२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

कुशल र कीर्तिमानी कूटनीतिकर्मी बिन्देश्वरी

सन् १९५६ मा अमेरिकामा बिन्देश्वरी।

अब्बल कूटनीतिज्ञ तथा नेपालको पहिलो महिला राजदूत बिन्देश्वरी मल्ल शाहको ९२ वर्षको उमेरमा निधन भएको छ। राजधानीको कालीमाटीस्थित निवासमै बिहीबार उनको निधन भएको उनका छोरा अनिलकेशरी शाहले जानकारी दिए।

सन् १९५९ मा शाखा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी शाह २०४४ सालमा परराष्ट्र सेवाबाट नेपालको पहिलो महिला राजदूत (भारतका लागि) भएकी थिइन्। राजा वीरेन्द्र शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए।

२०४६ सालमा नेपालमा राजनीतिक परिवर्तन भएपछि तत्कालीन सरकारले उनलाई भारतीय राजदूतबाट फिर्ता बोलाएको थियो। भारतमा राजदूत भएपछि सेवानिवृत्त हुनुअघि केही समय उनले परराष्ट्र मन्त्रालयमा अतिरिक्त परराष्ट्र सचिवको जिम्मेवारी पनि सम्हालिन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासबाहेक परराष्ट्र मन्त्रालयमा हुँदा उनले अमेरिकाको वासिङ्टन डिसी र बाङ्लादेशको ढाकास्थित नेपाली दूतावासमा रहेर समेत काम गरेकी थिइन्।

‘परराष्ट्र मन्त्रालयको पहिलो महिला सहसचिव उहाँ भारतका लागि राजदूत हुँदा २०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो,’ पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत डा. मदन भट्टराईले भने, ‘कोलकाताबाट मेरो दोस्रो पोस्टिङका रूपमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उहाँसँग काम गर्ने अवसर जुरेको थियो। भारतका लागि नेपालको पहिलो महिला राजदूत भएर उहाँले भारतीय नाकाबन्दी हटाएर दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।’

सन् १९६१ मा दुई पटक प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाको राजदूत भएका बेला उनको पहिलो पोस्टिङ वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा द्वितीय सचिवको जिम्मेवारीसहित भएको थियो। कोइराला निवृत्त भएपछि शाह तत्कालीन कार्यवाहक राजदूतसमेत भएकी थिइन्। त्यतिबेला उनी वासिङ्टनमा कार्यवाहकको जिम्मेवारी सम्हाल्ने एक्लो महिला कूटनीतिकर्मी थिइन्। सन् १९६५ सम्म उनी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा विभिन्न पदमा कार्यरत रहिन्।

तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई सन् १९७२ देखि १९७६ सम्म बाङ्लादेशको ढाकास्थित नेपाली दूतावास पठाएका थिए। ‘बाङ्लादेश स्वतन्त्र भएपछि कूटनीतिक सम्बन्ध स्थापना गर्ने जिम्मेवारीसहित उहाँले नेपाली दूतावास गर्नुभएको थियो,’ पूर्वपरराष्ट्र सचिव डा. भट्टराईले स्मरण गरे, ‘उहाँ पहिलो महिला राजदूत मात्र नभएर नेपालको परराष्ट्र सेवामा महŒवपूर्ण योगदान गर्ने कूटनीतिज्ञ समेत हुनुहुन्छ।’

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाडेर दार्जिलिङको खर्साङमा पुगेका पिता पद्मसुन्दर मल्ल र माता जगतलक्ष्मी मल्लकी छोरी बिन्देश्वरी सन् १९३३ मा त्यही जन्मिएकी हुन्। जापानमा विद्युत् इन्जिनियरिङमा स्नातक गरेका उनका पिता मल्ल अमेरिकाको मिसिसिपी विश्वविद्यालयमा स्नातकोत्तर गर्ने पहिलो नेपाली समेत हुन्।

खर्साङको सेन्ट हेलेन स्कुलमा अध्ययनरत हुँदा शाहले राम्रो निबन्ध लेखेका आधारमा अमेरिका भ्रमणमा गएर तत्कालीन राष्ट्रपति ह्यारी ट्रुमनसँग भेट्न अवसर प्राप्त गरेकी थिइन्। त्यसपछि उनले सन् १९५६ मा कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आर्ट्समा स्नातक गर्ने पहिलो नेपाली महिलासमेत भएकी थिइन्।

सन् १९५८ मा वासिंटन डिसीस्थित जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेकी थिइन्। उनले त्यहाँ पुस्तकालय कोर्ससमेत गरेकी हुनाले त्यसबेला न्युरोडमा रहेको अमेरिकी लाइब्रेरीमा पनि जागिर खाएकी थिइन्। त्यसबेला उनले पहिलो नम्बरमा राजा महेन्द्र र दोस्रो नम्बर प्रधानमन्त्री बिपी कोइरालाको लाइब्रेरी कार्ड बनाइदिएर सदस्यता दिएकी थिइन्।

सन् १९६६ मा उनले डा. नारायणकेशरी शाहसँग विवाह गरेकी थिइन्। उनका छोरा अनिलकेशरी शाह, बुहारीहरू रति शाह र सामन्था शाह तथा नातिनी आर्या शाह र नाति आदित्य शाह छन्। ‘उहाँ सन् १९९२ मा परराष्ट्र सेवानिवृत्त भएछि म भेट्न गइरहन्थें,’ पूर्वपरराष्ट्र सचिव डा. भट्टराईले नागरिकसँगको कुराकानीमा भने, ‘श्रीमान र कान्छा छोरा उज्जलकेशरीको निधनपछि उहाँलाई सक परेको थियो। कमजोर हुँदै जानुभएको थियो। गत साता उहाँलाई भेट्न जाँदा उहाँ निकै कमजोर भइसक्नुभएको थियो।’

प्रकाशित: १९ पुस २०८१ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App