२० पुस २०८१ शनिबार
image/svg+xml
समाज

पञ्चेबाजा संरक्षणमा आमा समूह

बागलुङ परियार समुदायको पुर्ख्यौली पेसाका रुपमा पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। गाउँ तथा सहरमा बिस्तारै पञ्चेबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन्। 

युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पञ्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्। 

पञ्चेबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले जानकारी दिइन्। विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उनको भनाइ छ। पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उनले बताइन्। 

थापाले भनिन्, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरू मिलेर पञ्चेबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरूले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन्। सुरुमा गाउँका पञ्चेबाजा समूहबाट सिकेका उनीहरूले एक लाख ५० हजार रुपैयाँमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन्। एउटा विवाहबाट ३० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको पञ्चेबाजा समूहकी सदस्य कला श्रीसको भनाई छ। उनीहरु विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेका छन्। 

“सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरूले पञ्चेबाजा बजाउने गर्छौँ”, उनले भनिन्, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ।” रासस

प्रकाशित: १७ पुस २०८१ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App