सामाजिक सञ्जाल ‘इन्ष्ट्राग्राम’ प्रयोग गर्ने सुर्खेतकी २१ वर्षिया एक युवतीको बङ्गलादेशी नागरिकसँग सामान्य चिनजान भयो । करिब १५ महिना अघि भएको सामान्य चिनजानसँगै दुबै जनाबिच प्रेम सम्बन्ध गाँसियो । दुबै जना बिच प्रत्यक्ष भेट हुन नसके पनि सामाजिक सञ्जालमार्फत उनीहरु बिचको प्रेम सम्बन्ध झाँगिँदै गयो ।
दुबै जनाले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सम्मको वाचा गरे । प्रेम सम्बन्धमा जोडिएकी युवतीले नेपालगन्ज हुँदै भारतको बाटो भएर बङ्गलादेश जाने निधो गरिन् । कक्षा १२ मा अध्ययन गरिरहेकी युवती भारतको रुपैडिहा भएर नयाँ दिल्ली पुग्ने र त्यहाँबाट बङ्गलादेश जाने योजनामा थिइन् ।
करिब ६ महिनाअघि नेपालगन्ज नाकाबाट भारततर्फ जाँदै गरेकी उनलाई शङ्काको आधारमा सोधपुछ गर्दा माइती नेपालका कर्मचारीले उद्धार गरे । माइती नेपालले युवतीलाई केही दिन आफ्नो कार्यालयमा राखेर परामर्श दियो । त्यसपछि घर, परिवारको जिम्मा लगायो ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार ती युवती बेचबिखनको उच्च जोखिममा थिइन् । घटनाको अध्ययन गर्दा सामाजिक सञ्जाल इन्ष्ट्राग्रामको दुरुपयोग गरी उनलाई प्रेम गर्ने बहानामा बङ्गलादेशमा बोलाएर बेचबिखन गर्ने दलालको योजना रहेको कोइराला बताउँछन् । ‘सामाजिक सञ्जाल इन्ष्ट्राग्राममार्फत चिनजान गरेर प्रेमको नाटक गरी युवतीलाई बेच्ने प्रयास गरेको यो घटनाले देखाएको छ,’ कोइरालाले भने । पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्ष्ट्राग्राम जस्ता माध्यमको दुरुपयोग गरेर दलालहरू मानव बेचबिखनमा सक्रिय रहेको उनी बताउँछन् ।
माइती नेपालले मानव बेचबिखन नियन्त्रण गर्नका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारत लगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको कोइरालाले सुनाए ।
माइती नेपाल नेपालगन्जले सन् २०२४ मा मात्र जोखिमपूर्ण यात्रामा परेका ५ सय ९८ जनालाई सिमानाका क्षेत्रबाट उद्धार गरेको जनाएको छ । यसै गरी ६ सय १३ जनालाई मानव बेचबिखन र सुरक्षित बसाई सराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । यस्तै श्रम र यौन शोषणमा परेका १३ जनालाई उद्धार गरिएको कोइरालाले जानकारी दिए ।
सीमाबाट परामर्श दिएर ४ सय ३८ जनालाई घर फिर्ता गरिएको छ । त्यस्तै ७ सय ७७ जनाको खोज तलासका लागि निवेदन परेकोमा ४ सय ७ जना फेला परेको माइती नेपालले जनाएको छ । त्यसैगरी घरेलु हिंसा सम्बन्धी १२ वटा घटनाको निवेदन परेकोमा १० वटा घटना समाधान भएको बताइएको छ । माइती नेपालले ३ जना किशोरीलाई सिपमूलक तालिम प्रदान गरेको छ । बेचबिखनका घटनामा ३ वटा मुद्दा दर्ता भएका छन् ।
प्रकाशित: १६ पुस २०८१ १७:२६ मंगलबार