जिल्लाका दुई स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको रास्कोट र तिलागुफा नगरपालिका साक्षर पालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो।
तिलागुफामा ९५.६३ प्रतिशत र रास्कोट नगरपालिकाका ९५.९१ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। तिलागुफा नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरे।
रास्कोट नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले साक्षर घोषणा गरेका हुन्। तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्।
जिल्लाको तिलागुफा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाराज बमले कुल १६ हजार १ सय ९७ जनसंख्या रहेको नगरपालिकामा ९५ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत वर्ष १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने फेला परेकोमा उनीहरूलाई साक्षर बनाएसँगै पालिका साक्षर घोषणा योग्य मानिएको हो।
तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शााहीका अनुसार कुल १९ हजार जनसंख्या रहेको नगरपालिकामा ९५ प्रतिशत नागरिक साक्षर रहेको बताए।
उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्नेहरूलाई साक्षर बनाएसँगै पालिका साक्षर घोषणायोग्य मानिएको हो। जिल्लाका नौ वटा स्थानीय तहमध्य अन्य पालिका पनी साक्षर घोषणा गर्ने तयारीमा थालेका छन्।
कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयको तथ्यांकअनुसार १६ लाख ८८ हजार ४१२ जनसंख्या रहेको कर्णालीका ७६.१ प्रतिशत नागरिक मात्रै साक्षर छन्। उक्त साक्षरता दर राष्ट्रिय साक्षरता दरकै हाराहारीमा छ। राष्ट्रिय साक्षरता दर ७६.२ प्रतिशत छ। निर्देशनालयका अनुसार कर्णालीको पुरुष साक्षरता दर ८३.३ प्रतिशत रहेको छ भने महिला साक्षरता दर ६९.४ प्रतिशत छ।
जिल्लागत रूपमा सबैभन्दा बढी साक्षर दर सुर्खेतको रहेको छ। सुर्खेत जिल्लाको साक्षरता दर ८२.७ प्रतिशत रहेको छ। जबकि यो जिल्लालाई २०७२ सालमै साक्षर जिल्ला घोषणा गरिएको थियो। हरेक हिसाबले विकसित मानिएको यो जिल्लाका १८ प्रतिशत नागरिकहरू निरक्षर रहेका छन्।
प्रकाशित: १४ पुस २०८१ ०७:५२ आइतबार