१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

फाइल तस्बिर

कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताइन्। 'पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन', उनले भनिन्,'चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।' उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उनले फोनमार्फत बताइन्।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताए।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ। 

प्रकाशित: १५ पुस २०८१ १८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App