारण नेपाली मह बिक्री गर्न कठिन भएको भन्दै बाहिरबाट आउने महमा कर लगाउन माग गरेका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले प्रथम चितवन महोत्सवको अवसर पारेर कृषक, मौरी विज्ञ र सरोकारवाला निकायबीच सौराहामा आयोजना गरेको परिसंवाद कार्यक्रममा किसानले बाहिरबाट आउने महमा कर नभएको भन्दै कानुन बनाएर रोक्न आग्रह गरेका हुन्।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले विदेशी महका कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको बताए। ‘बाहिरबाट प्रतिकिलो दुई सय रूपैयाँसम्ममा मह आयात भइरहेको छ। त्यसले हाम्रो लागत समेत उठ्दैन’, उनले भने, ‘हामीले आयातलाई पूर्ण प्रतिबन्ध गर्न सक्ने अवस्था छैन। सरकारले विदेशबाट आउने महमा कर लगाएमा स्वदेशी उत्पादनले बजार पाउन सक्छ।’

उनका अनुसार अहिले आयातित महमा कर शून्य छ। नेपाली महको लागत मूल्य प्रतिकेजी चार सय रूपैयाँ पर्न जाने उनले बताए। भारत सरकारले किसानलाई अनुदान दिने हुँदा त्यहाँको उत्पादनसँग नेपाली महले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। उनले मौरीको चरिचरणका लागि सरकारले मौरी सडकको व्यवस्था गर्न मागसमेत गरेका छन्।

मौरी किसान शिव पौडेलले सरकारले बजारीकरणका लागि विशेष ध्यान दिनुपर्ने बताए। ‘प्रत्येक किसानका घरघरमा मह थन्किरहेको छ, उनले भने, ‘सरकारको ध्यान अब उत्पादनको लागत कम गर्दै बजारीकरणतर्फ जानुपर्दछ।’

उनले मौरीले सामुदायिक वनका विकासका लागि महत्वपूर्ण योगदान दिने भए पनि किसानबाट प्रतिघार तीन सय पचास रूपैयाँसम्म रोयल्टी उठाउने बताए। उनले सरकारले बजार व्यवस्थापन गरेमा आगामी पाँच वर्षभित्र नेपालमा खपत हुने मह उत्पादन गर्न किसान सक्षम रहेको समेत दाबी गरे।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले आयातित मह रोक्नका लागि सरकारले नै नीति बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। ‘नेपाल डब्लुटीओको सदस्य भएकाले आयात रोक्न कठिन हुन्छ’, उनले भने, ‘कर लगाएर भए पनि महको आयातलाई न्यूनीकरण गर्न सकिन्छ।’

मौरीपालनले खाद्य आपूर्ति शृंखलाको सुनिश्चितता गर्न महत्वपूर्ण भूमिका खेलेको समेत बताए। ‘मौरीले कृषि बाली तथा वनस्पतिको परागसेचनमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसले खाद्यान्न बालीको उत्पादन बढाउँछ’, उनले भने, ‘मौरीले पोषण सुरक्षासमेत वृद्धि गर्दछ।’

उनले दिगो कृषि, जैविक विविधता संरक्षणमा मौरीको ठुलो योगदान भएको बताए। उनले मौरीपालन व्यवसायलाई महको उत्पादन र एग्री सिस्टमसँग जोडेर बुझ्नसमेत आग्रह गरेका छन्।

कृषिको कुल उत्पादनको २.५ प्रतिशत योगदान मौरीको रहेको बताए। उनका अनुसार नेपालमा गत वर्ष सात सयको हाराहारीमा महको आयात भएको छ। आयातित महमध्ये ९८ प्रतिशत भारतकै भएको उनले दाबी गरे। आयात गर्नेमा ठुलो कम्पनी डाबर नेपालले अठासी प्रतिशत मह भारतकै प्रयोग गर्ने गर्दछ।

प्रकाशित: १९ पुस २०८१ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App