२६ फाल्गुन २०८१ सोमबार
image/svg+xml ४:४२ पूर्वाह्न
समाज

पूर्वलाहुरेको कृषि फार्ममा विद्यार्थी आकर्षित

इलामको सन्दकपुर गाउँपालिका ३, माइपातालस्थित माइपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्ममा अध्ययनका लागि आएका विद्यार्थी। तस्बिर : भीम चापागाईं/नागरिक

पूर्वब्रिटिस लाहुरे देउकुमार राईको कृषि फार्म कृषि विषय अध्ययन गर्ने विद्यार्थीका लागि पाठशाला बनेको छ। इलाम मात्र नभई देशभरका विभिन्न कृषि कलेजबाट विद्यार्थी यो फार्ममा तीन महिनादेखि छ महिनासम्म बसेर प्रयोगात्मक अभ्यास गरिरहेका छन्।  

सन्दकपुर गाउँपालिका ३, माइपातालमा रहेको माइपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्मलााई धेरै संख्यामा विद्यार्थीले प्रयोगशाला बनाएका हुन्। समुद्री सतहदेखि करिब दुई हजार दुई सयदेखि दुई हजार तीन सय मिटर उचाइमा पर्ने भएकाले गर्मी छल्न पनि विद्यार्थीलाई यो फार्म आकर्षणको केन्द्र बनिरहेको छ। पर्यटकीय गन्तव्य माइपोखरी, जस्बिरे, सन्दकपुरजस्ता ठाउँ पनि यहाँबाट नजिकै पर्ने भएकाले विद्यार्थीमा यो फार्ममा प्रयोगात्मक अभ्यास गर्न आउने आकर्षण थपिएको हो।  

यहाँ इलामसहित ताप्लेजुङ्ग, पाँचथर, धनकुटा, उदयपुरदेखिका विद्यार्थी विभिन्न कृषि क्याम्पस तथा शिक्षालयबाट अभ्यास र अध्ययनका लागि राईको फार्ममा आउने गरेका छन्। उनको फार्ममा विशेष गरी किवी फलको खेती छ। सँगसँगै विभिन्न जडीबुटी र नगदे बालीसमेत छन्। यी बिरुवाको अध्ययन, मौसमअनुसार कटिङ, ग्राफ्टिङ, बाली–बिरुवा लगाउने, प्रांगारिक मल बनाउने, गड्यौले मल बनाउने माटो परीक्षणलगायत विषयमा एक सय पाँच विद्यार्थी अभ्यासरत छन्। आफैँ पनि कृषिको राम्रो अनुभव सँगालेका पूर्वलाहुरे राईले विद्यार्थीलाई सीप सिकाइरहेका छन्।  

किताबमा पढ्नुभन्दा व्यावहारिक रूपमा गरेको अभ्यास चाहिँ निकै फलदायी हुने गरेको अनुभव विद्यार्थीलाई छ। विदेशमा जागिर खाएका लाहुरेले ठूलो लगानी गरी स्वदेशमै मेहेनत गरेको देख्दा आफूहरू पनि प्रोत्साहित भएको विद्यार्थी सुनाउँछन्। ताप्लेजुङका विद्यार्थी प्रयास लिम्बूले कक्षामा किताबमा सिकेको सिकाइ र फार्ममा गरेको अनुभव फरक हुनेगरेको सुनाए। उनले भने, ‘फार्ममा हामी व्यावहारिक सीप सिक्दैछौं, पढाइभन्दा प्रभावकारी चाहिँ प्रयोगात्मक अभ्यास नै हुनेरहेछ।' 

किवीसहित अन्य खेतीबालीको रोपणदेखि ग्राफ्टिङ, कटिङ, माटो जाँच, मल बनाउने विधि, बिरुवा रोपण, मल्चिङ, सबैखाले सीप सिकिरहेको उनको भनाइ छ। ‘हामीलाई त देउकुमार सर आफैँ पनि एउटा पाठशाला हुनुभएको छ,’ उनले भने, ‘उहाँलाई आर्थिक हिसाबले सायद केही अपुग छैन होला तर नेपालकै गाउँमा यति धेरै लगानी गरी हामीलाई स्वदेशमै केही उद्यम गर्न सिकाइरहनु भएको छ, हामी उहाँबाट धेरै ज्ञान सिक्दैछौं।’

गाउँघरमा खेताला अभाव भएका बेला विद्यार्थी आएर कृषिमा लाग्दा देउकुमार पनि प्रफुल्ल छन्। ‘ठूलो रकम लगानी गरेर उद्यम त थालियो तर काम गर्ने युवाको अभाव छ,’ उनले भने, ‘विद्यार्थी आएपछि मलाई पनि ठूलो सहयोग मिलेको छ।’  

राई १८ वर्ष ब्रिटिस आर्मीमा जागिर खाएर अवकाशपछि घर फर्किएका हुन्। बोटमा लटरम्म फलेका किबीले आफूलाई समेत कृषिमा जाँगर भरेको उनी सुनाउँछन्। २०६८ सालमा करिब दुई सय रोपनी जमिन खरिद गरेर उनले किवी खेती थालेका थिए। सिजनअनुसारका अरू तरकारी र फलफूल पनि यहाँ उत्पादन भइरहेका छन्।  

खेती लगाएको आधा दशकसम्म खास आम्दानी भएन। परीक्षण र अनुसन्धान नै भइरह्यो। ‘पहिलो पटक लगाएको किवीले राम्रो फल दिन सकेन, घाटा नै भयो,’ उनले सुनाए, ‘ग्रिन र गोल्डेन जातका किवीका बिरुवा विस्तार गरेपछि अब आन्दानी हुन थालेको छ।’

दुुई–चार वर्षपछि वर्षमा ४० लाख रुपैयाँसम्म आम्दानी हुने राईको अनुमान छ। ‘यो साल कम्तीमा सात टन किवी उत्पादन हुन्छ,’ उनले भने, ‘किवीलाई विभिन्न फरक जातमा विकास गर्दैछु।’ किवी बगानबाटै एक सयदेखि दुई सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।’  

राईले आफ्नो जमिन बाँझो छाड्ने र विदेशी भूमिमा गएर परिश्रम गर्ने युवालाई शिक्षा दिनु पनि आफ्नो उद्देश्य रहेको जनाए। ‘अब आफ्नै भूमिमा पनि राम्रो कर्म  गर्न सकिन्छ भन्ने एउटा सन्देश युवामा दिनु छ, बेलायत बस्ने अवसर पनि त्यागेर नेपाली भूमिमै पसिना बगाउने कसरत गरिरहेको छु,’ राईले भने, ‘जीवनभर आफूलाई सक्रिय राख्ने ठाउँ भएको छ किवी बगान।’

करिब पाँच करोड रुपैयाँ लगानी गरेर ५० रोपनीमा लगाएको किवी फल अहिले आम्दानीको स्रोत बन्न थालेको छ।

प्रकाशित: १२ पुस २०८१ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App