भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।
२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित हात पार्यो। कप्तान रोहित शर्माको नेतृत्वमा यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो। यसअघि, उनले गत जुन २९ मा टी-२० विश्वकप जिताएका थिए।
रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए। रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्याए।
बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए।
उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।
प्रकाशित: २५ फाल्गुन २०८१ २२:०९ आइतबार





